भारतको गुजरातस्थित पोरबंदरमा आइतबार भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ। दुर्घटनाग्रस्त हेलिकप्टर कोस्टगार्डको एडभान्स लाइट हेलिकप्टर (एएलएच) ध्रुव थियो, जसले नियमित प्रशिक्षण उडान गरिरहेको बेला प्राविधिक समस्या आएपछि दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ भने हेलिकप्टरबाट हाम फाल्ने अर्का व्यक्तिको पनि ज्यान गएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।
हेलिकप्टर पोरबंदरस्थित कोस्टगार्डको एयर एन्क्लेवमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। स्थानीय प्रहरीद्वारा घटनाको पुष्टि गरिएको छ, तर कोस्टगार्डले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
यो दुई महिनाको अन्तरालमा कोस्टगार्डको हेलिकप्टर दुर्घटना भएको दोस्रो घटना हो। हाल कोस्टगार्डको टोलीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।