विर्तामोड । पत्रकारिता क्षेत्रको सवलीकरणका लागि बोलाइएका झापाका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले सञ्चारकर्मीमाथि नै असन्तुष्टि पोखेका छन् ।
बुधवार विर्तामोडमा आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले सञ्चारकर्मीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
कार्यक्रमका अधिकांश वक्ताहरुले पत्रकारहरुले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । पत्रकारहरुले पालिकाले गरेका राम्रा कामलाई समेत ओझेलमा पार्ने गरी स–साना त्रुटिहरुलाई तिलको पहाड बनाउने गरेको भन्दै उनीहरुले गुनासो पोखेका थिए । गुनासोसंगै पत्रकारिता क्षेत्रको सवलीकरणका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने उनीहरुले प्रतिबद्धतासमेत जनाएका छन् ।
लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास र प्रबद्र्धनका लागि आफूहरुले सहयोग गरिरहेको र आगामी दिनमा समेत सहयोग लगर्ने उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।
बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले कार्यविधि बनाएर स्थानीय सञ्चारमाध्यमको सम्बद्र्धन गरिरहेको बताए । नगरपालिकाले सञ्चार क्षेत्रका लागि ५० लाख बजेट बिनियोजन गरी काम गरिरहेको जानकारी दिए । सञ्चारकर्मीहरुले पालिकाहरुले गरेका राम्रा कामलाई समेत प्राथमिकता दिनु पर्ने र कुनै त्रुटि भए त्यसलाई समेत औँल्याइदिन उनले आग्रह गरे ।
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पत्रकारको हक हितका लागि छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले के गरिरहेको छ ? भन्दै प्रश्न गरिन् । समाचार भ्युजका लागि हैन बिषयवस्तुमा आधारित हुनु पर्नेमा जोड दिइन् । संविधानमा नै व्यवस्था नभएको राजतन्त्रको बिषयमा सडकमा मानिसहरु आइरहँदा सञ्चारकर्मीहरुको भूमिका के हुन्छ? भन्दै उनले प्रश्न गरिन् । त्यस्ता संविधान विरोधी गतिविधिको पत्रकारले डटेर खण्डन गर्नुपर्नेमा उनको भनाई छ । पत्रकारहरुको संरक्षण र सवलीकरणमा पालिकाले आवश्यक समन्वय गर्ने प्रतिबद्धतासमेत जनाइन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले सञ्चारमाध्यममा नकारात्मक कुराले बढी स्थान पाउने गरेको भन्दै गुनासो गरे । बुद्धशान्ति गाउँपालिकामा खोला र हात्तीको बढी समस्या भएपनि त्यसतर्फ कसैले कलम नचलाउने तर जनप्रतिनिधिहरुको राजनीतिक भविष्य नै समाप्त गर्ने गरी पत्रकारले समाचार सम्प्रेषण गर्ने गरेको गुनासो गरे । पालिकाले गरेका राम्रा कामलाई स्वाहा पार्नेगरी समाचार बनाउनुको साटो सत्यतथ्य सम्प्रेषण गर्न आग्रह गरे । कुनै बिषयमा समाचार सम्प्रेषण गर्दा पालिकासँग समन्वय गरिदिन उनले आग्रहसमेत गरे ।
त्यस्तै कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले स्थानीय जनप्रतिनिधिहरुलाई छोटे राजाको उपमा दिएर सञ्चारकर्मीहरुले होच्याउने गरेको भन्दै रोष प्रकट गरे । स्थानीय सरकारले थुप्रै राम्रा काम गरेपनि नकारात्मक काममात्र बाहिर आउने गरेको भन्दै पत्रकार आचारसंहितालाई कडाइका साथ लागू गराउन नेपाल पत्रकार महासंघलाई उनले आग्रह गरे ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सञ्चारकर्मीहरुलाई राजनीतिक दलको प्रवक्ता नबन्न आग्रह गरिन् । समाचारमा सत्यतथ्य बुझेर सकारात्मक र नकारात्मक दुवै आउनु पर्नेमा उनले जोड दिइन् ।
सरकारप्रति जनताको नैराश्यता बढाउने कुरामा सञ्चारकर्मीहरुको पनि भूमिका रहेको भन्दै उनले दुखेसो पोखिन् ।
कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले जनप्रतिनिधिहरुलाई केहि सञ्चारकर्मीले एकोहोरो खेदो गर्ने तर आफ्नो आलोचना सम्प्रेषण गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले राष्ट्रियतालाई कमजोर बनाउने समाचार लेख्न नहुनेमा जोड दिए । जुनसुकै दलको राष्ट्रप्रमुख भएपनि नकारात्मक समाचारहरु बाहिर आउँदा त्यसले राष्ट्रियता कमजोर बनाउनुका साथै स्वाधिनतामा समेत खलल पुग्ने बिचार व्यक्त गरे ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलले विचारविहीन पत्रकारिता गर्नुपर्ने औँल्याए । आफ्नो विचार मिल्ने जनप्रतिनिधिलाई देवत्वकरण गर्ने र विचार नमिल्नेलाई खुइल्याउने काम भइरहेको भन्दै असन्तुष्टि पोखे । उनले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए । भद्रपुरले सञ्चारका लागि २० लाख रुपैँया बजेट बिनियोजन गरेको र प्रेस क्लबसँग समन्वय गरि काम गरिरहेको जानकारी दिए ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले विचारविहीन पत्रकारिता भएमात्र निष्पक्ष हुनसक्नेमा जोड दिए । पालिकाले यस बर्षबाट उत्कृष्ट विकास पत्रकारिता पुरस्कार शुरुवात गर्न लागेको जानकारी दिए ।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पत्रकारले राम्रो कुराको खोजी गर्नुपर्ने बताइन् । सञ्चारमाध्यमले उपाध्यक्ष÷उपप्रमुखलाई महत्व नदिने गरेको उनको गुनासो थियो । जनप्रतिनिधिको पनि कमजोरी भए सच्चिने र पत्रकारहरुले पनि सच्चिनुपर्ने उनको भनाई थियो ।
उनले पालिकाको बजेट विकासमा बढी खर्च गर्नुपर्ने भएकाले सञ्चार क्षेत्रलाई धेरै दिन नपुग्ने बताइन् । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले घरैपिच्छे सामाजिक सञ्जाल चलाउने पत्रकार भएको र घर झगडा गराउने गरेको भन्दै गुनासो गरिन् ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पालिकाले सञ्चारमा ४० लाख बजेट बिनियोजन गरिएको जानकारी दिए । पालिकाले प्रकाशन गर्ने सूचना राष्ट्रिय सञ्चारमाध्यमलाई नै दिनुपर्ने भन्ने ऐन भएकाले चाहेर पनि स्थानीयमा दिन नसकिएको गुनासो गरे । उनले महासंघले यस्ता बाध्यकारी ