कचनकवल । सामान्यतया दुई वर्षसम्म कर्मचारीको सरूवा नगर्ने सरकारी नीति रहे पनि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरदर दश महिना मात्र बस्ने गरेको पाइएको छ ।
कर्मचारीतन्त्रलाई राजनीतिले बन्धनमा पार्ने प्रयास हुँदा कचनकवलमा प्रमुख प्रशासकीय अधिकृत आउन नचाहने र आएका पनि न्युनतम अवधिसम्म नटिक्ने अवस्थाले प्रशासनिक काममा उल्झन आउने गरेको हो ।
पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतले कचनकवल गाउँपालिका छोडेको डेढ महिना बितिसक्दा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने अन्यौल रहँदा प्रशासनिक काममा अलमल भइरहेको स्थानीयको भनाइ छ ।
नेपाली काङ्ग्रेसको दुई तिहाइ बहुमत रहेको कचनकवलमा प्रशासनिक काममा हस्तक्षेप भएको भन्दै २ बर्षमा ४ जना प्रमुख प्रशासकीय अधिकृतले पालिका छोडेर अन्यत्र सरूवा लिएर गइसकेका छन् भने २०७४ यता ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरबदल भएको देखिन्छ । राप्रपाको बहुमत रहँदादेखिको राजनीतिक हस्तक्षेप काँग्रेसको दुईतिहाइ बहुमत हुँदासम्म उही गतिमा निरन्तर रहेको भुक्तभोगी कर्मचारीको अनुभव छ ।
विकास निर्माणको रकम विनियोजनदेखि पालिकाका क्षेत्रमा पर्ने कर्मचारी नियुक्ति, सरूवा, बढुवा, अनुदान, कमिशनको चलखेल वा अवसर प्रदान गर्ने विषयमा राजनीतिक हस्तक्षेप हुने गरेको कर्मचारीको आरोप छ भने जनप्रतिनिधि कर्मचारीले अधिकारको नाममा राजनीतिमाथि बन्देज गर्ने प्रवृत्ति बढ्दा असमझदारी बढेर प्रमुख प्रशासकीय अधिकृत निर्धारित अवधि अगावै सरूवा लिएर हिड्ने गरेको जनप्रतिनिधिको भनाइ छ ।
किन २०७४ देखि यहाँ लामो समय प्रमुख प्रशासकीय अधिकृत बस्न मान्दैनन् । अस्थिर प्रशासन भएको भन्दै पालिका सरकारमाथि प्रश्न चिन्ह खडा हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृतहरू भने आफूहरुलाई नियम कानून बिपरित काम गर्न राजनीतिक दबाब आउने गरेकोले जुनसुकै बेला कानूनको झमेलामा पर्ने डरले लामो समय जनप्रतिनिधिसित विवादित भएर बस्न नसकेको उनीहरुको भनाइ रहेको छ ।
तोकिएको न्युनतम समयसम्म पनि प्रमुख प्रशासकीय अधिकृत पालिकामा बस्न नसक्ता धेरै समय रिक्त रहँने प्रमुख प्रशासकीय अधिकृतविना विकास निर्माणदेखि अन्य सेवा प्रवाहमा ठूलो असर परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको भनाइ छ ।
पालिकामा काङ्ग्रेसको बहुमत सहितका जनप्रतिनिधि छन् । हामीले त सहयोग गरेका नै छौं तर काङ्ग्रेस भित्रको अन्तर कलहको कारण प्रमुख प्रशासकीय अधिकृतलाई नचाहिदो दवाब दिदा बस्न नसकेको उनको भनाइ छ ।
कचनकवल गाउँपालिकामा २०७४ देखिका प्रमुख प्रशासकीय अधिकृतहरू निम्नानुसार छन् ।. बिमल पोख्रेल, गङ्गा न्यौपाने, रेखनाथ दाहाल, तुलाराज थापामगर, दुर्गा प्रसाद पौडेल, कुमार बस्नेत, हिराकुमारी यादव, सुभाष चन्द्र सुमन, पुन्यप्रसाद पौडेल रहेका छन् । आठ वर्षमा ९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको कचनकवलमा एकजना बराबर १० महिना ६ दिन मात्र बस्ने गरेको देखिन्छ ।