नारायणबहादुर बस्नेत / मेचिनगर। हिन्दुधर्मावलम्बीका अनुसार श्री पशुपतिनाथ भगवान भोले बाबाले हिमालमा शीर पहाडमा शरीर र तराईमा पाउ राखेर बनेको देश नेपाल प्राकृतिक मनोरम दृष्टिकोणले सौन्दर्य बनेको छ। विश्वमा सबै भन्दा अग्लो शिखर सगरमाथा पनि यही देशमा नै छ। यसैकारण नेपालले विश्वमा छुट्टै पहिचान बनाएको छ। हिमालले आफ्नै विशेषता बोकेको छ भने पहाडले पनि आफ्नै पहिचान लिएर अघि बढेको छ त्यसैगरी तराईले पनि आफ्नै विशेषता अनुसार आफूलाई अघि बढाईरहेको छ। तराईका खेतीयोग्यजमिन बाट सबै प्रकारका बालीनाली लगाएर राम्रो उत्पादन गर्ने गरिन्छ। तराईले हाम्रै हिमाल र पहाडलाई समेत खाद्यान्न पुर्याएको छ। नेपालको तराईले कुनै समयमा धानचामल निर्यात कम्पनी लिमिटेड प्रा लि खोलेर विदेशमा धान निर्यात गर्नेगरेको थियो। आज त्यसरी निर्यात गरेको धान उल्टै आयात गरेर खानुपर्ने स्थिति आएको छ। यो सबै सरकारले ल्याएको गलत नीतिका कारण यसरी चामल आयात गरेर खान परेको हो भन्दा अतियुक्त नहोला। सरकारले लिएको गलत नीतिका कारण तराईले धान राम्रो उत्पादन गर्न नसक्दा धान निर्यात गर्न नसकेपछि उक्त कम्पनी खारेज गर्नुपरेको हो। सरकारले अहिले पनि नेपाल कृषि प्रधान देश हो भनेर भनिरहेको छ, तर उपभोक्ताले चाहि धानचामल आयात गरेर मात्र खाईरहेकाछन। मलखादको एउटा पनि कारखाना खोलिएको छैन। जब खेती गर्ने समय आउछ सरकारले रासायनिक मल खरिद गर्ने टेण्डर लगाउने गरेको छ। समयमा मलखाद नआउदा उत्पादन त्यसै घटेर जान्छ। सरकारले यसरी उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्नेमा भ्युटावर जस्तो अनुत्पादक क्षेत्रमा लगानी गरेर कृषि प्रधान देशको उपहास गरिरहेको छ।

किसानको नाउँमा प्रदेश र सङ्घीय सरकारले दिएको अनुदान वास्तविक किसानले पाउन सकेको छैनन। एउटा गाई पाल्ने किसानलाई हैन, धेरै गाई पाल्ने सुटबुट लाउने र एसी जडान भएको गाडी चढेर आउने किसानले अनुदान पाउने गरेकाछन। हरेक अनुदान पाउने विषयमा यस्ता यस्तै भै रहेको छ। किसानको नाउँमा आएको अनुदान वास्तविक किसानले पाउदैन। अनुदान वितरण गर्ने कार्यालयका कर्मचारीलाई केही हिस्सा दिने हो भने हिस्सा दिने व्यक्तिलाईनै अनुदान वितरण गर्नै गरेको देखिएकोछ।

नेपालमा बस्ने अधिकांश मानिसको कथाव्यथा अनौठो रहेको छ। त्यही अनौठो सँस्कारलाई लिपिबद्ध गर्ने कोशीष गरिरहेको छु। अरू कुनै गाउँघरका व्यक्तिको लेख्नु भन्दापनि मेरो आफ्नै घरको कहानीलाई पहिलो प्रथामिक्ता दिई समाजका निम्नानुसार वास्तविक घटनाहरूलाई चिरफार गर्ने कोशिष गर्नेछु। गाउँघरको कहानी पनि मेरो जस्तै रहेकोले त्यसलाई पनि समेट्ने प्रयास गर्दैछु। बिक्रम सम्बत २०२५ सालको अन्त्यतिर हुनुपर्छ मेरो पहाडको पुर्ख्यौली घर सगरमाथा अञ्चल खोटाङ जिल्ला तत्कालिन टेम्मा गाउँ पञ्चायतमा बसोबास गर्दै गरेको ठाउँ छाडि झापा जिल्लाको मेचिनगर नगरपालिका हाल वडा नम्बर-८ मा पढाइको सिलसिलामा बुबाले लिएर आउनु भएको थियो। पहाडमा बस्दा हाम्रो परिवारले चामलको भात खाएर सुखसँग बसेका थियौँ तर पहाडको ठाउँमा धेरै छिमेकीहरूले चामलको खाना खान पाउँदैन्थ्ये। प्राय सबैको जग्गा जमिन भिर पाखा नै हुन्थ्यो। भीरपाखामा कोदो मकै र फापर मात्र उत्पादन गर्न सकिन्थ्यो। केही मानिसहरूको मात्र बेसिमा धानखेती हुन्थ्यो। अधिकांश मानिसहरू कोदो फापर र मकैको भात खान बाध्य थिए।

