झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ४ स्थित झापा चोकमा हिजो राति अन्दाजी २२:०० बजेको समयमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ज्ञानेचोकबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र.१-०१-००१ ह ८०३० नम्बरको अटोमा सवार व्यक्तिहरूमाथि शंका गरी चेकजाँच गर्दा, बिर्तामोड नगरपालिका वडा नं. १ निवासी मनोज तामाङको ज्याकेटको गोजीमा प्लास्टिकमा पोको पारेर लुकाइएको ५ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर (प्लास्टिकसहित) भेटिएको थियो। प्लास्टिक बाहेक यो लागुऔषधको शुद्ध तौल ४ ग्राम ८६० मिलिग्राम रहेको छ।
प्रहरीले घटनास्थलमा रहेका मनोज तामाङसहित उनका दुई साथीहरू बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी रोशन श्रेष्ठ (२८ वर्ष) र भोजपुर षडानन्द नगरपालिका वडा नं. ७ निवासी विजय जोगी (३२ वर्ष) लाई नियन्त्रणमा लिएको छ।
उक्त तीनैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।