हल्दिबारी । भोलि राष्ट्रिय भक्का (भाका) दिवस, झापाको बिर्तामोडमा वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ । भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीन वटा पालिकाले स्थानीय बिदा समेत दिएको छ।
भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो। ती पालिकाहरूमा अति आवश्यक कामबाहेक पालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने सार्वजनिक सूचनामा जनाइएको छ ।
आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाका)लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समिति झापाले भद्रपुर–८ स्थित होटेल डेग्लोमा दोस्रो राष्ट्रिय भक्का दिवस मनाएका छ्न ।
उता राजवंशी समाज विकास समितिले यो वर्ष पनि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आठौं राष्ट्रिय भक्का दिवस मनाउँदैछ । राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको राजवंशी समाज विकास समितिले जनाएको छ ।
पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ। भक्का राजवंशी समुदायको मौलिक परिकार हो। जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ। चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ। कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ।