कचनकवल, २१ पुष । सीमामा आवतजावत गर्ने तथा स्थानीय जनता लागि खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले कचनकवल गाउँपालिका वडा नं. ४ मा ट्युबवेल निर्माण गरी उद्घाटन गरिएको छ।
कार्यक्रम कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईको उपस्थितिमा संयुक्त रूपमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय वडाध्यक्षहरू तथा सीमाबासी जनताहरुको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले सशस्त्र प्रहरी बल, नेपाललाई प्रदान गरिएका कार्यदिशा अनुसार सीमा सुरक्षामा उच्च प्राथमिकता दिँदै स्थानीय समुदायसँगको सहकार्यलाई अझ बलियो बनाउँदै आएको जानकारी गराउनुभयो। सीमाको सुरक्षा मात्र भौतिक उपायहरूले सम्भव नभएको भन्दै सीमावर्ती जनतासँगको घनिष्ठ सम्बन्ध निर्माण गर्नुपर्ने र स्थानीय समुदायले सीमा सुरक्षामा सक्रिय भूमिका खेल्न सक्ने कुरामा जोड दिनुभयो।
प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशीले सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा मात्र नभई सीमावासी जनताको जीवनस्तर सुधार्न पनि महत्त्वपूर्ण योगदान गरिरहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमका सहभागीहरूले सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित सीमा क्षेत्र विकास कार्यक्रमहरू जस्तै पूर्वाधार विकास, सरसफाई अभियान, सिपमूलक तालिम तथा स्वास्थ्य शिविरहरूले सीमावासी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा मात्र नभई स्थानीय जनताको सेवा र सहकार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ। सीमावासी जनताको सहकार्य र विश्वासले नै सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।