दिपक खनाल / अब, नेताजीहरूलाई कमरेड, नेताजी भनेर कुनै अर्थ छैन । किनकि उहाँहरू कमरेड, नेताजीबाट कटेर ‘बा’को लाइनमा पुगिसक्नुभयो । फेरि ‘बा’ भन्दा नै आनन्द लाग्छ उहाँहरूलाई । सम्मानित भएको महसुस गर्नुहुन्छ । किनकि उहाँहरूको पार्टी सिद्धान्त र सङ्गठनात्मक विधिमा भन्दा उहाँहरूकै निर्देशन, सनक र लहडमा चल्न थालेको धेरै भइसक्यो । बरु उहाँको पार्टीलाई ठुलो ‘कर्मचारीतन्त्र’ र उहाँहरूलाई ‘बडाहाकिम’ भन्दा हुन्छ । जसरी कर्मचारीतन्त्रमा सचिवदेखि कार्यालय सहयोगीसम्मको व्यवस्था हुन्छ । र, तलकाले आफूभन्दा माथिका हाकिमसहित सचिवसम्मलाई ठुलो मान्छे मान्नुपर्छ, त्यसरी नै नेपालका सबैजसो पार्टीमा पनि जनता, कार्याकर्ताले माथिका नेतालाई भगवान्जस्तै मान्नुपर्छ । भगवान्लाई जस्तै भक्ति गर्न जान्नुपर्छ । अनि नेताजीहरूलाई पनि नेताजी, अध्यक्षजी, महासचिवजी भन्दा बा, ठुलाबा, सानाबा, काकाबा भन्दा मज्जा लाग्छ । कम्युनिष्ट नेताहरूलाई नै ‘बा’ भन्दा गौरब हुने भएपछि काँग्रेसका नेताहरूलाई त झन् बा, ठुलाबा, सानाबा, काकाबा, दाजुभाउजू भन्न कुनै अप्ठेरो मान्नैपर्दैन । किनकि काँग्रेस त झन् प्रजातान्त्रिक–पारिवारिक पार्टी हो । अर्काेतिर देउबा त प्राकृतिक रूपमै देउ‘बा भइहाल्नुभयो फेरि ।
यद्यपि नेपाली राजनीतिका ‘बा’हरूले पु¥याएको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । राजनीतिक व्यवस्था परिवर्तनमा ‘बा’हरूले उर्जाशील जीवनकालभरि त्याग गर्नुभएकै हो । ‘बा’हरूले साम्यवादी तथा प्रजातान्त्रिक मार्गदर्शक सिद्धान्तमा टेकेर नेपालमा पनि व्यवस्थाका साथै अवस्था बदल्न खोज्नुभएकै हो तर दुई ठुला देशको बीचमा रहेको नेपाल देशको भू–राजनीतिक अवस्था, आफ्नै स्वभाव, हठ, विभिन्न आन्तरिक पक्ष, एकआपसमा खुट्टा तानातान जस्ता कारण ‘बा’हरू मुलुकमा राजनीतिक स्थायित्व दिन सफल हुनुभएन । आर्थिक विकास र समृद्धिमा जोड दिए पनि यसमा सफलता हासिल गर्न सक्नुभएन ।
तथापि पछिल्लो चरणमा एउटा कुरामा चाहिँ मान्नैपर्छ ‘बा’हरूलाई । ओलीबा र दाहालबाको सरकार ढलेर ओलीबा र देउबाको सरकार बनेपछि यी ‘बा’हरूबिच पहिले पहिलेजस्तो कटाक्ष सुन्नुपरेको छैन । पहिले पहिले यसो हुँदा ‘हेटस्पिच’ले मिडिया भरिन्थ्यो । एक अर्काेको उछित्तो, दोहोलो काट्थे । नेपाल कम्युनिष्ट पार्टीमै छँदा पाइलटबा र कोपाइलटबाको कत्रो मारमुर्गी परेको थियो । कोपाइलटबाले त पाइलटबाका विरुद्ध कयौँ बुँदे क्षेप्यास्त्र नै हान्नुभएको थियो । अहिले त्यस्तो देखिएन । प्रधानमन्त्री बाको भनाइ, भाषण पहिलेभन्दा शालीन देखियो, प्रतिपक्षीबा र उहाँका छोराछोरीहरूले संसद् नै भत्काउलान् कि भन्ने आशङ्का तोड्दै बौद्धिकता प्रदर्शन गरे किनकि अझै पनि सँगसँगै ‘स्वर्ग’ र ‘नर्क’ जानुपर्ने दिन आउनसक्छ भनेर या अझै पर्ख र हेरको रणनीतिकै चरणमा रहेर होला यी बाहरू पहिलेजस्तो गालीगलौजमा नउत्रिनुभएको ?
