हल्दिबारी, २७ पौष। पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस हल्दिबारी गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ।
गाउँपालिकाको प्रङ्गणमा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै देशको एकता र समृद्धिका लागि प्रेरणा लिनुपर्ने कुरामा जोड दिइएको थियो।
गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा गरेको योगदानबारे चर्चा गरिएको थियो।
कार्यक्रममा अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, हल्दिबारी नेपाली कांग्रेसका कोषाध्यक्ष राजेन्द्र प्रसाद ओली, र हल्दिबारी जेसिसकी अध्यक्ष युनिता दवाडी लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएकाे थियो।
कार्यक्रमका अध्यक्ष लिङ्देनले देश निर्माणका लागि यस्ता कार्यक्रमहरूको महत्व रहेको जिकिर गर्दै आफ्नो संस्कृति र धरातल नबिर्सिन सबैलाई आह्वान गर्नु भएकाे थियो।
अध्यक्ष लिङ्देनले समाज र देशलाई एकतामा बाँध्दै अघि बढ्न आवश्यक रहेको बताए थिए। पृथ्वी जयन्तीको अवसरमा आयोजित यो कार्यक्रमले राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।