चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भएको सवारी दुर्घटनामा निधन भएका पाँचै जनामध्ये सन्तोष भुसाल र सबिना भुसाल दम्पती हुन्। तिहारको भाइटीकाको भोलिपल्ट मार्दी हिमाल घुम्न निस्किएका भुसाल दम्पती यात्रा समाप्त गरेर घर फर्कंदै थिए, तर बीच बाटोमै दुर्घटनामा परेर ज्यान गुमाए।
उनीहरू नवलपरासी, विनयी त्रिवेणी नगरपालिका–४ धर्साहका बासिन्दा थिए र सोही वडामा रहेको मणिसिद्ध आधारभूत विद्यालयमा शिक्षक थिए। सन्तोष राहत कोटामा शिक्षक थिए भने सबिना करार शिक्षक थिइन्। उनीहरूका ९ वर्षकी छोरी र ५ वर्षको छोरा छन्। परिवारलाई छोराछोरीको हेरचाहको जिम्मा लगाएर मात्र उनीहरू घुम्न गएका थिए।
भुसाल दम्पती सवार इलेक्ट्रिक भ्यानलाई विराटनगरबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा उनीहरूसहित अन्य तीन जनाको पनि निधन भयो। दुर्घटनाको खबरले धर्साह र उनीहरूको परिवारलाई गहिरो शोकमा डुबाएको छ।