झापा ।पश्चिम नवलपरासीका फोटोग्राफर तथा वातावरण संरक्षणकर्मी राज अधिकारी नेपाली संस्कृति तथा प्रकृतिको सुन्दरता झल्काउने तस्वीरहरु अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएर चर्चा कमाइरहेका छन् । यसपाली पनि उनले खिचेको चराको फोटोले पिक्सोटोमा अग्रस्थान हासिल गर्न सफल भएको छ ।
पिक्सोटो विभिन्न अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता आयोजना गर्ने अनलाइन प्लेटफर्म हो जसमा फोटोहरु लाइभ रेटिङ गरिन्छ । फोटोग्राफर अधिकारीले जुम्लाको खलङ्गामा खिचेको हिमाली चरा च्याखुराको तस्वीर पिक्सोटोमा प्रतियोगी थियो । उक्त तस्वीर पंक्षी तर्फ दैनिक रेटिङमा प्रथम, साप्ताहिक रेटिङमा द्वितीय तथा मासिक रेटिङमा पाँचौं स्थान हासिल गर्न सफल भएको छ ।
पिक्सोटोमा अहिलेसम्म पठाइएका पंक्षीका करिब ५ लाख ४५ हजार वटा तस्वीर मध्ये टप ३% मा पर्न सफल यस तस्वीर पिक्सोटोका नेपाली पंक्षीका तस्वीरहरुमा द्वितीय स्थानमा छ ।
यस तस्वीरले नेपालको पंक्षी विविधता र नेपालमा चरा पर्यटनको सम्भाव्यता बारे अन्तर्राष्ट्रिय मञ्चमा सन्देश छोडेको छ । नेपालको प्राकृतिक सुन्दरता विश्वमाझ पस्किन सफल फोटोग्राफर राज अधिकारीलाई बधाई तथा शुभकामना ।