कचनकवल । कचनकवलको दिपज्योति वन क्षेत्रमा आज जङ्गली हात्तीको आक्रमणमा ३५ वर्षकी केलाबत्ती राजवंशीको मृत्यु भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) रोहित मगरको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटियो। खोजतलास गर्दा अपराह्न ४ बजे घाइते अवस्थामा केलाबत्ती फेला परिन्। उनलाई तत्काल उपचारका लागि ओम साई पाथिभरा अस्पताल, भद्रपुर पुर्याइयो। थप उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर लैजाने क्रममा ५:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार, जङ्गली हात्ती अचानक समूहमा पुगेपछि स्थानीय महिलाहरू तितरबितर भएका थिए, तर केलाबत्तीलाई हात्तीले समातेर आक्रमण गरेको थियो।
घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानिय बासिन्दाले बारम्बार हात्तीको आक्रमणको जोखिम महसुस गरिरहेका छन् र उक्त समस्याको समाधान गर्न स्थानीय प्रशासनलाई आग्रह समेत गरेका छन्।