हल्दिबारी गाउँपालिकामा १,००० बिगाह क्षेत्रफलमा तोरी खेती गरिएको छ। गाउँपालिकाका सबै ५ वडामा किसानहरूले यो खेती गरेका हुन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले यसबारे जानकारी दिएका छन्।

गाउँपालिका र वडा कार्यालयको अनुदानमा किसानलाई ४,६९० किलोग्राम तोरीको बिउ वितरण गरिएको थियो। कृषि शाखाका प्रमुख छबिलाल गुरुङका अनुसार, प्रति बिगाह करिब ६५० किलोग्राम तोरी उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ। हल्दिबारीको माटो तोरी खेतीका लागि उपयुक्त रहेको र अहिले किसानका खेतबारीमा तोरी फूलले पहेँलो भएको पनि उनले बताए।

तोरी खेतीप्रतिको आकर्षण
हल्दिबारी ५ का कृषक यादब नेपालका अनुसार, तोरी खेती अन्य बालीभन्दा कम झन्झटिलो छ र यसबाट राम्रो आम्दानी लिन सकिन्छ। गत वर्ष तोरी प्रति मन ६ हजार रुपैयाँमा बिक्री भएको थियो। यसका कारण किसानहरूको तोरी खेतीप्रति आकर्षण बढेको छ।

तेल उत्पादन र बिक्रीवितरण सुरु
तोरी उत्पादनसँगै हल्दिबारीका दुई सहकारी संस्थाले तोरीको तेल उत्पादन, प्रशोधन, र बिक्रीवितरण सुरु गरेका छन्। एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीका अनुसार, तेल व्यवसायिक प्रयोजनका लागि प्रति लिटर ३५० रुपैयाँ र खुद्रा मूल्यमा ३६० रुपैयाँमा बिक्री गरिँदै आएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार