शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आजबाट सुरु भएको छ ।
शिवसताक्षी नगरपालिकाको वडा नं.०१ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।
जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।
कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण शिविरमा कार्यक्रमको उद्घाटन गरेका छन् । उनले उद्घाटनको क्रममा बोल्दै सरकारले दिएको सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले पाउन भन्ने उद्देश्यले नै नगरपालिकाले शिविर सञ्चालन गरिएको जानकारी दिए ।
शिवसताक्षी नगरपालिका भित्रका कोही पनि अपाङ्गता भएका व्यक्तिहरु बन्चित हुनु नपर्ने गरी काम गर्नु पर्ने छ । उनले नगरका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिने भएकाले सबै वडाबासीले अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरमा समावेश गराउने आग्रह गरेका छन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता परिचय पत्र वितरणकी संयोजक नरमाया कार्कीले शिविरमा अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरी कार्ड वितरण गरिने बताइन् । उनले शिविरमा खडिएका डाक्टरहरुको टोलीले अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान उहाँहरुको सिफारिसको आधारमा रातो, निलो, पहेलो र सेतो काड वितरण गरिने जानकारी दिइन् ।
अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा चार भागमा वर्गीकृत गरिएको छ । हरेक परिचयपत्रलाई छुट्टाछुट्टै रंग दिइएको छ र परिचयपत्र लिन आउने अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको गम्भीरताअनुसार निजलाई उपयुक्त ठहर गरिएको परिचयपत्र प्रदान गरिन्छ । यस्तो परिचयपत्र “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो रंगमा, “ख” वर्गमा पर्नेका लागि निलो रंगमा, “ग” वर्गमा पर्नेका लागि पहेँलो रंगमा र “घ” वर्गमा पर्नेका लागि सेतो रंगमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
शिविरमा आँखा, कान, मनोविद, फिजियो थेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका छन् ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ्ग शुभकामना मन्तव्य र नगरका कर्मचारी विमल बाँस्कोटाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका सहकारी प्रमुख बद्री दाहालले गरेका थिए ।
कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको छ । त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनिकरण सम्बन्धी कार्यक्रमहरु ०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।