प्रकाश अधिकारी / संविधान अनुसार नेपाल बहुधार्मिक तर धर्म निरपेक्ष राज्य हो । धर्मका आधारमा कुनै पनि प्रकारको भेदभाव नगरिने मौलिक हकको प्रत्याभूति छ । राज्यको कुनै धर्म हुँदैन, त्यसैले राज्यको चरित्र धर्म निरपेक्ष छ । धर्म निरपेक्षको सीधा अर्थ धार्मिक वा आध्यात्मिक नहुनु हो । यौन र प्रेम झैँ धर्म पनि नितान्त निजी मामिला भएकाले यसको सार्वजनिक प्रदर्शन गर्नु हुँदैन ।

संविधानमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई धर्मनिरपेक्ष सम्झनु पर्छ भनी चलनचल्तीको अर्थभन्दा फरक ढङ्गले अथ्र्याइको छ । यो व्यवस्थाले प्रत्येक नागरिकलाई आफ्नो धर्मको अभ्यास र प्रचार गर्न पूर्ण स्वतन्त्रता हुन्छ । जुनसुकै धर्मका भए पनि सबै नागरिकलाई समान व्यवहार गरिन्छ, धर्मका आधारमा कुनै भेदभाव गरिँदैन ।

नास्तिकलाई पनि आस्तिक सरहकै अधिकार र संरक्षण प्राप्त हुन्छ । धर्म–निरपेक्ष राज्य अथवा समाज अधार्मिक समाज हुनु होइन, धर्मको अस्तित्वको विद्यमानता हुन्छ । धमावबलम्बी आफ्नो धार्मिक ग्रन्थमा उल्लिखित सिद्धान्तमा विश्वास र पालना गर्न स्वतन्त्र हुन्छन्, निजहरूको विधिसम्मत धार्मिक मामिलामा राज्य वा अन्य शक्तिले हस्तक्षेप गर्दैन ।

धर्मनिरपेक्ष समाज आमरूपले शान्त र उन्नत जीवनको आधारशिला हो । धर्मनिरपेक्ष देश वा समाज संविधान वा ऐनका व्यवस्थाद्वारा सुनिश्चित हुने विषयभन्दा पनि समाज विकासका चरणले धर्म निरपेक्ष मूल्य र मान्यतालाई स्वतः आत्मसात् गर्छ । धर्म निरपेक्ष संविधानले धर्मान्तरण गर्ने गराउने स्वतन्त्रता दिएको छ । सङ्गठित रूपले नेपालमा धर्मान्तरण हुने गरेकाले राज्यको यस चरित्रमा विवाद उठ्ने गरेका छन् ।

समाजले अङ्गीकार गरेको राजनीतिक, आर्थिक र सांस्कृतिक मानदण्ड र मूल्यका आधारमा यसलाई परम्परागत, आधुनिक र आधुनिकोत्तर गरी वर्गीकरण गर्ने गरिन्छ । पहिलो खालको समाज धर्म, झारफुक, जादु–टुना र धामी–झाँक्रीमुखी हुन्छ, जसले वास्तविक वा काल्पनिक अतीतसँग गहिरो लगाव अथवा निरन्तरताको सङ्केत गर्छ । यो समाजमा पवित्र भोज, बलि र कर्मकाण्डको प्रधानता रहन्छ । व्यक्तिको हैसियत उसको जन्मले निर्धारित गर्छ र ऊ सामाजिक गतिशीलताका लागि कुनै प्रयत्न गर्दैन । उसको अन्तव्रिर्mयामा कुल, कुटुम्ब र नातेदारी प्रमुख हुन्छन् र त्यसैभित्र उसको पहिचान बन्छ ।

अर्थ व्यवस्था सरल हुन्छ र निर्वाहभन्दा माथि आर्थिक उत्पादकत्व अपेक्षाकृत कम हुन्छ । तर्कमा आधारित नभएर काल्पनिक र पौराणिक विचार समाजमा सर्वोपरी हुन्छ । सर्वसाधारणले प्रणाली र पद्धतिभन्दा चमत्कार र वरदान खोज्छन् । औद्योगिक विकास नभएको सरल समाजमा सांसारिक उपलब्धिका लागि अलौकिक शक्तिलाई प्रसन्न गर्न संस्कार र प्रतीकात्मक कार्य गरिन्छन् ।

आधुनिक समाज विज्ञान र तर्कमा केन्द्रित हुन्छ । धर्मको प्रभाव कम भएर धर्म निरपेक्ष र भौतिक संस्कृतिको उदय भएको मौद्रिक अर्थतन्त्र एवं बजारका लागि उत्पादन र उपभोग गर्ने, निजी पुँजीको सङ्ग्रह र सञ्चय गर्ने समाज आधुनिक हो । आधुनिकताको विशिष्ट गुण धर्म निरपेक्ष सत्ताको वर्चस्व भएर राज्यका मामिलामा धार्मिक प्रभावको सीमान्तीकरण र भौतिक संस्कृतिको प्रधानता हो । अति आधुनिक (आधुनिकोत्तर) समाज आलोचनात्मक जागृतिमा बल दिन्छ र प्रकृति, पर्यावरण र मानवतामा विज्ञान र प्रविधिको विनाशकारी असरका बारे चिन्तित रहन्छ । विकासको वेगमा अवाञ्छित नकारात्मक परिणाम र जोखिमतर्फ सङ्केत गर्छ ।

आधुनिक समाजको राष्ट्रवादबाट अगाडि बढेर भूमण्डलीकरणको प्रक्रियातिर गतिशील हुन्छ । आधुनिक समाजको जस्तो आर्थिक विकासलाई मरिहत्ते नगरेर संस्कृतिलाई धेरै महìव दिन्छ । संसारलाई आधुनिक समाजले जस्तो द्वैतवादी वा विरोधभासको अर्थमा नहेरेर एकता, समानता, सम्बन्धन र मेललाई महìवपूर्ण मान्छ । आधुनिकोत्तर समाजमा धार्मिक विश्वासको पकड शिथिल भएर जान्छ, यद्यपि धर्ममा रुचि भइरहन्छ । नेपाली समाजमा पहिलो र दोस्रो दुवै समाजका चरित्र भेट्टाइन्छन् । अन्य देशको तुलनामा आर्थिक विकासको गति सुस्त भएको र समाजका विभिन्न वर्गबिच देखिएको आर्थिक विषमताका कारण नेपाली समाजमा अवश्यमेव केही छटपटी उत्पन्न भएका छन् । यो छटपटी विभिन्न स्वरूपमा प्रकटीकरण हुने गर्छ । समाजमा धर्मको प्रभावलाई इहलौकिक विश्वास र गतिविधिद्वारा प्रतिस्थापन गर्ने प्रक्रिया धर्म निरपेक्ष समाजको प्रस्थान हो । धर्म निरपेक्षले यथार्थलाई अङ्गीकार गर्छ, व्यक्तिका अधिकारलाई दैवीप्रदत्त नभएर तर्क र औचित्यले प्रकृतिको वास्तविक लाभका रूपमा मान्यता दिन्छ, कुनै घटना वा व्यवहारलाई व्याख्या गर्न रहस्य वा अन्धविश्वासको सहयोग लिँदैन । ‘ईश्वर सर्वशक्तिमान हुन्छ’ वा ‘व्यक्तिको जीवनमा जे जति हुन्छ पूर्वनिर्धारित हुन्छ’ जस्ता कुराको महत्व घटेर जान्छ । रहस्य र अचम्म हुँदैन, तर्कले मिथक र लोक परम्परालाई किनारा लगाउँछ ।

धर्म निरपेक्ष निर्धारक तìवमा आर्थिक विकास र औद्योगिकीकरण सबैभन्दा प्रमुख हुन्छ । मानिसलाई विघ्नबाधा, दुःख र गरिबीमा धर्मले दिने सान्त्वना वा ढाडस आर्थिक समुन्नतिले घटाइ दिन्छ । मानिस असुरक्षित भविष्यप्रति सदैव चिन्तित रहन्छ । यो चिन्ता मुख्य गरेर गाँस–बासका लागि हुन्छ । यो चिन्ताले नै मानिसलाई पारलौकिक शक्तितिर आकर्षित गरिरहेको हुन्छ । विकसित अर्थतन्त्रका मानिस कामको हतारोमा हुन्छन् । तिनलाई भौतिक समृद्धिको उच्चतम विन्दुमा पुग्ने हतारो हुन्छ । कामलाई तिनले पहिलो प्राथमिकता दिन्छन् । सामाजिक गतिशीलता तिनको धर्म हुन्छ । युरोपका नोर्डिक मुलुकको आर्थिक विकासले उच्चतम बन्दोबस्तको स्वास्थ्योपचार, शिक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्नाले मानिसको भविष्यप्रतिको चिन्ता र पारलौकिक शक्तिको पूजन गरेर सहयोग याचना गर्ने प्रवृत्ति पनि घटेर गएको देखिन्छ ।

परम्परागत समाजमा अन्धविश्वास र आर्थिक कारणले उच्च बाल मृत्युदर, भोकमरी र रोगको प्रकोप हुन्छ । यस्तो समाजमा बाँच्नका लागि नभई नहुने आधारभूत विषय शुद्ध पिउने पानी, पर्याप्त पोषणयुक्त खाना, स्वास्थ्योपचारको सुविधा र शिक्षाको अभाव रहन्छ । समाज सशस्त्र द्वन्द्वबाट गुज्रिरहेको अवस्थामा हुन सक्छ । जीवनका यस्ता अभावसँग जुधिरहेको मानिसका लागि धर्म पीडालाई कम गर्ने वा सहन गर्न सक्नलाई तागत दिने ‘अफिम’ समान हुन्छ । औद्योगिक समाजमा कृषिको यान्त्रिकीकरण र व्यावसायिकीकरण भएर अर्थतन्त्र उत्पादनशील चरणमा प्रवेश गरेपछि भोकमरी, स्वास्थोपचार जस्ता समास्या रहँदैनन् ।

आधुनिक समाजमा मानिस प्रत्येक निर्णय उपयोगितालाई आधार मानेर गर्छन् । धर्मलाई लागत, नाफा, माग र आपूर्तिका दृष्टिकोणले हेरिन्छ । एउटा तार्किक मानिसले प्राप्त अवसरबाट उपलब्ध स्रोत र साधनको प्रयोग गरी उच्चतम उपयोगिता प्राप्त गर्न चाहन्छ । धेरैभन्दा धेरै आर्जन गर्न चाहन्छ, भौतिक सुविधा प्राप्त गर्न चाहन्छ र त्यसका लागि अधिकतम समय र प्रयास लगनशील भएर लगाउँछ । धर्म, कर्मकाण्ड गरेर तत्काल प्रतिफल नपाइने अनुत्पादक क्षेत्रमा लगानी गर्न रुचि उसमा हुँदैन । बिदाको दिनमा मन्दिर जान वा धर्मकर्म गर्नुको सट्टा घुमघाम र साथीभाइसँग जमघट गरेर रमाइलोमा भुल्छ, जसले उसलाई पुनर्ताजगी गराउँछ र आफ्नो पेसा–व्यवसायमा अब्बल गर्ने उत्प्रेरणा मिल्छ ।

शिक्षाको उद्देश्य वैज्ञानिक मानसिकताको निर्माण भएकाले समाजमा विद्यमान शिक्षाको स्तर धर्म निरपेक्ष निर्धारण गर्ने अर्को महìवपूर्ण तìव हो । शिक्षाप्राप्तिले मानिसलाई सशक्तीकरणको बोध गराउँछ जसको अर्थ अन्यसँग भर नपर्ने हुनु हो । शिक्षाले मानिसको मस्तिष्कमा वैज्ञानिक वस्तुनिष्ठताको ज्ञान वा जागृति घुसाउँछ, जसबाट वैज्ञानिक तथ्य र दन्त्य कथाबिचको अन्तर पहिचान गर्न सक्ने हुनु हो । आधुनिक समाजमा शिक्षाको राम्रो प्रबन्ध हुनाले उच्च शिक्षाप्राप्त मानिसमा प्रत्येक कुरामा तर्क गर्ने, प्रश्न सोध्ने र प्रमाण माग्ने ल्याकतको विकास भएको हुन्छ । धर्मको विश्वासको आधारका बारेमा पनि प्रश्न हुन्छन् जसको आधार केवल ‘विश्वास’ मात्रै हुन्छ । जति जति वैज्ञानिक ज्ञान र प्रविधिको क्षेत्र विस्तृत भएर जान्छ धर्मको क्षेत्र सङ्कुचित हुन्छ ।

नगरीय जीवनले धर्म निरपेक्षलाई प्रोत्साहित गर्छ । औद्योगिकीकरण, आर्थिक विकास र नगरीकरण सँगसँगै हुन्छ । गाउँमा जस्तो सामाजिक जीवनको घनिष्ठता नगरीय जीवनमा सर्वथा अभाव हुन्छ । गाउँमा मानिस छरिएर बसे पनि एक अर्काको चासो, चिन्ता र चौकसी बढी हुन्छ, सम्बन्ध नजिकको हुन्छ । ग्रामीण जीवनमा धर्म निजी भन्दा सार्वजनिक सरोकारको विषय हुन्छ । सामूहिक भोज भतेर, कर्मकाण्डमा विश्वास लागे/नलागे पनि सहभागिता जनाउनु पर्छ, जबकि नगर जीवनका यस्तो अवस्था आइपर्दैन । नगरको व्यस्त दैनन्दिनी कार्यका बिच धर्मका नियम जस्ताको तस्तै कडाइका साथ पालना गर्न व्यावहारिक नहुँदा सरलीकृत गरिन्छ । यजमानको आशय बुझेर पुरोहितले पनि यसका लागि प्रोत्साहित गर्छन् र धार्मिक क्रियाकलापको सहज र सरल अभ्यास गर्नमै कल्याण देखेका हुन्छन् ।

धर्ममा विश्वास गर्ने वा नगर्ने वा गर्ने/नगर्ने मिसिएको मौलिक विचारको विकास गर्ने स्वतन्त्रता लोकतन्त्रमा हुन्छ । राज्य जति कल्याणकारी चरित्रको हुन्छ वा आफ्ना नागरिकलाई सामाजिक सुरक्षाले समेट्न सक्छ त्यति नै सामाजिक संरचना पनि स्वतःस्फूर्त धर्म निरपेक्ष हुन्छन् ।
दिनानुदिन बढिरहेको सामाजिक र भौगोलिक गतिशीलता तथा आधुनिक सञ्चार व्यवस्थाको विकासले व्यक्तिमा धर्मको प्रभावलाई शिथिल बनाइदिएको छ । धर्मानुयायीलाई एकअर्काको धार्मिक विश्वासलाई सहन गर्न सिकाएको छ, सहअस्तित्वको भावना बढाएको छ । अनेक धार्मिक मूल्य बदलिएका छन्, प्रथाहरू समाप्त भएका छन् र विज्ञान एवं तर्कको महत्व बढेर गएको छ । मानिस नयाँ विचार र परिप्रेक्ष्यको संस्कृतिको खोज गर्ने स्वतन्त्रताको अनुभव गर्छन् ।

विवाह, परिवार, जाति र केही परम्परागत संस्थामा धर्मको प्रभाव कम भएर गइरहेको देखिन्छ । सत्य के हो भने धर्मको तागत पनि जारी नै छ । धर्मले आफैँलाई राम्रोसँग बुझ्न र जिउनलाई मद्दत गर्छ । धर्म रूढि, परम्परा र कर्मकाण्डसँग मात्र सम्बन्धित छैन, अध्यात्म र नैतिकता धर्मले मात्र सिकाउँछ । स्वदेशी धार्मिक स्थलमा तीर्थाटनका लागि जाने, नयाँ तीर्थस्थल पत्ता लगाउने र पूर्वाधारको विकास गर्ने, धार्मिक उपबास बस्ने, पर्व मनाउने तरिकामा परिवर्तन भए पनि आममानिसको अभिरुचिमा कमी आएको छैन । संस्थागतको अपेक्षा व्यक्तिगत अर्थ र पूर्तिका माध्यमका रूपमा धर्म पूरा उत्साह र शक्तिका साथ जीवित छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार