जलेश्वर । जितिया पर्व मिथिलाञ्चल तथा मधेशका अधिकांश क्षेत्रमा सन्तानको दीर्घायु र पारिवारिक सुख-समृद्धिका लागि विशेष रूपमा मनाइन्छ। यस पर्वमा महिलाहरू (व्रतालु मिथिलानी) ३६ घण्टा लामो निर्जल र निराहार व्रत बस्ने परम्परा रहेको छ। यो पर्व सोमबार “नहा-खा” विधिबाट सुरु हुन्छ, जहाँ महिलाहरू पवित्र स्नान गरेर व्रतको तयारी गर्छन्।
मंगलबार बिहान ४ बजेदेखि बुधबार साँझ सवा ५ बजेसम्म व्रतालुहरूले कठोर उपवास राख्छन्। बुधबार साँझ, पवित्र नदी, पोखरी, वा अन्य जलाशयमा स्नान गरी अन्तिम पूजा गर्दै दही, चिउरा, अमोट, सख्खर र काँक्रो चढाएर व्रत समापन गर्ने परम्परा छ, जसलाई “पारण” भनिन्छ। पारणपछि महिलाहरूले देवतालाई चढाएका प्रसाद ग्रहण गर्छन् र विभिन्न खानेकुरा खाने चलन छ।
यस पर्वको समय श्री जानकी भित्तेपात्रोमा उल्लिखित मिथिला पञ्चाङ्गअनुसार असोज ७ गते ओंगठन, असोज ८ गते व्रत र असोज ९ गते व्रत पारण गरिने उल्लेख छ।