हल्दिबारी, ८ पुस । हल्दिबारी गाउँपालिकामा आजदेखि दुई दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ। गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले विशेष कार्यक्रमका बीच यस शिविरको उद्घाटन गर्नुभएको छ।
शिविरको आयोजना पशु तथा मत्स्य विकास शाखाले गरेको हो। शिविरमा १५० भन्दा बढी कुकुरहरूको बन्ध्याकरण गर्ने योजना छ। यसका लागि गाउँपालिकाले रु. ४ लाख बजेट विनियोजन गरेको छ भन्ने जानकारी प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले दिनुभएको छ।
शिविरमा प्राविधिक सहयोग हाम्रो भेटनरी सेवा सहकारी संस्थाले उपलब्ध गराएको छ। यस अवसरमा हल्दिबारीका सबै पाँच वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिनेछ। बन्ध्याकरण कार्यको नेतृत्व पशु चिकित्सकहरूको विशेषज्ञ टोलीले गर्नेछ भन्ने कुरा पशु शाखा प्रमुख सानुमाया श्रेष्ठले बताउनुभएको छ।
पौष ८ र ९ गतेसम्म सञ्चालन हुने शिविरको उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले शिविरको आवश्यकता र महत्वबारे मन्तव्य राख्नुभएको थियो।
यस कार्यक्रममा वडा अध्यक्ष देवि बहादुर थापा, अन्य जनप्रतिनिधि, सञ्चारकर्मी, र कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।