काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए ।
ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा एफसीलाई च्याम्पियन बन्नका लागि वक्ताहरुले अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
मेची रंगशालाबाट प्रदर्शन सुरु गरिएको ट्रफी नेपालको होचो भूभाग कचनकवल, काँकरभिट्टा, इस्ट होराइजन स्कुल धुलाबारी, बर्ने चिया बगान, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुंगिने खरेलले जानकारी दिए ।
धनगढीबाट सुरु गरिएको ट्रफी प्रदर्शन बुटवल, लुम्बिनी, चितवनपछि आज झापामा भएको हो । झापापछि पोखरा, ललितपुर हुँदै काठमाडौँ पुगेर समापन गरिने बताइएको छ ।
चैत १६ गतेबाट सुरु हुने प्रतियोगितामा सातवटा टिमले भाग लिने छन् । प्रतियोगिताको उद्घाटन खेल ललितपुर र काठमाडौँबीचमा हुनेछ । फाइनल खेल बैशाख १३ गते हुनेछ ।

