बिर्तामोड । नेकपा एमाले झापाको स्थानीय विकास विभाग कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । कृषि क्षेत्रको विकासका लागि छलफल तथा अन्तरक्रिया गरेको हो ।
जिल्लाका जनप्रतिनिधिहरु, किसान र पार्टीका नेताहरुबीच कृषि क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने बारे छलफल तथा अन्तरक्रिया गरिएको विभागका संयोजक शिव ढुंगेलले जानकारी दिए ।
अन्तरक्रियामा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष बिमल निरौला र कृषि विज्ञ दुर्गा थापाले सहजीकरण गरेका थिए । किसान महासंघ झापाका अध्यक्ष निरौलाले स्थानीय तहबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो राखे । उनले जिल्लाको संभावनाबारे अवगत गराउदै स्थानीय तहहरुले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
कृषिमा आधुनिकिकरणसँगै उन्नत जातको विउको प्रवन्ध गरे मात्रै विकास संभव भएको प्रमुख सहजकर्ता कृषि विज्ञ थापाले बताए । उनले विश्वको उदाहरण दिदैं नेपालमा पनि कृषि क्षेत्रको विकास संभव भएको बताएका छन् । उनले स्थानीय तहले गर्नुपर्ने काम र पार्टीको भूमिकाको बारेमा सहजीकरण गरेका थिए ।
किसानहरुले भाग्दै आएका समस्या र समाधानको विषयमा छलफल गरिएको थियो । बिर्तामोडस्थित नेकपा एमाले झापाको कार्यालयमा सोमवार भएको कार्यक्रममा कृषि क्षेत्रका संभावनाहरुको विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय तहहरुले गरेका काम र कठिनाईका बारेमा चर्चा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको सन्दर्भमा छलफल गरिएको थियो ।
जिल्लाका स्थानीय तहहरुले गरेका काम र गर्न नसकेका कामहरु पार्टी नेतृत्वलाई जानकारी गराइएको थियो । किसान मजदुरको पक्षमा गरिएका कामहरुका बारेमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले धारणा रोखका थिए ।
स्थानीय तहहरुबाट किसानहरु सन्तुष्ट हुन नसकेको भन्दै योजनावद्ध रुपमा काम गरिनुपर्ने नेताहरुको धारणा थियो । नेपाली कृषि क्षेत्रको विकासमा भारतको हस्तक्षेप भएको कारण किसानले सोचे अनुरुप काम गर्न नसकेको चर्चा भएको थियो । झापालाई तेलहन,दलहनमा आत्मनिर्भर बनाउन सकिने भन्दै किसानका नेताहरुले सो अनुरुप स्थानीय तहको सहयोग जरुरी रहेको बताएका छन् । स्थानीय तहले कृषि क्षेत्रमा बजेट व्यवस्था गरेर काम गरिरहे पनि व्यवस्थित योजना नहुँदा परिणाम निकाल्न कठिन भएको किसान अगुवाहरुको भनाई थियो ।किसानमा गरिने लगानी देखिने गरी हुनुपर्ने भन्दै कृषक नेताहरुले योजनावद्ध लगानी हुनुपर्ने अधिकांशको धारणा थियो । किसानले उत्पादन गर्ने वस्तुको बजार, उन्नत वीउविजन, मलको प्रवन्ध र उचित मुल्य पाउन नसक्दा किसानहरु समस्यामा परेको बताइएको छ ।
किसानलाई ससानो सहयोग गर्दा पनि ठुलो परिणाम दिन सकिने भन्दै स्थानीय तहहरुलाई कृषि क्षेत्रको विकासमा खाका तयार गरेर काम गर्न सूझाव दिइएको छ । उत्पादनमा राहत दिदैं किसानलाई सामाजिक सुरक्षाको व्यवस्था मिलाइनुपर्ने कृषकहरुको भनाई थियो । किसानलाई उत्पादनमा जलवायु परिवर्तनको असरले समेत क्षति हुने भन्दै कृषि वीमामा ध्यान दिन आग्रह गरिएको छ ।
कार्यक्रममा मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले खरिद ऐनका कारण धेरै नै समस्या भोग्नुपर्ने विचार व्यक्त गरेका थिए । किसानलाई दिनुपर्ने वीउ खरिद गर्न पनि कानुनी अड्चन हुने भन्दैे विभिन्न बाधा अड्चनका कारण काम गर्न समस्या भएको बताए । स्थानीय उत्पादनलाई बजारसम्म पुराउन पनि समस्या हुने गरेको उनको धारणा थियो ।
एमाले नेता देवकुमार राईले कृषि क्षेत्रको विकास नहुनुमा भारतको ठुलो हस्तक्षेप भएको बताए । उनले भारतीय हस्तक्षेपका कारण नेपालमा किसानको प्रगति नभएको उल्लेख गरे ।
कचजकवलका उपाध्यक्ष नवराज भट्टराईले तीन तहको सरकारले कृषि क्षेत्रको विकास गर्न रणनीतिक योजना निर्माण गर्नुपर्ने बताए । कृषि क्षेत्रमा अहिले दक्ष जनशक्तिको समेत आवश्यकता भएको बताउँदै उनले कृषिमा काम गर्ने सरकारी संरचनाहरुले स्थानीय तहसँग समन्वय नगरेको धारणा राखे । झापामा रहेको प्रधानमन्त्री आधुनिक कृषि परियोजना के कसरी काम गर्दैछ भन्ने बारे पालिकाहरु बेखवर रहेको उनको भनाई थियो ।
किसानलाई अनुदानमा दिइएको विउ नै खराव पर्ने, उत्पादन नहुने जस्ता समस्याहरु समेत भोग्नु परेको जनप्रतिनिधिहरुले अनुभव सुनाए ।एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले किसान, जनप्रतिनिधि र पार्टीबीचको समन्वयमा रणनीतिक योजना बनाएर कृषि क्षेत्रको विकासमा लाग्ने बताएका छन् । उनले अहिलेको आवश्यकता भनेको कृषिलाई आधुनिकिकरण गर्दै उत्पादन वृद्धि गर्नु रहेको बताए । अध्यक्ष गिरीका अनुसार कृषिमा समृद्ध हासिल गर्ने, भुमिहीनलाई भुमि र आवासविहीनलाई आवासको व्यवस्था गर्दै रोजगारको अवसर प्रदान गर्नु एमालेको दायित्व भएको हो । तत्कालै खाका बनाएर कृषि विकासका काम अघि बढाउने उनको धारणा थियो ।
गौरादहका मेयर छत्रपति सुवेदीले नीति निर्माण गरेरै किसानका समस्या समाधानमा जाने बताए । उनले किसानका कयौं समस्याहरु समाधान गर्न योजना चाहिने भन्दै समस्यासँगै समाधान खोज्न जरुरी रहेको बताए ।
कार्यक्रममका प्रमुख अतिथी नेकपा एमाले झापाका इञ्चार्ज रोमनाथ ओलीले कृषि क्षेत्रको विकासमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । मलविउसँगै प्रविधिमा समेत सहयोग गर्न आवश्यक रहेको ओलीको भनाई थियो । उनले ६ महिनाभित्र कार्यक्रम निर्माण गरेर झापाको समग्र कृषि क्षेत्रको समस्यामा समाधान खोज्न आग्रह गरे । स्थानीय विकास विभागका संयोजक शिव ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव तुलसी कार्कीले गरेका थिए ।