हल्दिबारी । मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयले उनलाई ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त गरेको हो।
क्याम्पस प्रमुखको नियुक्ति सर्च कमिटीको सिफारिसमा हुने प्रावधानअनुसार, सर्च कमिटीले त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ अनुरूप आचार्यसहित तीनजनाको सिफारिस गरेको थियो। सिफारिसमा निवर्तमान प्रमुख जीवनकुमार पोखरेल र भानुकुमार भट्टराई पनि समावेश थिए।
सर्च कमिटीको सिफारिसअनुसार आचार्यलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको क्याम्पस स्रोतले जनाएको छ। निवर्तमान प्रमुख पोखरेलको कार्यकाल २०८० साल चैत्र २५ मा समाप्त भएको भए पनि नयाँ नेतृत्व नियुक्त नभएसम्म उनले व्यवस्थापकीय जिम्मेवारी निभाउँदै आएका थिए। झन्डै १० महिना थप कार्यकाल सम्हालेपछि अब आचार्यको नेतृत्वमा क्याम्पसले नयाँ दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।