द्रोण अधिकारी :
भद्रपुर । रसिलो तथा गुणस्तरीय भएकै कारण भारतीय बजारमा नेपाली सुपारीको माग उच्च छ । केही वर्षयता भारत सरकारले नेपाली उत्पादन सुपारीलाई आयात गर्न कडाइ गरेपछि नेपाल सरकारले नीतिगत व्यवस्था गरी सुपारी निर्यात गर्ने भनेर तयारी थालेपछि यस वर्ष झापाको सुपारी भारत निकासी हुन सकेको छैन ।
नेपालको नीतिगत अस्पष्टताका कारण भारतीय व्यपारी सुपारी किन्न नआएपछि झापाका सुपारी कृषकले आफ्नो उत्पादन बिक्री गर्न सकेका छैनन् । बैध बाटोबाट भारतीय बजारमा सुपारी जान नसक्ने भएपछि अबैध बाटोबाट पठाउने व्यपारी समेत झापाका सुपारी बगानमा गएर सुपारी खरिद गर्ने हिम्मत कसेका छैनन् ।
यसको प्रमुख कारण खोजी गर्दा तेस्रो देशबाट आयतित हुने सुपारीको लाइन सहज नभएकाले व्यापारिक समूह झापाको सुपारी बगानसम्म नपुगेका हुन् । नेपालमा सुपारी प्रशोधन गर्ने स्तरीय प्रशोधन केन्द्र नहुनु, भएका सुपारी प्रशोधन केन्द्र पनि तेस्रो देशको सुपारी नेपाली बनाउने र रातारात करोडौं कमाउने कालो व्यापारिक केन्द्र बन्दा बास्तविक नेपाली उत्पादन सुपारीले मार खप्नु परिरहेको सम्बद्ध किसानको भनाइ छ ।
तेस्रो देशबाट आयातित हुने सुपारी नेपाली सुपारी जस्तो गुणस्तरीय नभएका कारण नेपाली सुपारीमा मिसाएर भारततिर पठाउन थालेपछि भारत सरकारले गुणस्तरको प्रश्न उठाउँदै नेपाली सुपारी आयातमा कडाइ गरेको थियो । तर बैध बाटोबाट नेपाली सुपारी भारत जाने अवस्था निर्माण गर्न सरकारले काम थालेको जनाइरहँदा यस वर्ष झापामा सुपारी किन्ने ग्राहक नै आएका छैनन् ।
सुपारी बेचेर धान किन्ने वा घर व्यवहार चलाउने कृषकलाई सुपारी नबिकेपछि जीविकोपार्जनको चिन्ता थपिएको छ भने व्यवसायिक सुपारी खेती गर्ने कृषकहरू व्यवसाय डुब्ने चिन्तामा परेका छन् ।
संसद्को विषयगत समितिले सुपारीको डीएनए (बंशाणु) परीक्षण गरेर मात्र निर्यात गर्ने अनुमति दिन सरकारलाई निर्देशन दिएपछि पूर्वी नेपालको प्रमुख नगदे बाली सुपारीको व्यापार अन्योलमा परेको छ । झापा लगायतका विभिन्न जिल्लामा सुपारीको वर्षौदेखि उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारीको मुख्य व्यपार भारत रहेका कारण निर्यात हुने आशमा कृषक भए पनि सुपारी बगानमै खेरजाने अवस्था आएको छ ।
सुपारी उत्पादक किसान संघका अनुसार नेपालमा लगभग १५ हजार मेट्रिक टन सुपारी वर्षेनी उत्पादन हुन्छ । जसको बजार मूल्य आठ अर्बदेखि १२ अर्बसम्म हुन्छ । सरकारी नीतिगत अस्पष्टताका कारण झापादेखि उदयपुरसम्म सुपारी खेतीमा आवद्ध एक लाख किसानको व्यवसाय चौपट हुने अवस्था आएको कृषक लोकबहादुर कुँवरको भनाइ छ । उनका अनुसार संसद्को विषयगत समितिले डीएनए जाँच गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु भनेर अर्थ र वाणिज्य मंत्रालयलाई निर्देशन दिएको पनि दुई वर्ष भइसक्यो तर डिएनए टेष्ट कहाँ हुने हो केही अत्तोपत्तो छैन ।
वि.सं. २०७९ साउन १३ गते राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन विकास समितिले डीएनए परीक्षणपछि मात्र सुपारी निर्यात अनुमति प्रदान गर्न वाणिज्य मन्त्रालय र अर्थमन्त्रालयमा पत्राचार गरेको थियो । डीएनए परीक्षण नै गर्ने भनिए पनि सरकारले अहिलेसम्म सुपारीको डीएनए जाँच हुने प्रयोगशाला स्थापना गरेको छैन । जसको असर सुपारी किसानले व्यहोर्नु परिरहेको छ ।
नेपालमा उत्पादित सुपारी निर्यातका लागि भारत सरकारले कोटा तोक्ने गरेको छ । इन्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डीएनए गरेर देशभित्रै उत्पादित प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो । तर, समाधानको उपाय ननिस्कदा यही डीएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसानहरू बताउँछन् । बिगत वर्षदेखि नै किसानले फलाएको सुपारीको सहज निर्यात हुन सकेको छैन । अघिल्लो वर्ष पनि झापाका सुपारी किसानले निर्यात नीति नबनेको बाहनामा निकै कम मुल्यमै सुपारी बेच्नु परेको थियो भने यो वर्ष त बिक्री हुने आधार नै नदेखिएको किसानको दुखेसो छ ।
उत्तरी झापाको बाहुनडाँगीमा जंगली हात्तीले धान, मकै लगायतका अन्न बाली खाएर नोक्सानी गर्न थालेपछि किसानहरू जीविकोपार्जनका लागि सुपारी, चिया लगायतका नगदे बालीको उत्पादनतर्फ आकर्षित भएको छन् । तर सुपारी समेत नबिक्ने समस्या आएपछि किसानहरूको विचल्ली भएको दुखेसो छ । हरेक वर्ष असोजदेखि नै व्यापारीहरू सुपारीको बगान खरिद गर्न गाउँ डुल्ने गर्थे । यसपाली सुपारी उत्पादन हुने मुख्य स्थानहरु बाहुनडाँगी, शनिश्चरे र बुधवारे लगायत झापाका अधिकाम्स क्षेत्रका सुपारी बगान सुनसान छन् । यसवर्ष पौषको दोस्रो साता बित्न लाग्दा समेत व्यापारीहरू सुपारी किन्न नआउँदा किसान चिन्तित बनेका छन् ।
कहिले नेपाल सरकारको उल्झन त कहिले भारत सरकारको हस्तक्षेपले नगदेबली सुपारीको व्यपारमा समस्या बढ्न थालेपछि कृषक भने थप पीडामा परेका छन् । नेपाली उत्पादनलाई सहज बनाएर भारत निर्यातमा लाग्नु पर्ने सरकारको अलमलले गर्दा झापामा उत्पादिक सुपारी यस वर्ष बिक्ने हो कि होइन थप चिन्ता पाल्न विवस छन् सुपारी किसान । सरकारी पक्ष भने सुपारी किसानका समस्यामा सम्वेदनशील नभएको किसानहरूको आरोप छ ।