चामलको भात त पाहुनालाई सत्कार गर्दा या त मासु खाने दिनमा मात्र पाक्ने गर्थ्यो। मासु खान कि त दशैँ आउनुपर्थ्यो कि त छ महिना पर्खनु पर्थ्यो। पहाडमा बस्दा पढ्न पनि टाढा/टाढा जानुपर्ने हुन्थ्यो भने भीरपाखा भएकाले ससाना विद्यार्थीहरूलाई विद्यालय जान पनि बाटोको कारण कठिन थियो। घरका सदस्यले विद्यालय पुर्याउने समय मिलाउन कठिन थियो किनकि घरका सदस्यहरू आफ्नो काममा व्यस्त नभए मकै कोदो फापर उत्पादन गर्ननसक्दा परिवारको हात र मुख एकै ठाउँमा पुग्ने थिएन।

पहाडमा बस्दा यस्ता अनेकौँ दुख र कष्टलाई छल्नको लागि अधिकांश मानिसहरू चामलको भात खानकै लागि भएपनि तराई झर्ने गरेको पाईन्छ। घाँस दाउरा गरेर विद्यालय जाने धेरै हुन्थे। अभिभावक बेरोजगार भए पछि पैसा हुदैनथ्यो। पैसा नभए पछि विद्यार्थीहरूलाई पढ्न सहज हुँदैनथ्यो। हाम्रो परिवार २०२७ सालमा जमिन खरिद गरेर २०२८ सालमा सबै परिवार तराई अर्थात मेचिनगर-८ मा बसाई आएका थियौ। त्यो समयमा रोजगारी गर्ने कुनै उद्योग धन्दा थिएनन। उद्योग धन्दा नभए पछि खेतिपातीमा नै काम गर्नु पर्थ्यो। खेती गर्ने मजदुरलाई पैसा दिने चलन थिएन। पैसा महङ्गो र जिन्सी सस्तो थियो। जिन्सी बिक्री हुदैन्थ्यो। भारतको नक्सलबाडी बजारमा मानिस लाई बोकाएर बिक्री गर्न लगिन्थ्यो। कुनै समयमा बिक्री नभए पछि खरिद कर्ताको मूल्यमा जिन्सी छोडेर आउनु पर्थ्यो। आफ्नो खेतीमा कामगर्ने मजदुरलाई धान चामल दिएर काम गर्न लगाईन्थ्यो। लुगा सिलाउने दर्जी, कपाल काट्ने ठाकुर र कुटो कोदालो हँसियाआदि फलामको काम गर्ने कामीलाई मङ्सीरमा बालिको रूपमा धान दिएर कामहरू गर्न लगाइन्थ्यो। खेतीमा उत्पादित धानबाट माथि उल्लिखित खर्च बाहेक, औषधिउपचार, लुगा, पाहुनापाछा लाई सत्कार, पढाईमा खर्च, खेति गर्न राखेको हलिलाई मासिक तलब दिनेजस्ता सबै खर्च खेतीबाट उत्पादन गरेको धान मकै बिक्री गरेर खर्च गर्ने गरिन्थ्यो। तराईमा खसिको मासु खानुपरेमा मङ्सिरमा धान दिनेगरि खाने चलन थियो। त्यो समयमा खेतीमा कामगर्ने मजदुरलाई मासिक रु ५०/- खाना र साधारण लुगा लाउन दिदा काम गर्ने मानिस राख्न पाइन्थ्यो।

यो कुनै एक घरको कहानी होइन। सबै घरघरको कहानी यस्तै थियो। अति गरिब परिवारका लागि यो भन्दापनि कहालि लाग्दो अवस्था थियो। उच्च स्तरका समुदाय नगण्य थिए, उनीहरूलाई खासै असर पर्दैनथ्यो। मजदुर बर्गलाई असर पर्दैनथ्यो। दैनिक कामगर्न गयो, पैसा नआएपनि जिन्सी सामान आउँथ्यो त्यसैले घरपरिवारको व्यवहार यथाशक्य चलाएका थिए। मध्यमवर्गीय र निम्न मध्यमवर्गीय व्यक्तिका लागि अलिक ज्यादै कठिन अवस्था थियो। अरूको खेतीमा काम गर्न जान नहुने मानसिक्ता बोकेपछि साथै आम्दानी गर्ने आधार नभए पछि घरको खर्च त गर्नै पर्थ्यो। घर खर्चका लागि साहुसँग कर्जा लिएर भए पनि चलाउनुपर्ने हुन्थ्यो। बैंक पनि सिमित थिए, जस्तै नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैक मात्र थिए। गाउँगाउँमा बैंकका अफिस नहुनु र शहर र सदरमुकाममा मात्र बैंकको अफिस भएपछि कर्जा लिन त्यति सहज थिएन। साहुसँग एकहजार कर्जा लिदा तीन मन धान ब्याज तिर्ने सर्तमा मात्र पैसा पाइन्थ्यो। व्यवहार मिलाउन कठिन भए पछि त्यही शर्तमा भएपनि रकम लिएर व्यवहार सम्हाल्न नै पर्ने स्थिति थियो। यसरी दिनप्रतिदिन व्यवहारले प्रत्येक घरका अभिभावकलाई लतारिरहेको थियो। जब व्यवहार लत्रिएपछि असफल बन्दै गईदो रहेछ।

तराईमा पनि अहिलेको जस्तो नजिक विद्यालय थिएन, दश कक्षा पढ्न धुलाबारी नै जानुपर्थ्यो भने +2 र त्यो भन्दा माथि पढ्नका लागि झापा सदरमुकाम भद्रपुर जानुपर्थ्यो। गर्मीको समयमा विद्यालय विहान लाग्दा धेरै जसोले केही नखाई जाने चलन थियो। घरका फुर्तीफार्ती अभिभावक भएको घरमा मकै भटमास भुटेर हाप्पेन को गोजीमा पठाउने चलन थियो तरपनि केटाकेटी बुद्धि त हो बाटोमा आँपको ठूलाठूला बोटहरू थिए । तिनै बोटबाट ढुङ्गा र झट्टी हानेर काँचो आँप झारेर खादै घर फर्कन्थ्यौं। अभिभावकले चालपाउँदा आँप खाएर आउने नगर है दशैँमा ज्वरो आयो भने मासु खान पाईदैन भनेर भन्ने गरेको अहिले जस्तो लाग्छ। दशैंमा खसि काटेर खानकै लागि ठूलाठूला खसि प्रत्येक घरघरमा पालेर राख्ने चलन थियो। त्यसबेला प्राय दशैँको समयमा मात्र खसि काटेर खाने चलन थियो।

२०३०/०३१ साल तिर राजाराम श्रेष्ठ दाइले नकलबन्दामा खसि काट्ने र मासु बिक्री गर्ने उहाँको व्यवसाय थियो। एक केजी मासुको मूल्य रू १२ देखि १५ सम्ममा पाइन्थ्यो। तर पैसा महङ्गो र जिन्सी सस्तो भएपछि केही परिवार बाहेक धेरैले मासु किनेर खाने हिम्मत गर्दैनथे।
अहिले गाउँगाउँमा खसी काटेर मासु बिक्री गर्ने चलन छ। त्यो समयमा एक के जी मासुलाई रू १२/ १५ मा पाइन्थ्यो भने अहिले त्यही खसिको एक केजी मासुको दाम बढेर रू १,०००/- देखि रू १,२००/- सम्म पर्छ। मासु लिनलाई पनि हारालुछ गर्नुपर्छ। पहिलाको समयमा बिक्री हुँदैनथ्यो भने अहिले मासु खरिद गर्नलाई पनि लाइन लाग्नुपर्छ। बिक्री हुँदैन कि भन्ने चिन्ता नै छैन, सहजतापूर्वक आफूलाई खान मन लागेको कुरा पैसा भएपछि पाईन्छ तर पहिलाको समयमा पाइदैनथ्यो। पहिलाको जमाना र अहिलेको जमाना बीच यिनै फरक पाइन्छ।

अहिले देशमा लोकतान्त्रिक व्यवस्था आएको छ। पहाडको प्रत्येक सदरमुकाममा बाटो पुगेको छ। जिल्लामा स्वास्थ्य अस्पतालहरू खुलेका छन। प्रत्येक स्थानीय तहका ६,७४३ वटा वडामा स्वास्थ्य चौकी बन्दैछ। प्रत्येक गाउँमा विद्यालय खोलेका छन। प्रत्येक साधारण शहरमा +2 सञ्चालनमा छन। प्रत्येक गाउँमा फ्रेसहाउस खोलेको पाईन्छ। पहिला पैसा महङ्गो थियो भने अहिले पैसा सस्तो भएकोछ। त्यो समयमा जग्गा सस्तो पाइन्थ्यो भने अहिले मूल्य आकासिँदो छ। कोभीड 19 देखि जग्गाहरू बिक्री वितरण हुन सकेको छैन। आम्दानीको श्रोत एक्कासि घटेर तल पुगेको छ। अहिले घर चलाउनलाई कठिन भै रहेको छ।

अहिलेका सबै जसो जनताले केही न केही काम पाएका छन। धेरथोर पैसाको अनुहार देख्न पाएका छन। पहिलाको समयमा पहाडमा कोदो, मकै र फापर दैनिक खानु पर्यो भनेर चामलको भात खान तराई झरेका अर्थात बसाई सर्ने व्यक्ति लाई दैनिक चामलको भात खाएर हरेक रोगहरू लागेको छ। पहिलाको जमानामा पहाडबाट चामलको भात खानलाई तराईका विभिन्न ठाउँमा झरेका मानिसहरू यति खेर कोदो मकै फापर खोजिखोजि खान्छन। उनीहरूलाई हरेक किसिमका रोगहरूले समाति सकेको छ। यसरी पहाडमा बस्ने मानिसहरूका लागि यातायात पनि पुगेको छ। स्वास्थ्य चौकी पनि पुगेको छ। +2 र उच्च शिक्षा हासिल गर्न पनि पाएका छन। शुद्ध र स्वच्छ पिउने पानी पनि घर घरमा पुगेको छ, चिसो पानीको दम र तराईमा ट्युबवेलबाट आउने रातो पानी बीच को फरक आकास र जमिन बीच रहेको पाउछौं। सागसब्जी पहाडमा नै उत्पादन हुन्छ, त्यहाँको उत्पादित सागसब्जी तराईमा बिक्री गर्ने गरेकाछन।

बूढापाकाले भन्ने गर्नुहुन्थ्यो मौसममा फलेको फल खाँदा मात्र मीठो हुन्छ। मौसम सकिएपछि त्यही फल खानुपरेमा कोल्डस्टोरमा राखि त्यसबाट बाहिर निकालेपछि रस सुकेर चाउरी परेको खान लायक नभएको पाईन्छ। पाकेको धानमा पानी लगाएर कुनै अर्थ छैन, धानमा चामल लाग्ने जति लागि सकेको छ। चामल नलाग्ने पोगटामा पानी लगाएर चामल बन्नेवाला छैन। जब पोगटा बनि सकेको छ भने अब चामल लाग्दैन। माया ओरालो लाग्छ ता कि हिजो बाबुले छोरालाई गरेको माया, त्यो छोराले पनि उसैको छोरालाई माया गर्न थाल्छ। त्यसैले माया उकालो जाँदो रहेनछ।

अन्त्यमा हाम्रो घर र समाजलाई सुधार गरेर अघि बढ्ने हो भने यिनै कुरालाई ख्याल गरेर समाजमा रहेका हरेक परिवारलाई यि सन्देश मार्फत समाज परिवर्तन गर्न सकिन्छ। कति व्यक्तिहरू त्यस्ले हामीलाई लेख लेखेर सन्देश दिने हो ? उ को हो र समाजको त्यही व्यक्ति त हो ? त्यसले भनेको हामीले मान्नु पर्नै के कारण छ ? त्यस्ले लेखेको लेख हामीले पढेर उसैलाई ठूलो बनाई दिनुपर्ने भन्ने नकारात्मक सोच लिनेलाई बदल्न आवश्यक देखिन्छ। यसरी समाजलाई बटार्ने प्रवृत्तिका मानिसहरूको ठूलो संख्यामा बसोबास रहेको हुँदा तिनै समाजका व्यक्तित्वहरूलाई कसरी सुधार गर्न सकिन्छ भनि हामी सबै मिलेर योजना बनाउन आवश्यक छ। त्यसैले समाज परिवर्तन गर्नका लागि एउटा कथन राख्न मन लाग्यो :-,
“एक थुकि सुकी हजार थुकि नदी”
अर्थात एकपटक थुक्यो भने सुक्छ तर त्यही ठाउँमा हजारजनाले थुक्यो भने नदी बनेर बग्न सक्छ भने झै समाज परिवर्तन गराउन सकिन्छ। नत्र बाह्र बर्ष रामायण पढायो सीता कस्को जोई भने जस्तै मात्र हुन्छ। धन्यबाद

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार