विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एकीकृत माले)ले कारबाही गरेको छ ।

अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीबाट कारबाही गरिएको जानकारी दिएका छन् । अधिकारी र पार्टीमाथि मानव तस्करीजस्तो गम्भीर आरोप विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लगाएर घटनालाई ढाकछोप गर्ने वा हल्का बनाउने प्रयास भइरहेको भन्दै एकीकृत मालेले ध्यानाकर्षण भएको जनाएको छ। एकीकृत मालेले मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।

अधिकारी एकीकृत मालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य थिए । आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी संगठित सदस्यबाट समेत निलम्बन गरिएको पार्टीका प्रदेश अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।मन्त्रीको हैसियतमा केहीदिन अगाडि वैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रकियासमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गर्नु भएकोमा उहाँ (अधिकारी)लाई पार्टी र संसदीय दलले मन्त्री पदबाट राजीनामा गराइसकेको कुरा सबैमा सार्वजनिक भइसकेको छ,’ एकीकृत मालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जापान भ्रमण सम्बन्धी विवादमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका अधिकारीले आफूलाई एकीकृत मालेको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै शुक्रबार पार्टीलाई निवेदन दिएका थिए । उनले पार्टीका प्रदेश अध्यक्ष खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गरेका हुन् ।

अधिकारी आफैंले माग गरेको भोलिपल्ट एमालेले जिम्मेवारीबाट निलम्बन गरिएको औपचारिक जानकारी दिएको हो। घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भनेर सहयोग पुर्याउने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएको तथा पार्टीको जिम्मेवारीमा रहन नचाहेको अधिकारीले बताउँदै आएका छन्।

दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताउँदै अधिकारीले अनुसन्धानका सबै प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अधिकारीले आफ्नो जापान भ्रमणमा प्रक्रियागत त्रुटि र कूटनीतिक मर्यादाको उल्लंघन भएको स्वीकार गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार