इटहरी । इटहरीमा एक युवतीको शंकास्पद मृत्यु भएको घटना बाहिरिएको छ । इटहरीको खनार घर भएकी २४ वर्षीया मेनुका दाहालको गत शुक्रबार शंकास्पद मृत्यु भएको हो ।

उनी झुण्डिएको अवस्थामा शव फेला परेपनि माइती पक्षले भने हत्या भएको हुनसक्ने शंका गरेको छ । अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने जाहेरी लिन मानेको छैन ।

६ वर्षअघि खनारका ईश्वर बरालसित मागी विवाह गरेर झापाबाट आएकी मेनुका घरपरिवारबाट प्रताडित बन्दै आएको माइती पक्षको दाबी छ । मेनुकाका ५ र ३ वर्षका दुईवटी छोरी छन् ।

माइती पक्षकाअनुसार गत महिना तीजमा मेनुका माइती पुगेकी थिइन् । मेनुका घर फर्किएपछि श्रीमान–श्रीमतीबीच सम्बन्धमा मनमुटाव सुरु हुन्छ ।

मेनुकाले पटकपटक माइती र दिदीबहिनीलाई ईश्वरले दिएको यातना सुनाउँछिन् । माइतीले ईश्वरलाई सम्झाउने कोसिस गर्छन् । ईश्वरले सीधै ‘ठूलो कुरा गरेकाले पड्काइदिएको’ बताउँछन् । मानसिक तथा शारीरिक यातनाले आजित मेनुका दमकस्थित दिदीलाई भेटेर यावत् कुरा सुनाउँछिन् ।

माइतीले भेटेरै कुरा गर्ने बताएपछि ईश्वर झस्किन्छन् र मेनुकालाई फकाएर बोलाउँछन् । शुक्रबार साँझ मेनुका घर आएपछि पुनः मेनुकालाई यातना दिएको कुरा माइतीले थाहा पाएको बताइन्छ ।

मेनुकाकी जेठी छोरीले बाबाले आमालाई गरेको दुर्व्यवहार बुझ्ने र सुनाउन सक्ने छिन्, सुनाइन् । शुक्रबार राति १२ बजे मेनुकाका घरबाट माइतमा फोन जान्छ– ‘तिमीहरूकी छोरीले बुद्धि बिगारेर मरी, आओ, मिलापत्र गरौँ ।’

झापाबाट इटहरीसम्म बिहानै माइती पक्ष आइपुगेर घटनाबारे जवाफ माग्दा ईश्वर मन नलागीनलागी झुन्डिएर मरेकी बताउँछन् । माइती पक्षसँग छोरीहरूलाई भने भेट गर्न नदिएको बताइन्छ ।

‘मेनुका र ईश्वरबीच सामान्य खटपट भएको थियो । मेनुकाले अचानक भाउजू (जेठानी) भएको कोठामा बाहिरबाट चुकुल लगाएर बरन्डामै पासो लगाएर झुन्डिन्छिन् । बन्द कोठाबाट कसरी निस्किएको बारे नभनी हतारमा देवर–भाउजू मिलेर डोरी काटेर कोशी अस्पताल विराटनगर पु¥याएको हौँ । अलिअलि धुकधुकी थियो, पुग्नासाथ मरी । अनि हामीले सबैलाई खबर गर्यौँ ।’ ईश्वरका परिवारले माइती पक्षलाई यसरी घटनाको विस्तृत जानकारी दिन्छन् ।

घटनामा माइती पक्ष र वस्तुस्थिति बुझ्दा नाटकीय ढङ्गबट हत्या गरिएको माइती पक्षको आरोप छ । ‘घटनाबारे झन्डै १२ घन्टापछि मात्रै प्रहरीलाई जानकारी गराइएको र छरछिमेकीहरूलाई पनि थाहा नदिई घटना सामसुम पार्ने गरिएको पाइएपछि घटना शंकास्पद छ,’ माइती पक्ष भन्छन् । आधारातमै माइतीलाई फोन गरेर ‘मिल्नुपर्छ’ भन्नु पनि शङ्काको गहिरो आधार रहेको उनीहरूको दाबी छ ।

शुक्रबारको घटनामा मङ्गलबारसम्म पनि मुद्दा दर्ता नभएकाले शंकाको आधार रहेको मृतकका भाइ घनश्याम दाहालले बताए । हत्या भएको दाबी गर्दै उनले यसलाई दबाउन खोजिएकोसमेत बताए ।

‘माइती पक्षसित कुनै प्रकारको सहमति नलिई प्रहरीले परिवारलाई शव बुझाएर दाहसंस्कार गर्न दिनु पनि शंकाको आधार हो,’ उनले भने, ‘प्रमाण मेट्न यहाँ पनि पर्याप्त भूमिका खेलेको जस्तो भान हुन्छ ।’

घटनास्थलमा गरिने प्रारम्भिक अनुसन्धानदेखि आरोपी श्रीमान्, भाउजू (जेठानी)लगायत संलग्नलाई पक्राउ गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

मङ्गलबार आफन्तले महिला सञ्जाल इटहरीलाई न्यायिक अपीलका लागि निवेदन दिएपछि पत्रकार, महिला अधिकारकर्मी र आफन्तको टोली इलाका प्रहरी कार्यालय इटहरी पुगेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पोस्टमार्टमको रिपोर्ट नआएकाले घटनाबारे खुल्न नसकेको बताए । उनले ‘आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी’ दिए तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउने प्रतिक्रिया दिए । याे खबर टाकुरा न्युजबाट साभार गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार