नारायण बस्नेत :  यो वर्ष २०८१ सालको महाशिवरात्री पर्व यही फागुन १४ गते बुधबार पर्न गएको छ। हाम्रो वैदिक संस्कार अनुसार प्राय वर्षमा ३६५ दिन नै कुनै न कुनै चाडपर्वले स्वागत गर्न आएको नै हुन्छ होला, त्यही भएर तिनै चाडपर्वहरूले हामीलाई जीवनका हरेक पलहरू स्वतन्त्र र आनन्दले जीउन सिकाएको छ, साथै आपसी भाईचारा बनाई जोड्नका लागि भएका यस्ता पूर्वीय दर्शनहरूकै कारणले गर्दा होला,

“पश्चिमा संस्कृति मान्नेहरू पनि हाम्रो पूर्वीय दर्शन र संस्कृति प्रति आकर्षित हुँदै गएका छन, पूर्वीय दर्शन तर्फ आकर्षण बढ्न थाल्नु भनेको नै हाम्रो सनातन संसाकार र संस्कृति विश्वका कतिपय देशहरूमा आकर्षण बढ्दै गएकोले हामी गौरवान्वित भएको महसुस गरेकाछौ। हाम्रा हरेक चाडपर्वले जीवन जिउन सिकाउनुका साथै जीवन जिउने विभिन्न कारण उद्देश्य प्राप्ति प्रति हाम्रा चाडपर्व समर्पित रहि आएका छन।

श्री स्वस्थानी माताको व्रत कथा समापन माघ शुक्ल पूर्णिमाको दिन गरिन्छ। त्यस दिन देखि गणना गर्दा चौधौं दिनका दिन फाल्गुण कृष्ण त्रयोदशीका दिन, साथै चन्द्रमासको चौधौं दिन अर्थात नयाँ चन्द्रमा उदाउनु पुर्वको रातलाई शिवरात्री भनिन्छ, यस अर्थमा वर्षमा १२ ओटा शिवरात्री रहने गर्छन तर हरेक वर्षको फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रीको आध्यात्मिक एवम सांस्कृतिक महत्व अतुलनीय रहेको धर्मशास्त्रमा पाउछौं। महाशिवरात्री हिन्दु संस्कार मान्नेहरूको लागि एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण त्रयोदशी यो वर्ष २०८१ फाल्गुण-१४ गते (११:२६:४३) बजे सम्ममात्र छ, त्यसैले उपरोक्त समय पछि चतुर्दशी तिथि लाग्ने हुँदा यसै रात शिवरात्री पर्वको जाग्राम बसेर मनाइन्छ ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्दै भजन गाउँछन् । कतिपय श्रद्धालुहरू रातभर उपवास बस्छन्। शिवलिंगलाई बेलपत्र जल चढाएपछि मात्र आफ्नो उपवास चढाउँछन। महिलाका लागि शिवरात्रीको विशेष महत्व छ। अविवाहित युवतीले शिवको जस्तो शक्ति भएको श्रीमान पाउँ भनि प्रर्थाना गर्छन् साथै असल पति पाउ भनि कामना पनि गर्छन्। विवाहित महिलाले आफ्ना पति र परिवारको मंगल कामना गर्ने गर्छन्।

धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरातमा भगवान शंकर ब्रम्हान्डबाट रुद्रको रुपमा अवतरण भएका थिए। प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै ब्रम्हान्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए। यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्रि पनि भन्ने गरिन्छ।

शिवरात्री सँग केही पौराणिक कथा जोडिएको पनि धर्मशास्त्रले बताएको छ। यसै दिन भगवान शिवको विवाह भएको थियो। तीन लोकमध्येकै अपार सुन्दरी तथा शीलवती गौरालाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिचाशले घेरिएर रहेका हुन्थे ।

“उनको रुप एकदम अजीब थियो। शरीरमा मसानको भस्म, गलामा सर्पको हार, कन्ठमा विष, जटामा जगत-तारिणी पावन गंगा तथा माथमा प्रलयंकार ज्वाला थियो।”

समुद्र मन्थनको पौराणिक कथा अनुसार नीलकन्ठको कथा सबैभन्दा चर्चित छ। कथाको मान्यता के छ भने महाशिवरात्रीको दिन नै समुन्द्र मन्थन गरि रहँदा कालकेतु विष निकालिएको थियो। भगवान शिवले सम्पूर्ण ब्रम्हान्डको रक्षाका लागि स्वयम्ले ति सबै विष पिएका थिए। त्यही क्रममा उनको कन्ठ वा गला नीलो भएको थियो, त्यसैले भगवान शिवलाई नीलकण्ठ पनि भनिन्छ भन्ने हाम्रो शास्त्रमा उल्लेख भएको पाउँछौ।

शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ। भगवान शिवको अति प्रिय रात्रिलाई शिवरात्री भनिन्छ। शिव पुराणको ईशान संहितामा बताएको छ कि, फागुन कृष्ण चतुर्दशीको रात्रिमा आदिदेव भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए। यस्तो महाशिवरात्रीमा भगवान मानवजातिको एकदम निकट आएका थिए। मध्यरात्रिको समय ईश्वर मनुष्यको सबै भन्दा बढी निकट हुन्छ। यही कारण मानिसहरु शिवरात्रीका दिन रातभर जग्राम बस्छन् ।

शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व रहेको छ। शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि हुन्छ। शिवजीको आराधना महामृत्यंजय मन्त्र उचारण बिना अपूर्ण हुने धार्मिक मान्यता रहिआएको छ।

अन्त्यमा संसारमा सबै कुरा शिव तत्वबाट नै आउछ र त्यसै तत्वमा बिलिन हुन्छ। हामीले धन जन अनि तन त्यागेर भन्दा पनि हामी भित्र रहेको अहम त्यागेर साँचो मानिस बन्न सकौं। गाँजा भाँङ्ग धतुरो सेवन गरेर हामी कहिले शिव बन्दैनौ, शिवतत्वको आत्मासात सबैले गरौ। यो शिवरात्रीमा आफूभित्र किलो झै गढिएर बसेको रिस राग द्वेष अनि अहङ्कार त्यागेर मात्र जीवनको साँचो पथ तर्फ अघि बढ्न सकिन्छ। शिवरात्री पर्वको हामी सबैलाई हार्दिक मंङ्गलमय शुभकामना।

 

सेना दिवस

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्री पर्वका दिन नै आफ्नो सङ्गठनको वार्षिक उत्सव कार्यक्रम २०४७ देखि विभिन्न कार्यक्रम गरि सेनाको मुख्यालय भद्रकाली नजिकको टुँडिखेलमा मनाउदै आएको छ, भगवान शिवको महिमा जस्तो सेनामा कार्यरत सबै दर्जाका सेनाले गरिरहेका छन र आगामी दिनमा पनि गर्ने नै छन, त्यही भएर नै होला सेनाले आफ्नो वार्षिक उत्सव कार्यक्रम पनि शिवरात्रीकै दिन मनाउने परम्परालाई कायम राखेको हुनुपर्छ। नेपाली सेना दिवसको उपलक्ष्यमा

संस्थाको तहगत रूपमा कार्यरत सबैमा मंङ्गलमय शुभकामना व्यक्त गर्दछु। एउटा भनाइबाट लेख शुरू गर्न मन लाग्यो,

नेपाली सेनाले चीन विरुद्ध सञ्चालित खम्पा विद्रोहीलाई तहसनहस पारेपछि माओत्सेतुङले भनेका थिए,

“मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।”

राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्धनमा सेनाले खेलेको भूमिकाले यसको पुष्टि गर्छ ।

एसीयाका दुई विशाल सभ्यता बोकेका देश चीन र भारत, बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरुका बिचमा चर्तुभूज आकारमा रहेको नेपाल विविध सभ्यता, संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो। विश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु, नेपालकै सबै भन्दा होचो ठाउँको रूपमा परिचित झापाको कचनकवल सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ ।

पूर्विय सिमा बाट बहने मेची नदी र पश्चिमी सिमाबाट बहने महाकाली नदी यस देशका सिमाहरु हुन्। नेपालको इतिहासको लीखित शुरुवात भने ईशापूर्वको ३५० बर्षअघिबाट भएको पाइन्छ। पौराणीक समयमा गोपाल, महिसपाल, किरांत, लिच्छवी लगायतका बशंले शासन गरेका यस ठाँउमा राज्यहरु माथि आक्रमण गर्ने, कव्जा गर्ने अनि आफ्नो राज्यको सिमा बिस्तार गर्ने जस्ता कुराहरु समय समयमा भइरहन्थे। तथ्याङ्कहरू केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरु भेटिन्छ। उसवेला तीव्बत र भारत दुबैतर्फका राज्यहरुमा आ-आफ्नै सेना खडा भइसकेका थिए। लीच्छवी बशंको शासन ताका सेनाको सस्थागत प्रयास नेपाली भूमिमा शुरु भएको इतिहास भेटिन्छ। राजाहरु मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुबर्मा का प्राचिन शोध र तथ्यहरु लगायत शिलालेखमा यि कुराहरु उल्लेख भएको पाउँछौ। यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरु यिनै राजाका पालाबाट भेटिएकोले यहाँबाट नै सैनिक अभ्यास शुरुवात भएको मानिएको छ ।

नरेन्द्रदेवका पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारभ्मिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरु देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरु लाई बिभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाका हिसाबले संबेदनशील ठाँउमा राख्न थालिएको हो। किल्लाका कमाण्डरलाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुने गर्दथे, उनैको नेतृत्वमा सैनिकहरु खटाइएका हुन्थ्यो। मध्ययूगिन समयताका कर्णाली क्षेत्रका खस् मल्ल बंशहरुलाई काठमाडौका मल्लहरुले सहजै हराएको इतिहास छ, कर्णालीका खस् मल्लहरु संग पनि अत्यन्त मजबुत सैन्य दस्ता थिए तथापि काठमाडौ मल्लहरुको रणनैतिक अनि आधूनिक रणकौशल अघि उनीहरु सहजै हारेका थिए। यससमयमा नेपाल बिभिन्न राजा रजौटाहरुमा बाँढिएको थियो, सेनाहरु

“राजा, यूवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन्”।

काठमाडौ र डोटी लगायतमा भारतिय सेनाको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो, तर जब १७ औं शताव्दीमा यूरोपबाट एसियाका केही देशहरू र अफ्रिकाका केही देशहरूमा उपनीवेषबाद को लर्को शुरु भयो तब बिदेशी सेना अनि घुसपैठी लगायत राज्यहरुमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठूलो चुनौती खडा हुन थाल्यो।

इस्ट इण्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कव्जा गर्दैगर्दा, नेपाल भित्र रहेका राजारजौटाहरुलाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका थिए। नेपाली सेनाको शुरुवात र सस्थागत अभ्यासको लागि यही एकीकरण प्रक्रिया नै एउटा महत्वपूर्ण बिन्दु मानिन्छ। गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वीनारायण शाहले भारतिय भूमिसंग नाता गाँसेर यूद्धका सामान अनि हतियार मगाएको देखिन्छ। नेपाली सेनाको रणकौशलताका शुरुवाती दिनहरु त्यहीवाट शुरु भएको हो ।

ब्रिटीशहरुले गोर्खाली सेनाका बिरुद्धमा बिभिन्न यूद्धहरु लडेका थिए। ब्रिटीशहरुले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो, तर नाम भने गोर्खा नै राख्यो, यसैकारणले पनि नेपाली सेनालाई बिदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट शुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ ।

