इन्द्रप्रसाद ओल

‘देश’-काे पूर्ण परिभाषाकाे सम्पूर्ण अङ्गमा एउटा अनिवार्य, महत्वपूर्ण र अपरिहार्य अवयव भनेकाे ‘नागरिक’ हाे । नागरिक जीवन आफू र आफ्नाे देशप्रति लापर्वाह, उदासिन, निराश र उद्विग्न बन्नु अन्ततः देशकाे भविष्य स्वयम् भाराक्रान्त, कमजाेर र खतरायुक्त बन्नु हाे । अतः अनेक प्रकारले अहिले हाम्राे देशकाे देख-अदेख धरातलीय सामाजिक अभ्यासकाे स्थिति यस्तै छ। एकातिर कुल नागरिक संख्याकाे घटीमा एक-तृतियांश ऊर्जावान वयस्क, युवा-युवती तथा कलिला किशाेर-किशाेरी समेत विदेशी भूमिमा छन् । खेत-बारी , घर, गाेठ आदिमै निर्विकल्परूपमा निर्भर जनसंख्याकाे ठूलाे हिस्साका किसान-श्रमजीवीहरूकाे समेत विभिन्न कारणले उपायहीन बनी विदेश पलायनकाे बाटाे राेजाइले देशकाे ऊर्बर माटाे बाँझिँदै गएकाे अवस्था छ र क्रमिकरूपमा बढ्दाे विदेशी पाइतालाकाे दच्काे र विदेशी उत्पादनकाे घाेषित-अघाेषित थिचाेमिचाेले याे भूमि अझ रित्तिँदै र निजी उत्पादकत्व खेर फाल्दै अप्राकृतिक बञ्जार बन्दै गएकाे छ । त्यसरी नै, अर्कातिर देशमा रहेका कलकलाउँदा किशाेर-किशाेरीदेखि वयस्कसम्म लागू पदार्थका घातक व्यसनमा फँस्तै गएका छन् । यी दुई पक्ष पनि कुनै न कुनै किसिमले अन्तर-सम्बन्धित छन् भनेर बुझिन थालिएकाे छ । याे स्थितिमा खासगरी, विनाशकारी कुलत-संक्रमणकाे राेकथाम-नियन्त्रण कसले गर्ने भन्ने सवालमा राज्यले सैद्धान्तिकरूपमा सचेत वा सजग भइरहेकाे आभास विगत लगभग छ दशक(२०२३ साल)-देखि दिँदै आइरहेकाे पाइन्छ , तर व्यावहारिक अभ्यासमा वा कार्यान्वयनमा विल्कुलै असफल हुँदै आएकाे छ । राज्यबाट वि.सं. २०२३ देखि क्रमशः ०३१, ०३३, ०३५, ०६३, ०६६, ०६८, ०७०, ०७५ मा तीनवटा, ०७६, ०७९ साल हुँदै २०८० सम्मकाे ५८ वर्षमा लागु पदार्थ, लागु ओैषधादिका जीवनघाती प्रयाेगकाे दुर्व्यसन र ओसार-पसार काराेबारकाे नियन्त्रण र कारवाही सम्बन्धी एक दर्जनबढी ऐन-कानून, निर्देशिका, मार्गदर्शन आदि रचना हुँदै किताब-पुस्तिकाहरूका निर्जीव पाना र माैन अक्षरहरूमा थन्किँदै आएका छन् । ती सबैका दफा-दफा विवरण, ठूलाे प्रयत्न र परिश्रमले, मेराे पछिल्लाे पुस्तकाकार कृति’दिव्य दृष्टि’-मा अक्षरशः प्रस्तुत गरिएकाे छ । ती ऐन-कानून र निर्देशिकाहरू अभ्यासपटमा पूर्णतः निष्प्रभावी रहेका छन् । यही क्रम रहिरह्याे भने याे देश बूढा नागरिकहरूकाे ‘बृद्धाश्रम’ मात्रमा सीमित हुनजाने निश्चितप्रायः छ भने नयाँ पिँढीमा डढेलाेकाे रूपमा सल्किरहेकाे दुर्व्यसनकाे आगाेले समेत ‘भूसकाे आगाे’ बनेर भित्रभित्रै डढाइरहेकाे छ । याे डरलाग्दाे महामारीलाई समयमै नियन्त्रण गरिएन भने यसले देशलाई साँच्चै ‘जिउँदा लासहरूकाे देश’ बनाउने पनि निश्चित नै छ । याे कति दुःखद भविष्यकाे संकेत हाे ? – देशका प्रति सम्वेदनशील बनेर समय थला नपर्दै साेचाैं । त्यसाे भएकाले, कसै न कसैले त याे विनाशकारी महामारीकाे बढ्दाे प्रकाेप विरुद्ध कम्मर कसेर अगुवाइ गर्नै पर्दछ भन्ने व्यक्तिगत सदाशयबाट अभिप्रेरित भएर मैले विगत २१ वर्षदेखि अविच्छिन्नरूपमा याे अभियान चलाइआएकाे हुँ । ‘दिव्य दृष्टि’ पुस्तक त्यही अभियानद्वारा निस्पन्न प्रथम दस्तावेज हाे भन्ने म यसै पुस्तकका अक्षर र शब्दका आधारमा घाेषणा गर्दछु । याे अवधारणा राखिरहँदा र ‘दिव्य दृष्टि’ मेराे पाँचाैं पुस्ताकार कृति हुँदाहुँदै पनि यसलाई, याे विद्रुप समस्या विरुद्धकाे मेराे निष्ठापूर्ण अभियानकाे वर्तमान सशक्तीकरण-चरणकाे, पहिलाे पाइलाे मानेकाे छु । पुस्तकाकार कृतिकाे गन्ती यस्ताे विषयगत लेखनका सन्दर्भमा महत्वपूर्ण हुँदैन भन्ने मेराे बुझाइ छ । किनभने, मैले लागु पदार्थ विरुद्धकाे मेराे २१ वर्षे अभियानकालमा याे पुस्तकका पन्ना तथ्यपरक बनाउन सबभन्दा बढी समय र परिश्रम गरेकाे छु । सायद त्यसैकारण अक्षरखेतीका चिन्हित झापाली कलमी हलिहरूले याे पुस्तकलाई ‘सबैले पढ्नैपर्ने पुस्तक’ भनेर किटानका साथ भनेका हुनन् । यी अक्षरहरूमा मेराे किञ्चित आत्मश्लाघा छैन ।
वस्तुतः याे पुस्तक गत असाेज १९ गते नै लाेकार्पित भइसकेकाे हाे । यद्यपि राज्यका जिम्मेवार सबै विभागीय अड्डा र तिनका अख्तियारशाली प्रमुखहरू सदरमुकाममा रहने हुँदा उहाँहरूका नजिकै आएर यस पुस्तकमा मेरा अध्ययन – अनुभवमा सन्निहित आवाजलाई स्वर दिन आवश्यक ठानियाे र पुनः दाेस्राे पटक जिल्ला सदरमुकाम चन्द्रगढीमा पनि लाेकार्पण गरियाे । यस्ताे किन ठान्नु परेकाे हाे त ? – भन्ने सवालकाे विस्तृत जवाफ पनि अभियानका आगामी कार्य-प्रकरणहरूमा क्रमशः व्यवहार र अभ्यासबाट स्पष्ट पारिने साेच पनि बनाइएकाे छ । अन्ततः एउटा पुस्तककाे लेखकले कुनै विकराल समस्याका नालीबेली-सूत्रहरू र तिनकाे समाधानका उपायहरू दिने मात्र हाे । अथवा, क्षमता र संकलित प्रमाणहरूले भ्याएसम्म उजागर गरिदिने नै मात्र हाे – ऊ आफैले समाधानकाे हक राख्तैन, क्षमताले भ्याउन सम्भव पनि छैन । राज्यलाई सूचना दिने विश्वस्त र आधिकारिक अख्तियारबाहक ( formal reporting authority of the state ) निकायरूपी सराेकारीहरूकै आँगन-कराँसामा उभिएर, यसकारण पनि, याे पुस्तककाे अर्काे पटक लाेकार्पण गर्न ‘सदरमुकाम क्षेत्र’ छान्नुपर्ने आवश्यकता अनुभूत गरिएकाे हाे । यसलाई सरकारी समाजका प्रतिकाे हाम्राे सहयाेगी भावनाकाे उत्सर्जन मानिदिनु हुन र साे बमाेजिम व्यावहारिक अभ्यासपटमै अवतरण गराइदिन तथा याे अभियानका प्रति सहधर्मीकाे कर्त्तव्य निर्वाह गर्ने कार्यमा काम-कर्मले नै अवतरित हुन सजिलाे हाेस् भन्ने याे अभियान संयाेजक संस्थाकाे निश्छल आग्रह पनि थियाे ।
अर्थात् , विगत २१ वर्षदेखि अविश्रान्त अभियानरत याे चेतना नेपाललाई हालसम्म थपिँदै आएका सहृदयी सद्भाव, यस अभियान प्रतिकाे बढ्दाे चासाे र अभिरुचि एवम् साथ-संगति अत्यन्तै उत्साहप्रद छ । यसबाट याे अभियान शतशः प्रेरित छ – क्रमशः हामी हाम्राे याे निष्काम अभियानमा समृद्ध बन्दै गएकाे अनुभूति गर्दै गइरहेका छाैं ।
लागु पदार्थ – लागु ओैषधकाे कुलतले हाम्राे भविष्यका जिम्मेवार नागरिकहरूलाई पथभ्रष्ट र जर्जर तुल्याई याे सर्वभावेन स्वच्छ र शीतल समीरले इतिहासकाे अनादिकालदेखि नित्य अभिषिक्त भूमिलाई रित्ताे, उच्चाटलाग्दाे, रुखाे, लथालिङ्ग र भताभुङ्ग पार्ने कलुषित अभीप्सा राख्ने पाखण्डी, चाहे ती जाेसुकै हुन् , ती हाम्रा परम शत्रु हुन् र तिनलाई दुरुत्साहित गरी त्यस दुष्कर्मबाट लगार्नै पर्दछ । तिनीहरू विरुद्ध हाम्राे याे अभियान एउटा युद्ध हाे । हामी यस देशकाे हरेक कित्ता-कान्लाका नागरिकले परार्थकाे सद्भाव राखेर लागु पदार्थकाे प्रयाेग र यस आत्मघातक-चरित्रघातक-समाजघातक वस्तुकाे ओसारपसार-व्यापारकाे पाखण्डी धन्धा र त्यसका उपभाेक्ता बन्नेहरूका विरुद्धकाे लडाइँमा सबैले एउटै आवाजमा एकताबद्ध भएर आफूलाई याेद्धा करार गरून् भन्ने हाम्राे हार्दिक आग्रह हाे । त्यस सन्दर्भमा हामीले महाभारत युद्धका सर्बाेपरि याेद्धाकाे – “एउटा सक्कली याेद्धालाई जिउ-ज्यानकाे हाेइन, पराजयकाे डर हुन्छ”-भन्ने महावाणीलाई आत्मसात गर्ने बलियाे अठाेट लियाैं भने याे युद्ध सहजै जितिन्छ । यद्यपि, लागु पदार्थका कालाे व्यापारबाट अकुत धन बटुलिरहेका साहूहरू कमजाेर छैनन्, तिनबाट कमिसन हसुरेर राज्यलाई थाङ्नामा सुताइरहेका राज्यकै दाना-पानी भाेगी स्वार्थन्ध भ्रष्टहरूहरू पनि याे समस्याकाे बिस्तृतीकरणमा मात्र हाेइन संक्रमण सक्रिय बनाउनमा समेत कम मद्दतगार छैनन् भन्ने अनेक घटनाका सन्दर्भमा हामीले जानकारी पाएका छाैं । माथि उल्लेख भएका, राज्यद्वारा प्रतिपादित उत्तिका ऐन-कानून, नीति-निर्देशिकादि छल्न स्थलगत रूपमै चल्ने छलछामकैे कतिपय कारण पनि यस विषयमा राज्यले दाेष भाेग्न परेकाे कुरालाई पनि पटाक्षेप गर्न मिल्दैन । हरेक स्थानीय प्रशासनका धरातलीय कर्मी (ground worker)-हरूमध्ये कतिपय यस्ता गम्भीर विषयमा गैरजिम्मेवार र साना-ठूला आर्थिक लाभका लालची भइदिँदा हुने अल्मलबाट नै पनि ‘राज्य’ आलाेच्य बनेका घटना पनि ढाकछाेप गरिनु न्याय हुँदैन भन्ने समेत