पाकिस्तानमा एउटा विशाल विमानस्थल छ। जहाँ, न यात्रु छन्, न विमान। सबैभन्दा महँगो लागतमा निर्मित ‘न्यू ग्वादर इन्टरनेसनल एयरपोर्ट’ अझै किन सञ्चालनमा आएन भन्ने विषय रहस्यमय बनको छ। चीन सरकारको २४० मिलियन डलर सहयोगमा बनेको उक्त विमानस्थल गत अक्टोबरमा निर्माण सम्पन्न भएको थियो।

विगत एक दशकको अवधिमा चीनले आफ्नो पश्चिमी सिनजियाङ प्रान्तलाई अरब सागरसँग जोड्ने अर्बौं डलरको परियोजनाको रूपमा बलुचिस्तान र ग्वादरमा लगानी गरेको हो। यसलाई चीन(पाकिस्तान आर्थिक करिडोर अर्थात् सीपीईसी पनि भनिन्छ। अधिकारीहरूले रूपान्तरणकारी परियोजनाको रूपमा यसको प्रशंसा गरेका छन्। तर, ग्वादरमा परिवर्तनको कुनै संकेत देखिन्न। ग्वादर न राष्ट्रिय ग्रिडमा जोडिएको छ, न त्यहाँ पर्याप्त सफा पानी छ। त्यहाँको बिजुली पनि इरानबाट आयात हुन्छ।

चार लाख यात्रु क्षमता भएको विमानस्थल ग्वादरका ९० हजार मानिसलाई प्राथमिकतामा राखेर निर्माण भने गरिएको होइन। ‘यो विमानस्थल पाकिस्तान वा ग्वादरको लागि होइन,’ पाकिस्तान(चीन सम्बन्ध मामिलका विज्ञ अजीम खालिदले भने, ‘यो चीनको लागि हो, ताकि उनीहरूले आफ्ना नागरिकलाई ग्वादर र बलुचिस्तानमा सुरक्षित पहुँच दिन सकून्।’

बलुचिस्तानमा चिनियाँ इन्ट्रेस्ट
बलुचिस्तानमा दशकौंदेखि चलिरहेको विद्रोहलाई सीपीईसीले उत्प्रेरित गरेको छ। राज्यद्वारा शोषित भएको भन्दै पृथकतावादीहरू स्वतन्त्रताका लागि लडिरहेका छन्। उनीहरूले पाकिस्तानी सेना र चिनियाँ कामदार दुवैलाई निशाना साँधिरहेका छन्। पाकिस्तानको जातीय बलुच अल्पसंख्यक सदस्यहरूले सरकारले आफूहरूलाई विभेद गरेको र देशका अन्यत्र स्थानमा उपलब्ध अवसरहरूबाट पनि वञ्चित गराइएको बताउँदै आएका छन्। सरकारले भने उक्त आरोप अस्वीकार गरेको छ।

चिनियाँ लगानीको रक्षा गर्न र विभिन्न असहमतिलाई सम्बोधन गर्न पाकिस्तानले ग्वादरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। यो सहर सुरक्षा जाँच, काँडेतार, सेना, ब्यारिकेड र विभिन्न टावरहरूले भरिएको छ। चिनियाँ कामदारहरू र पाकिस्तानी विशिष्ट व्यक्तिहरूलाई सुरक्षित आवागमनका लागि त्यहाँका सडकहरू जुनसुकै बेला बन्द हुने गरेका छन्। ग्वादरमा आउने पत्रकारहरूको समेत गुप्तचर अधिकारीहरूले निगरानी गर्छन्।

ग्वादरको विकसित घटनाक्रमले त्यहाँका स्थानीय बासिन्दाहरू त्रसित छन्। ‘कुनै समय थियो, हामी कहाँ जाँदैछौं, के गर्दैछौं र हाम्रो नाम के हो भनेर कसैले सोध्दैनथ्यो,’ ७६ वर्षीय खुदा बख्श हाशिमले भने, ‘हामी पहाडी वा ग्रामीण क्षेत्रमा रातभर पिकनिकमा रमाउँथ्यौं।’ तर, अहिले समय फेरिएको छ। आफ्नै स्थानमा आफूलाई प्रमाणित गर्दै हिंड्नुपर्ने बाध्यता स्थानीयलाई छ। ‘हामीलाई हाम्रो पहिचान प्रमाणित गर्न भनिएको छ। हामी को हौं, कहाँबाट आएका हौं’, उनले थपे, ‘हामी यहाँका बासिन्दा हौं। हामीलाई सोध्नेहरूले आफू को हो भनेर पहिचान गर्नुपर्छ।’
कुनै बेला ग्वादर जहाज बिसाउने ठाउँको रूपमा परिचित थियो। यो भूभाग पनि ओमानको कब्जामा थियो। ‘ग्वादर ओमानसँग रहेको बेला मुम्बई जाने यात्रुबाहक जहाजहरू यहाँ बिसाइन्थ्यो,’ स्थानीय हाशिमले भने। त्यतिबेला रोजगारीको प्रयाप्त अवसर भएको र पिउने पानीको पनि समस्या नभएको उनी स्मरण गर्छन्। ‘त्यसबेला कोही भोकै सुत्दैनथे। सजिलै काम पाउँथे,’ उनले भने।

तर खडेरी र अनियन्त्रित अतिक्रमणका कारण ग्वादरको पानी सुकेको छ। काम नभएपछि मानिसहरूमा बेरोजगारीको समस्या देखिएको छ। सरकारले सीपीईसीले करिब दुई हजार स्थानीयलाई रोजगारी सिर्जना गरेको दाबी गरेको छ। तर, को ‘स्थानीय’ भनेर प्रस्ट छैन। किनकि त्यहाँका मानिसहरू चरम बेरोजगारीमा गुज्रिन बाध्य छन्।

ग्वादरको उत्पीडन
ग्वादर निकै आकर्षक ठाउँ हो। त्यहाँको खानापान उत्कृष्ट छ। त्यहाँका स्थानीयहरू सौहार्दपूर्ण वातावरण बनाउन माहिर छन्। सार्वजनिक बिदामा यहाँका समुद्र तटहरू निकै व्यस्त देखिन्छन्। तैपनि, एउटा आम धारणा बनाइएको छ कि, यो स्थान खतरनाक छ, यहाँ भ्रमण गर्न गाह्रो छ। ग्वादरको डोमेस्टिक विमानस्थलबाट अरब सागर तटको अर्को छेउमा अवस्थित पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा एकमात्र व्यावसायिक मार्ग सञ्चालनमा छ। यहाँ हप्तामा तीनपटक मात्र उडान हुन्छ। बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा वा अझै उत्तरमा रहेको पाकिस्तानकै राजधानी इस्लामाबादमा कुनै सिधा उडानहरू छैनन्। एउटा सुन्दर तटीय राजमार्गमा थोरैमात्र सुविधाहरू छन्।

पाँच दशकअघि बलुच विद्रोह सुरु भएदेखि प्रान्तमा हजारौं बेपत्ता पारिएका छन्। शोषण वा उत्पीडनविरुद्ध बोल्ने जोकोहीलाई पनि सशस्त्र समूहहरूसँग सम्बन्ध भएको आशंकामा हिरासतमा लिने गरिएको स्थानीयले बताएका छन्। त्यसैले पनि त्यहाँका मानिस त्रासमा छन्। उनीहरूले जबरजस्ती बेपत्ता पारिएको र यातना पाइरहेको दाबी गरिरहेका छन्। तर, सरकारले यसलाई बेवास्ता गर्दै आएको छ।

त्यसो त हाशिम सीपीईसी सफल होस् भन्ने चाहन्छन्। किनभने त्यो पूरा भयो भने युवाले जागिर पाउने उनको आशा छ। तर त्यस्तो भएको छैन। ‘यदि कसैसँग खानेकुरा छ भने उसले किन गलत बाटो रोज्छ’, उनले भने, ‘मानिसलाई निराश पार्नु राम्रो कुरा होइन।’ पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजका अनुसार सन् २०१४ मा बलुचिस्तानमा आतंकवादी हिंसा घटेको थियो। तर, २०२१ पछि आक्रमणहरू बढे र त्यसपछि क्रमशः बढ्दै गएको छ। नोभेम्बर २०२२ मा पाकिस्तानी तालिबानले सरकारसँगको युद्धविराम अन्त्य गरेपछि आतंकवादी समूहहरू, विशेष गरी प्रतिबन्धित बलुच लिबरेशन आर्मी उत्साहित भएका थिए।

उद्‍घाटनको छैन टुंगो
सुरक्षा चिन्ताका कारण उक्त विमानस्थलको उद्‍घाटन हालसम्म भएको छैन। त्यस क्षेत्रमा रहेको पहाडी इलाका कारण आतंकी हमला हुनसक्ने बताइन्छ। त्यसो त विमानस्थलका सम्बन्धमा पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ र उनका चिनियाँ समकक्षी ली छियाङले भर्चुअल समारोह आयोजना गरेका थिए। तर, औपचारिकरूपमा हालसम्म उद्‍घाटन भने भएको छैन। यसबीचमा त्यस क्षेत्रमा विभिन्न माग राखेर प्रदर्शनहरू भइरहेका छन्। त्यहाँका स्थानीयहरूले मुख्यतः बिजुली र स्वच्छ पानीको माग गर्दै आएका छन्। तर, हालसम्म ती मागहरू पूरा हुन सकेको छैन। ‘स्थानीय श्रम, साधन वा सेवाहरू बिना सीपीईसीबाट कुनै पनि प्रकारको लाभ हुन सक्दैन,’ खालिदले भनेका छन्। ग्वादरमा चिनियाँ पैसा आएसँगै अवरोध सिर्जना सुरू भएको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार