अर्जुन कार्की –

मेचीनगर, १६ पुस । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरुलाई घृणा होइन, प्रेम गर्नु पर्ने बताएका छन् ।

आज नगरपालिका कार्यालयको सभा हलमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण समापन कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

‘अपठेरो जीवन विताइरहेकाहरुसँग सहकार्य गर्ने मौका मिलेको छ’, मेयर बुढाथोकीले–‘गरिवी, अभाव र समाजमा अपहेलित भएर बसेकाहरुलाई घृणा होइन, माया गर्नुपर्छ ।

अहिले राज्यले पनि उहाँहरुलाई खोज्न थालेको छ ।अभियानलाई अझ सशक्क्त बनाएर लान आवश्यक छ ।’

कार्यक्रमको अध्यक्षता गरेकी उपमेयर मीना पोखरेल उप्रेतीले यस्तो शिविर सञ्चालन गर्न चानचुने कुरा नभएको बताइन् । उनका अनुसार अभियान सफल भएको छ ।

उपमेयरमा दुई कार्यकालको अनुभव बटुलीरहेकी उनले लगभग ८ वर्षमा भौतिक पूर्वाधारको विकासमा धन्दा पनि अहिले मानविय सेवामा काम गर्न पाउदा खुशीबोध भएको बताइन् ।

नगरपालिकाले अब चाँडै कार्यविधि संशोधन गरेर चिल्लो बाटो बनाउनु भन्दा यस्ता मानविय सेवाको काममा बजेट राख्ने दावी गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरकारले जनताको घरघरमा गएर यस्तो सेवा दिँदा सबैको सहयोग रहेकोले अभियान सफल भइरहेको बताए ।

उनले हाल शिविर मात्र सम्पन्न भएकोमा अब क्रमशः अन्य कार्यक्रमहरु पनि अघि बढ्ने जानकारी गराए ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।

जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।

पुस १ गतेदेखि वडा नम्बर १ देखि सुरु उक्त शिविर १५ गते वडा नम्बर १५ मा गरेर सम्पन्न भएको थियो ।

शिविरमा सहभागी नहुने छुटेकालाई मंगलबार नगरपालिकामा सेवा दिइएको थियो ।

आजसम्मको शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन् ।

मेचीनगर–१ देखि १५ नम्बर वडाका एक हजार ६२४ जनाले र आज नगरपालिकामा ४३ जनाले उक्त सेवा लिएका थिए ।

स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा एक हजार ४२५ जना अपाङ्गता भएका व्यक्ति सहभागी थिए ।

जसमा बालबालिका २३४, वयस्क ११९१, पुरुष ८३४, महिला ५९१ जना रहेका थिए ।

शिविरमा ८०१ जनालाई परिचय पत्र वितरण गरिएको थियो । जसमा ६७९ वटा नयाँ परिचय पत्र र १२२ वटा परिचय पत्र नविकरण गरिएको थियो ।

शिविरमा वितरण गरिएको १२७३ वटा कार्डमध्ये ३२५ जनालाई रातो कार्ड, ४७२ जनालाई निलो कार्ड, ४०८ जनालाई पहेँलो कार्ड र ६८ जनालाई सेतो कार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल लगायतले अभियान सफल भएको बताएका छन् ।

कार्यक्रम सफल पार्न खटिएका विशेषज्ञ डाक्टरसहितको ५६ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

नगरपालिकाकी महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन साझेदारी संस्था करूणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराईलीले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार