बालगायक सचिन परियारको निधनले सिंगो नेपाली समाजलाई शोकमग्न बनाएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे १३ वर्षीय सचिनको निधन भएको पारिवारिक र अस्पताल स्रोतले पुष्टि गरेको छ।
एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि उनको असामयिक निधन भएको हो। हालसम्म उनको शव अस्पतालमै रहेको जानकारी प्राप्त भएको छ।
सानैदेखि शारीरिक रूपमा कमजोर रहेका सचिन आफ्नो मिठो बोली, अनौठो हाउभाउ, र गायन प्रतिभाका कारण सामाजिक सञ्जालमा भाइरल बनेका थिए। उनले “रातो रबर एक,” “रुमाल खस्छकी,” “के छ र हजुर,” र “बरको छाँयाले” जस्ता गीत गाएर संगीतप्रेमीहरूको मन जितेका थिए। महानायक राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गर्नुका साथै चर्चित हास्य श्रृंखला “मेरी बास्सै”मा पनि उनको अभिनय देख्न सकिन्थ्यो।