कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरिएको छ। उनलाई काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा मोरङ प्रहरीका एसपी नारायणप्रसाद चिमोरियाले नियन्त्रणमा लिएका हुन्। अधिकारीलाई विमानबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।
अधिकारी केही समयअघि जापान पुगेका थिए, तर उनले यो भ्रमणका लागि सरकारी अनुमति नलिएको खुलासा भएको थियो। उनीसँगै तीन अन्य व्यक्ति पनि जापान पुगेका थिए, जसलाई जापानी अध्यागमन कार्यालयले फिर्ता पठाएको थियो। काठमाडौं फर्केपछि ती व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो, भने मन्त्री अधिकारीलाई भने तत्काल उन्मुक्ति दिइएको थियो।
अधिकारीले जापान जानका लागि ठूलो रकम बुझाएको कुरा बयानमा बताएका छन्। उनले आर्ट्स काउन्सिल टोकियोले आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन सरकारको स्वीकृति नलिइकन भाग लिएको आरोप छ। मानव तस्करी योजनाअनुसार अधिकारी जापान पुगेको समाचार बाहिरिएपछि उनी विवादमा परेका थिए, जसका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा संगठित सदस्यबाट निलम्बन गरेको थियो, र सो निर्णयलाई सचिवालय बैठकले अनुमोदन गरेको छ।