बि.सं. १८०१ सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्रप्रेम अनि साहस प्रदर्शन गरिरहेको छ। बिश्वयूद्ध देखि गृह यूद्ध सम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ। भुकम्प होस् या कुनै दुर्घटना या अन्य प्राकृतीक प्रकोप होस, सेना आफ्नो ज्यानको बाजी राखेर हरेक ठाँउमा पुगीदिन्छ। बाटोघाटो, खेलमैदान बनाउने देखि परेड, राष्ट्रिय शान देखि बैदेशिक शान्ति सैनिकका रुपमा नेपाली सेना सर्वत्र चर्चामा छ। बि.सं. २०५८ सन् २००२ देखि बि.सं. २०६३ सन् २००७ सम्ममा नेपाली सेनाले आफ्नो सख्याँ लाई ५० हजार बाट बढाएर ९५ हजार बनाएको थियो। माओवादी दस्तावाट पनि सेनामा समायोजन गरिएको छ। सेनामा नियुक्त हुने र बाहिरिने क्रम सदैव रहिरहने हुँदा हाल सम्म करिब एक लाख को हाराहारीमा कार्यरत रहेको अनुमान लाउन सकिन्छ।

हरेक बर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ र यसक्रमको शुरुवात भने बि.सं. १९९१ सन् १९३५ बाट भएको हो भन्ने भएपनि आधिकारिक पुष्टि देखिदैन, त्यसैले विभिन्न आलेखहरूमा हेर्दा कही पनि सही तथ्याङ्क भेटिँदैन र फरक फरक तथ्याङ्क रहेको पाईन्छ। सेना दिवसका दिन काठमाडौं आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलीकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ। आजका दिन टुँडिखेलमा सेनाले बिशेष कार्यक्रम र परेड प्रर्दशन गर्दछ। उच्च आहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिती हुने यस कार्यक्रम हेर्न सर्वसाधरणको भींड लाग्ने गर्दछ। बि.सं. २०४६ चैत २६ मा प्रजातन्त्र पुनर्स्थापना पछि २०४७ सालको महाशिवरात्री पर्वका दिन देखि आफ्नो वार्षिक उत्सव कार्यक्रम निरन्तर मनाई आएको छ भन्ने कुरा सुरक्षा विशेषज्ञ डा. दीपक प्रकास भट्टले लेखेको लेख द्वारा थाहा हुन आएको छ।

प्रथमतः राष्ट्रिय शक्तिका चार मुख्य तत्वमध्ये सेना एउटा महत्त्वपूर्ण तत्व हो भन्ने कुरा सर्वव्यापी रूपमा बुझिएको विषय हो। यो राष्ट्रिय सेना हो र यसको आफ्नै प्रकारको विशिष्ट संवैधानिक दायित्व हुन्छ। नेपाली सेना संवैधानिक र कानुनी दायित्व तथा प्रावधानहरूबाट सञ्चालित हुन्छ।

सेना बैंक ब्यालेन्स तथा निकासयुक्त सरोवरमा रहेको पानीजस्तै हो। परेको बेला खपत हुन्छ। यो नदेखिने तर परेको बेला सबैभन्दा पहिला र महत्त्वपूर्ण रूपमा अगाडि आउने र कार्य गर्ने संगठन हो। यसर्थ यस्तो संवेदनशील र महत्त्वपूर्ण संगठनबारे बोल्नुपूर्व होस र विचार पुर्‍याउनुपर्ने हुन्छ।

अन्त्यमा देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कुटनैतिक कौशलता सप्तरिको तिलाठी देखि सुस्ता अनि लिपुलेक लिम्पियाधुरा हुँदै कालापानी सम्म देखाउन सुकोस। सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शि र अनुशासीत सस्था हो र बनोस। यस संस्थाले गरेको कामको आधारमा कही कसैले आँच पुर्याउन नसकोस्। रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । बर्ष २०८१ को महाशिवरात्री पर्व एवं सेना दिवसको अवसरमा सकल नेपालीलाई हार्दीक मंङ्गलमय शुभकामना।

मेचिनगर:- ८ झापा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार