खोटाङको केपिलासगढी गाउँपालिका–१, फेदीस्थित पिपिङमा सिकार खेल्न गएका दुई साथीमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ। फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न गएका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको हो। साथी चेतन राईले मृग ठानेर प्रहार गरेको भरुवा बन्दुकको गोलीले बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि चेतनले मृगलाई लक्षित गरी गोली प्रहार गरेको तर दुर्घटनावश साथीलाई लागेको स्वीकार गरेका छन्। गोली लागेपछि चेतनले बन्दुक छाडेर भागेका थिए। तर, उनलाई फोन सम्पर्क गरेर पुनः घरमा बोलाएर प्रहरीको जिम्मा लगाइएको छ।
प्रहरी निरीक्षक सञ्जु कार्कीको टोलीले बिहीबार घटनास्थलमा पुगेर मुचुल्का तयार गरी मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएको छ। घटनास्थलबाट एउटा खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको छ।
यस घटनाले खोटाङ जिल्लामा जारी अवैध सिकारको समस्या पुनः सतहमा आएको छ। स्थानीयका अनुसार जिल्लामा बाघ, भालु, मृग, थार, घोरल, खरायो, र कालिजजस्ता जनावरको सिकार मनोरञ्जन र आर्थिक लाभका लागि भइरहेको छ। साथै, लोपोन्मुख जनावर जस्तै रेडपाण्डा, सालक, र हुचिललाई जीवितै समातेर बेच्ने क्रम पनि बढेको छ। यस्ता गतिविधिमा कानुनी कारबाही नहुँदा लोपोन्मुख प्रजातिहरू थप जोखिममा परेका छन्।