बिर्तामोड, मंसिर १९ । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।

यही मंसिर २९ गतेदेखि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको छ । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट र आकर्षक मानिन्छ । झापा ११ ले आफ्नो ‘होम ग्राउन्ड’ मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो ।

झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

प्रतियोगितामा एक विभागीय, ए डिभिजन, मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ ।प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।

झापामा फुटबलको स्तर बढाउने तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङ बताउँछन् । यसअघि सोही रंगशालामा गुरुङकै अगुवाईमा झापा गोल्डकपको सुरुवात भएको थियो । ११ वर्षअघि अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार