पर्सा । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डकचोकमा प्रतिबन्धित लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा २०८१ साल कार्तिक २५ गते राति करीब ९:३० बजे प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६६६ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सेतो बोरामा म्याटले बेरेको ब्लांकेट भित्र कालो प्लास्टिकमा लुकाइ राखिएको ठूलो मात्रामा प्रतिबन्धित लागु औषध फेला परेको हो।
पक्राउ परेका अभियुक्त २३ वर्षीय राज महम्द देवान, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २५ निवासी हुन्। उनीबाट नुरफिन ११९५ पिस, डाइजेपाम १२०० पिस, र फेनारगन ११८५ पिस गरी जम्मा ३५८० एम्पुल प्रतिबन्धित औषध बरामद गरिएको छ। उनीविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।