यस्तै २०७२ सालको नयाँ संविधान जारी गर्न मिलेजस्तै पछिल्लोपटक एउटा कुरामा मिल्नुभो ‘बा’हरू । ओलीबा र देउबाको सरकार बनेपछि सबै बाहरू वेपत्ता पारिएका व्यक्तिको छानवीन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गर्न सहमत हुनुभयो । जुनसुकै बाका सरकार भए पनि राष्ट्रियता, जनजीबिका, आर्थिक विकास र समृद्धि, सुशासन जस्ता साझा मुद्दामा यसरी नै मिलेको भए ओलीबा, दाहालबा, नेपालबा, उपेन्द्रबाले गर्न नसक्ने केही थिएन । उहाँहरूको के जान्थ्यो र ? झण्डै दुई तिहाइको नजिक हुनुहुन्थ्यो त्यतिबेला बाहरू । आज्ञाकारी छोराछोरीले साथ र हात दिएकै थिए । आफैँ मिल्नुभयो, आफैँ झगडा गर्नुभयो । लामो समयसम्म मिल्न सक्नुभएन । नमिल्दा सरकार मात्रै गएन, जनमत पनि गयो । उहाँहरूको जुँगाको लडाईँले मुलुक नै अलमलमा प¥यो । झन् पछाडि धकेलिदियो । अन्ततः उहाँहरूको जुँगाको कलझगडामा खेलेर अदालतले लटारो छुट्याइदिनुप¥यो । जनताले फेरि अल्पमतमा पारिदिएपछि पुनः मिल्न बाध्य हुनुभयो । पुरानो दन्तबजान बिर्सेर मिल्नुभयो । त्यो पनि मिलन पनि टिकाउ र दीघार्यू हुनसकेन । कहिले दायाँ कहिले बायाँ गरेरै समय बित्यो । भनौँ सत्ता लम्बियो । कहिले ओलीबालाई देउबा र दाहालबाको बन्धन तोड्न हतारो भयो । कहिले देउबालाई ओलीबा र दाहालबाको हठबन्धन तोड्न चटारो भयो । कहिले ओलीबाको यही मूल मिसन बन्यो कहिले देउबाको । अहिले पनि दाहाल‘बा’हरूको मिसन यही बनेको छ ।
तर भनिन्छ नि, इन अफ इज इन अफ । अहिले नपाली जनतालाई यस्तै भइसकेको छ । बुझ्ने भाषामा भन्दा प्रमुख दलहरूको पारा देखेर ‘एलर्जी’ भइसकेको छ । उनीहरू विहान आलु र मूला बेलुका मूला र आलुको तरकारी भनेजस्तै २०४७ सालदेखि काँग्रेस–एमाले, एमाले–काग्रेस, यसमा पनि तिनै देउबा, ओलीबा, माधवबा, उपेन्द्रबा र पछिल्लो १६ वर्षमा माओवादी (दाहालबा)लाई बोक्दा बोक्दा वाक्कदिक्क भइसकेका छन् । दिमागको स्वभाव नै हो नयाँ नयाँ खोज्नु । नयाँ बनेर बढी खरानी घसेर आएका ‘जोगी’हरूको रूप देखेर झन् झसङ्ग भएका छन् जनता । तैपनि आमजनताले अझै वास्तवमै नयाँ खोजिरहेका छन् । नयाँ सुव्यवस्था । काम गर्न सक्ने निडर नयाँ नेता । तर भनेजस्तो नयाँ पाएका छैनन् । त्यसैले अब पनि लोकतन्त्र पक्षधर पार्टीहरू मिलेर नजाने हो भने, मुलुकको कुशासन, भ्रष्ट्राचारका विरुद्ध सबै दल र तिनका नेता, कार्याकर्ता, समर्थक, शुभचिन्तकले एकै स्वर नगर्ने हो भने, टाट पल्टँदो आर्थिक सङ्कट, बेरोजगारी समस्या समाधानमा समान धारणा नबनाउने हो भने, लोकतन्त्रको आवरणमा राज्य दोहन गरिरहने र आफ्ना नेता, कार्यकर्तालाई लुट्न छुट दिइरहने हो भने, जनतामा बढेको तीब्र असन्तुष्टी सडकमा पोखिनेछ । श्रीलङ्का र बङ्गलादेशको जस्तै राजनीतिक वायु पक्कै नेपालमा आउनेछ । यदि लाखौँ युवा विदेशिन बाध्य नभएको भए नेपालले बङ्गलादेशको वायु पर्खन पर्ने थिएन, ती युवा स्वदेशमा नै भएको भए कुशासन र भ्रष्ट्राचारका विरुद्ध सडक तातिसक्ने थियो । कुशासन र भ्रष्ट्राचारलाई नै मन्त्र मान्नेहरूले युवा विदेशिएको फाइदा उठाएर आफ्ना संरक्षित कार्यकर्ताको टेकोमा शासन चलाउन पाएका हुन् तर पनि अब पनि पटक पटक परीक्षण भएका दलहरूले नचेत्ने हो भने जनताले लोकतान्त्रिक दल–दल, परिवर्तनकारी नेता–नेता भनेर धैर्य गरिरहने दिन नआउन सक्छ । किनकि हिजोका ‘टिन एजरर्स’हरू आज सचेत बनिसकेका छन्, जो बालापनमै भोग्नुपरेको कुशासनको पीडा र बेरोजगारीको आक्रोश पोख्न बाध्य हुनेछन् । कसैले जनआन्दोलनको कुशल नेतृत्व ग¥यो र विदेशिएकाहरू समेत त्यसमा समाहित भए भने त्यसलाई कसैले थेग्न सक्दैन । त्यसैले दल, सबै शासक, प्रशासक आ–आफ्नो जिम्मेवार ठाउँबाट बेलैमा सचेत बनौँ किनकि हामीले आफ्नै आँखाले ००७ साल, ०३६ साल, ०४६ साल, ०५२ साल, ०६२–६३ साल देखिसकेका छौँ । इतिहासमा धेरै सालहरू पढिसकेका छौँ । यसलाई रोकेर मुलुकलाई सकारात्मक रूपमा अगाडि बढाउने तागत भने सबै पार्टीका ‘बा’हरूमै छ ।