खोइ कहाँ गयो त्यो बर्ष दिनमा आउने
चाडबाडको रमाइलो, कहाँ हरायो त्यो पुरानो स्वाद
बाल्यकालको खुसी, उल्लास, र हासो
गाउँभरिका युवाहरूको उत्साह, अनि उल्लासमय गफगाफ।
दशैँ आउँदा महिना दिन अघिदेखि
नयाँ लुगा किनेर लगाएर
गाउँभरि घुम्दै, गर्वले देखाइन्थ्यो त्यो सिंगारिएको पहिरन
आफ्नो पहिचानको प्रतीक, नेपालीपनको माया।
तर खोइ? अहिले त
ती सारा परम्पराहरू झैँ
चिप्लिएर बग्यो समयको बहावसँगै,
पिङको रमाइलो, रोटको मिठास, र टीकाको प्रेम,
साँच्चै, कहाँ गयो त्यो सादगी जीवनको मिठास?
नदेखिने भइन् आमा-हजुरआमाहरूको मायालु हात
आशीर्वाद दिने बुढापाकाको स्नेहिल हाँसो
अनि चीरको रङ्गीन धजा—
ती सारा रंगीन क्षणहरू, आज सादा लाग्छन्।
बिदेशी भेषभूषाले छोप्यो
नेपालीको आफ्नै चाडपर्वको अस्तित्व
भिन्न संस्कृतिको चटारोमा,
अल्झिएर हरायो हाम्रो पहिचान
आजभोलि दशैँ आउँछ, तर
मात्र छुट्टिहरूको रुपमा
बुझ्दैन कोही परम्पराको अर्थ,
बुझ्दैन कोही स्नेहिल सम्बन्धको महत्व।
गाउँघरतिर पनि फेरिन थालेछ,
अलिअलि उहिलेको झल्को मात्र बाँकी
तर अब त्यो रमाइलो छैन,
फेरिएको छ सबथोक,
हातमा चङ्गा होइन, मोबाइलको चाप
गीतको सुमधुरता होइन, टीभीको आवाज
पिङको हर्षातिरेक छैन,
बरु एक्लोपनको गहिराइ छ।
भटाभट टिकटकको बनाइन्छ भिडियो
लुगा देखाएर फेसबूकमा हालिन्छ फोटो
तर त्यो हर्ष छैन,
जुन पिङको एक पिङमा पाइन्थ्यो।
खोइ, कहाँ गयो त्यो बालापन?
कहाँ गयो त्यो सरलता, ती यादहरू
स्मृतिमा मात्र बाँकी छ अब
हाम्रो बाल्यकालको दशैँ,
हाम्रो सहर-गाउँको रमाइलो।
आज फेरियो संस्कार,
सात समुद्रपारको चमकिलो संस्कृतिले
भित्रिएर ढाक्यो हामीलाई,
आफ्नो रितिरिवाज त कता हो कता
फर्कियो मान्छे, लाज मान्दै बोल्छ
“हामी पनि त आधुनिक छौँ नि!”
तर सम्झ, के आधुनिकता भनेको
हराउनु हो तिम्रो संस्कृति?
दशैँका गीत हराए,
त्यो गाउँको चौतारीमा
बाँच्थ्यो हाम्रो दशैँ
अहिलेको त दशैँ
टीभीको पर्दामा मात्र छ,
आफ्नोपनको कमी छ,
दशैँमा रमाउनेहरू,
खाली प्रविधिमा झुम्छन्
तर त्यो गाउँघरको बाजा
बाज्दैन अब गाउँभरि।
फर्क, सम्झ त्यही दशैँ
जहाँ हाम्रो सानै छँदा
थियो रमाइलो, साँचो हर्ष
आज, बाँच्न सिक,
फेरि आफ्नो अस्तित्वसँग
सम्बन्ध गाँस्न सिक
मायाले भोलि सम्झौँ,
हामी नेपाली हौँ
अनि हाम्रो दशैँ,
सधैँ रहिरहोस्, हाम्रो पहिचान।
✍️: रमला दंगाल