झापामा महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि महत्त्वपूर्ण कदम उठाउँदै झन्डै ५५,००० किशोरी र युवतीलाई ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) खोप लगाउने तयारी गरिएको छ। यो खोप अभियान माघ २२ देखि माघ २९ गतेसम्म सञ्चालन हुनेछ। यस अभियानले जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्राहरूका साथै विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेको छ।

झापा स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीका अनुसार, यो अभियानपछि अर्को वर्षदेखि जिल्लाका सबै स्वास्थ्य चौकीबाट पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा विस्तार गरिनेछ।

जिल्लाभरका ७५५ खोप केन्द्रहरूमा ७८१ स्वास्थ्यकर्मी र १,५१५ स्वयंसेवी परिचालन गरिने योजना रहेको छ। यस अभियानमा ५५७ विद्यालय, १४० स्वास्थ्य संस्था, र ४० बाह्य केन्द्रहरू समावेश गरिनेछ।

नेपालमा हरेक दिन ४ महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। वार्षिक रूपमा २,१६९ नयाँ क्यान्सरका घटनाहरू रिपोर्ट हुने गर्छन्, जसमा ६१% अर्थात् १,३१३ महिलाको मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीहरूको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाठेघरको मुखको क्यान्सर निवारणका लागि एकीकृत रणनीति अपनाउन सिफारिस गरेको छ। यसमा १०–१४ वर्षका किशोरीलाई खोप लगाउने, ३०–३९ वर्षका महिलाको क्यान्सर स्क्रिनिङ गर्ने, र पत्ता लागेका बिरामीको उपचार गर्ने समावेश छ। नेपालले सन् २०३० सम्ममा यी तीन सेवाको कभरेज ९०% पुर्‍याउने लक्ष्य राखेको छ।

यो अभियानमा ‘सेकोलिन’ खोप प्रयोग गरिँदैछ, जसले एचपीभीका १६ र १८ प्रजातिका कारण हुने पाठेघरको मुखको क्यान्सरको जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी ठहरिएको छ।

विश्वमा पाठेघरको मुखको क्यान्सर चौथो प्रमुख क्यान्सरको रूपमा रहेको छ। हरेक वर्ष विश्वभर ५.७ लाख महिलालाई यो क्यान्सर हुन्छ, जसमा ३.११ लाख महिलाको मृत्यु हुने गरेको छ। डब्लुएचओको तथ्यांकअनुसार न्यून र मध्यम आय भएका देशहरूमा यो रोगको जोखिम र मृत्युदर अत्यधिक छ। झापामा सञ्चालन हुने यो अभियानले पाठेघरको मुखको क्यान्सर निवारणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार