१९ गते काठमाडौं / नेपाल स्वयंसेवी रक्तदाता समाजले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समक्ष रगत र रक्त-तत्वहरू निःशुल्क उपलब्ध गराउँनका लागि पहल गर्न ज्ञापन-पत्र पेश गरेको छ ।
“रक्त व्यवस्थापनमा सबैको सहभागिता” मूलमन्त्रलाई आत्मसात् गरी देशभर स्वयंसेवी रक्तदाताहरूको सञ्जाल बिस्तार गर्दै पीडित पक्षलाई सेवा प्रदान गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा राज्यले नि:शुल्क भनिएको रगत र रक्त-तत्वहरू पीडितलाई अविलम्ब नि:शुल्क उपलब्ध गराउँन सहयोग गरिदिन काँग्रेस समापति देउवा समक्ष ध्यानाकर्षण ज्ञापन-पत्र पेश गरेको समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिनुभयो ।
ज्ञापन-पत्र बुझ्दै सभापति देउवाले यो निकै महत्वपूर्ण विषय भएकोले प्रधानमन्त्री स्वदेश फर्किए लगतै आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा समाजका केन्द्रीय सदस्यद्वय: सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटीको सहभागिता रहेको थियो ।