हामीमा अनुभूत छ । यसका अतिरिक्त, परिवार-परिवारवृत्त केन्द्रित मनाेविज्ञान त सुधार र विकृतिका मूलतत्व मानिनु पनि गलत हुँदैन । परिवारका अभिभावकहरूले मात्र सुधारमुखी कठाेरता अवलम्बन गरिदिँदै आफ्ना अनुजहरूलाई यस कलङ्की दुव्यसनबाट जाेगाइदिने हाे भने याे समस्याकाे समाधानमा ठूलाे मद्दत पुग्नेछ । हाम्रा कतिपय अभिभावकहरू आफ्ना सन्तानका बाह्य गतिविधि बारेका सुन्न नचाहने पनि हामीले याे दुर्व्यसन बिराेधी अभियानकामा भेटेका छाैं ।यसाे गर्नु भनेकाे मायाले सुमर्ने निहुँमा तिनका भविष्यका पति अन्ध-निश्चिन्त बनी काेतर्नु हाे । अर्थात् , यी यावत विषयलाई हृदयङ्गम गरेरै पनि चेतना नेपालद्वारा मेराे याे कृति ‘दिव्य दृष्टि’-काे सदरमुकाममा पुनः गत मङ्सिर २९ गते दाेस्राे पटक लाेकार्पण गरिएकाे हाे ।
लागु पदार्थहरूकाे व्यसनद्वारा देशकाे सामाजिक,आर्थिक, सांस्कृतिक संरचनाहरू मात्र हाेइन जातीय परम्परागत परिचायक निधिहरू नै पनि भत्किएर असरल्ल बन्ने सम्भावना समेत कमजाेर छैन । याे विश्वव्यापीरूपमा प्रकीर्ण विग्रहकारी, विखण्डनकारी, चरम अनुत्पादक र अनपेक्षित समस्याबाट बन्दुक र बारुदकाे युद्धभन्दा प्रभावी विध्वंशहरू निम्तिँदै गएका छन् । यसबाट धनी र सम्पन्न राष्ट्रहरूकाे जिजीबिषा त जाेगिइरहला नै , तर हाम्राे जस्ताे विपन्न, निर्बल र छिमेकी-विदेशी भूगाेलबन्दी राष्ट्रलाई आफ्नाे माैलिक अस्तित्वमा जीवन्त रहन साह्रै मुश्किल पर्ने अवस्था याे अभियानकाल-सान्दर्भिक गतिविधि सञ्चालनक्रममा हामीले देखेका छाैं । हाम्राे देशकाे भूगाेलका प्रति आत्मनिवेदित हरेक नागरिकले आफ्नाे निष्कलंक र समृद्ध अस्तित्वकाे दीर्घायु निम्ति पारस्परिक भावनात्मक र व्यावहारिक रूपमा साेच्नुपर्ने आजकाे उपल्लाे देशभक्तिकाे भाव हाे र त्यसै साेच-अवधरणाबाट याे अभियान उत्सर्जित भएकाे हाे । हामी सबैकाे प्रयत्नलाई एउटै व्यानर अन्तर्गत एकत्रित र सबलीकरण गर्न सकियाे भने याे समाजघाती- राष्ट्रघाती भष्माशुररूपी समस्याकाे समाधान अवश्य हुनेछ । यस अभियानकाे अन्तर्कथा-अन्तर भावधारा निःशंक एवम् गम्भीरतापूर्वक बुझिदिन म स्थानीय प्रशासन, सुरक्षा निकायहरू, विभिन्न तप्काका नागरिक समाज लगायत नीति निर्माता तीनै तहका सरकारहरू, सूचनासेवा-साहित्यसेवा जस्ता समाजका सचेतक सेवामा प्रवृत्त बाैद्धिकहरू तथा अनभिज्ञ अवस्थाका किशाेर-किशाेरी तथा संगतका कारण याे व्यसनमा फँसेका युवा-युवतीमा सुधारकाे भावना जाग्रत गराउन अहम् भूमिका रहने अभिभावकवर्गमा समेत हाम्राे अभियान संस्था ‘चेतना नेपाल’ विशेष अपेक्षा राख्तछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार