अर्जुन कार्की –
मेचीनगर । व्यवसायिक रुपमा पर्यटन प्रर्वदर्नको विकासमा फड्को मार्दै गरेको मेचीनगरमा निकट भविश्यमा अर्को क्यासिनोसहितको पाँच तारे होटल सञ्चालनमा आउने भएको छ ।
मेचीनगर–७ स्थित ईटाभट्टा चोकदेखि एकसय मिटर पश्चिम राजमार्गसँग टाँसिएको क्यासिनोसहितको ‘अश्वत्थ’ नामकरण गरिएको होटल सञ्चालनमा आउने भएको हो ।
‘अश्वत्थ’ होटलका सञ्चालक प्रज्वल घिमिरेले नयाँ वर्ष सन २०२५ को पहिलो सातादेखि सञ्चालन हुने जानकारी दिए ।
१३० करोड लगानीमा जनवरीदेखि सञ्चालन हुन लागेको फाइव स्टार होटलमा ८४ वटा आकर्षक डीलक्स र स्वीट रुमहरु रहेको उनले बताए । पर डे १५ हजारदेखि २५ हजारसम्मका आकर्षक रुमहरु रहेका छन् ।
उनका अनुसार २ विगाहा क्षेत्रफलमा रहेको होटलमा क्यासिनो, स्वमीङ पुल, जाकुजी, स्पार्क, दुईवटा व्यालेङकेट हल, योग शिविर, व्यामशाला, खेल सामाग्री लगायतको सुविधाहरु रहेका छन् ।
साकाहारी र मासांहारीसहितको भारतीय, चाइनिज र नेपाली परिकारहरु पाइने होटलमा विदेशी पर्यटकहरुलाई नेपालका आकर्षक मठमन्दिर र पर्यटन क्षेत्र घुम्नका लागि माउन्टेन फ्लाइटको पेकेज समेत गरिने सञ्चालक घिमिरेले बताए ।
पर्यटनको हव बन्दै गइरहेको मेचीनगरमा पछिल्लो समय विदेशी पाहुनाहरुको भिड निक्कै बढ्दै गइरहेको छ ।
पूर्वको नाका काँकरभिट्टाको एशियन हाइवे सीमाबाट ३० किलोमिटरमा भारतको बागडुग्रा एयरपोर्ट तथा २१ किलोमिटरमा भद्रपुर एयरपोर्टका कारण विदेशी पर्यटकहरुलाई नेपाल आउन जान सहज भएको छ ।
त्यसो त मेचीनगरमा नै चार वर्षअघि सञ्चालनमा आएको होटल मेची क्राउन पूर्वको पर्यटन विकासमा कोसेढुंगा सावित भएको छ ।
यसैगरी, झापाको बिर्तामोडमा क्यासिनोसहितको पाँचतारे किङ्गसवेरी होटल, मेचीनगरको काँकरभिट्टामा २ वटा मिनी क्यासिनो र क्यासिनासहितको मेची क्राउन सञ्चालनमा छ ।
यी क्यासिनोहरुमा धेरै जसो छिमेकी मुलुक भारतका पर्यटकहरु आउने गर्छन् ।
त्यस्तै भुटान र बंगलादेशबाट पनि पर्यटकहरु क्यासिनो खेल्न र घुम्न आउने गरेका छन् ।
- डेस्टिनेशन म्यारिजको प्रभाव
सञ्चालक घिमिरेले डेस्टिनेशन म्यारिज (टाडा गएर विवाह गर्ने) को कारण पाँचतारे होटलको व्यवसाय फस्टाएको दावी गरे ।
उनका अनुसार भारतका धनाड्यहरु प्रायः नेपालका ठुला–ठुला होटल बुक गरेर यतै विहे र पार्टी गर्ने चलन बढेको छ ।
‘भारतका करोडपतिहरुले आफ्ना छोरा–छोरीहरुको विहे घर र पार्टी प्यालेसमा नगरेर नेपालका पाँचतारे होटल बुक गर्छन्’, घिमिरेले भने–‘टाढा लगेर विहे गर्दा र पार्टी दिँदा बेहुला–बेहुली, जन्ती तथा आफन्त सबै ल्याउने होटलमा नै भोज गर्ने चलन बढेको छ । यसो गर्दा नेपालका होटलहरुको व्यवसाय फस्टाउँने छ ।’