कविता: “मानसपटलमा गुरूहरू !”
अनुष्टुप छन्द
प्रतिभावान् थिए हाम्रा हेडसर अति बडा
वाशिष्ठ भतिजा उस्तै होनहार तथा कडा
डरलाग्दा थिए ज्यादै एल वि सर बेसरी
नवा दिदी हकार्ने झन् भनौँ यहाँ म के गरी ।१।
राजेन्द्र सर के भन्नु गौप्राणी अति सज्जन
तेजनाथ अहो उस्तै ज्यादै भद्र सुधी जन
टङ्क सर कडा लाग्ने मायाँ गर्ने सधैँ भरि
सदानन्द झनै छुच्चा यस्तै हुन् सब आखिरी ।२।
शिव सर कडा लाग्थ्यो केही सुशील सादगी
एस् एन् सर कठै लाग्ने बोल्नै गाह्रो छ हे हरि
बेफुर्सदी थिए अर्का बद्रुदिन दिनै भरि
छेकाऊँ कपडा भन्दै जान्थे कतै सधँ भरि ।३।
उत्तम नामका अर्का मायाँ विहीन कन्जुस
ताजमान थिए भद्र भाटा हान्थे कठैबर
तारा पुण्य र केपीका यो आज नगरौं कुरा
जगेन रूद्र हस्ती हुन् मङ्गल सुब्बा महाँ सुरा ।४।
भोला महेन्द्र औ धेरै थिए उम्दा पढाउन
चाकु बयर छोला नै खान्थ्यौँ निद्रा भगाउन
पैसा नभएको बेला चोर्न पछि कहाँ पर्यौँ
त्यो भन्दा नहुने काम अर्को कुनै कहाँ गर्यौँ ।५।
संस्कृतका महाँ जान्ने रघुनाथ धुरन्धर
भाषा अङ्ग्रेजको उस्तै पढाउँथे निरन्तर
प्रेम सर थिए हाम्रा नेपालीका ठुला गुरु
रोहिणी र दधिराम दाजुभाइ सँगै सुरु ।६।
राधाकृष्ण झनै तेजी ज्ञाता भूगोलका उनै
नजानेका कुरा यौटै थिएनन् विश्वका कुनै
लीला गुरु थिए अर्का गणित नै पढाउँथे
गृहकार्य नमिलेमा कक्षा भित्रै लडाउँथे ।७।
सम्झिएँ बाल्यको बेला विद्यालय तथा गुरु
मेरो सम्मान अर्पिन्छु दिन्छु इज्जत आबरू
सम्झिँदा मित्रका नाम अति आनन्द पर्दछु
सबैको होस् भलो भन्ने यो बेला भाव धर्दछु ।८।
यदुनन्दन दाहाल ” शशी”
४६ औं एस एल सी ब्याच
बिरेन्द्र मा बि , चन्द्रगढी !