लघु कथा: स्वार्थी संसार
“ त्यो आँपा रुखको हाँगो नहल्लाउनु भनेको हैन मैले !”
“पानी पनि कोहि हाल्दैनन म बाहेक !”
“ ल ! के भन्नुहुन्छ हौ हजुर पनि, हिजै त मैले फेदको वरिपरि मल हालेको , कस्तो लटरम्मै फुल्या है ! जे होस यसपाली चै आँप मज्जाले खान पाइने भैयो, है बुडा ! ”
घरमा सासु ससुरा आपसमा कुरा गर्दैछन । यसपालि बल्ल बल्ल घरछेउको बारीमा रोपेको छिप्पीसकेको आँपको बोट लटरम्मै फुलेको छ, पाँच बर्ष सम्म आस गर्दा गर्दा यसपाली फुलेको हो ।
आँपको बोट फुलेन भनेर अघिल्ला वर्ष सम्म यस्ले निकै गाली चोट र घाउ खेपेको थियो । दाउरा चाहियो यसकै हाँगो, काक्रा फर्सीलाइ थाँग्रा चाहियो यसैलाइ चोट । थारो रुख भनेर मल, पानी र गोडमेल कहिले पनि भेटेन । अव यसपाली पनि फुलेन भने त जरै लाएर ढालिदिने समेत कुरा गरेका थिए ससुरा बा ले ।
आफ्नो कोठाको झ्यावाट बुहारी रमा त्यहि आँपको बोट हेर्दै विगतमा उसले खेपेका आरोप र पिडाहरु झल्झली सम्झीरहेकी थिइन। रमाको त्यस घरमा भित्रिएको पनि छ वर्ष लागिसकेको छ । उनलाइ किन किन त्यो आपको रुखको पिडा आफैले भोगेजस्तो लागेको आभाष भएको छ। रमालाई वितेका वर्षहरुमा आफूले पनि त्यस्तै ज्यादती र पिडा खेपेको आँखा अगाडी झलझली भइरहेको छ ।
“ रमा ! ए रमा ! बुहारी नानी, कता छौ हँ , मैले खाजा तयार गरिसके, विस्तारै तल झर्न सक्छौ ? नत्र होस न त, त्यतै बस, म त्यही लेइदिन्छु नि त। यस्तो बेलाँ धेरै माथि तल गर्नुहुन्न पनि ! ”
रमाले सासूको आवाज सुन्छीन । उनले एकपटक फेरी आपको बोटलाइ हेर्छीन, आपको बोटले पनि उनलाइ हेरिरहे जस्तै लाग्छ । रसाइसकेका आँखाका साथमा मुसुक्क हास्दै अचानक उनको मुखबाट बाक्य निस्कन्छ “ स्वार्थी संसार । ”
लेखक
राजन न्यौपाने
भद्रपुर-१०, झापा