झापा । दास्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय मानिएको यस प्रतियोगिताको मुख्य प्रायोजक सौर्य एयरलाइन्स र ओम साई पाथीभरा हस्पिटल रहेका छन्। भद्रपुर नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरेको छ भने झापा जिल्ला खेलकुद विकास समितिले समन्वय गरिरहेको छ। गोल्डकपको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् भने समापन समारोहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।

प्रतियोगिता स्तरीय बनाउन खेल मैदानलाई उत्कृष्ट बनाइएको छ। करिब २० हजार दर्शक अटाउने गरी स्थायी पक्की र अस्थायी बाँसको प्यारापिट निर्माण गरिएको छ।

गोल्डकपमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी, झापा ११ एफसी तथा आयोजक भद्रपुर ब्लेजर्स गरी ७ नेपाली टिम सहभागी छन्। अन्तर्राष्ट्रिय टोलीमा दार्जिलिङ पुलिस एफसी (भारत), ट्रान्सपोर्ट युनाइटेड एफसी (भुटान) र काउर्न बाजार प्रगति संघ (बंगलादेश) गरी ३ विदेशी टिम छन्।

गोल्डकपको विजेताले नगद १३ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख रुपैयाँसहित ट्रफी र मेडल जित्नेछ। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ दिइनेछ। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले २१ हजार रुपैयाँ जित्नेछ।

क्वार्टर फाइनलसम्म टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ र फाइनलका लागि बाँसको प्यारापिट ३०० रुपैयाँ तथा पक्की प्यारापिट ५०० रुपैयाँ तोकिएको छ। विद्यार्थी र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै, प्रत्येक दिन टिकट काट्ने भाग्यशाली दर्शकका लागि आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार