भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७ औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
साधारण सभामा आयमेली आन्दोलनका प्रर्वतक इन्द्रबहादुर राईको ९८ औं जन्म जयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचन सम्पन्न गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कवि, कवयत्रीले आ—आफ्ना रचना प्रस्तुत गरेका थिए भने विभिन्न चित्रहरूको भावमा आधारित रहेर कलाकारहरूले अभिनय गर्दै नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष राजु वरालले नयाँपन सहितको नेपाली साहित्य सिर्जनामा लक्षित प्रतिष्ठान निरन्तर लक्ष अनुरूप काम गरिरहेको जानकारी दिए । उपाध्यक्ष विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा झापा लगायतका जिल्लाबाट विभिन्न साहित्यिक स्रष्टाहरू सहभागी भएका थिए ।नेपाली साहित्य जगतमा आयमेली आन्दोलनलाई प्रवर्धन गर्न झापा सदरमुकाममा रहेका युवाहरूले गठन गरेको प्रतिष्ठान निरन्तर साहित्यिक गतिविधि गरिरहेको छ ।
ज्ञानोदयको नेतृत्व क्षमता विकास प्रशिक्षण सम्पन्न
भद्रपुर । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ ले एक दिने नेतृत्व क्षमता विकास प्रशिक्षण सम्पन्न गरेको छ ।नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानअध्यापक बद्री कार्कीले सहजीकरण गरेको प्रशिक्षणमा सहकारीका सदस्यहरूलाई सहकारीमा नेतृत्व क्षमता विकास तालिम दिइएको हो ।
सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा प्रशिक्षक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै विभूति विद्या मन्दिर चन्द्रगढीका प्रिन्सिपल गोविन्द लम्साल लगायतले तालिम फलदायी बन्ने विश्वास व्यक्त गरेका थिए । सहकारीकी उपाध्यक्ष धनकुमारी खरेल लताले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अधिकारीले गरेका थिए ।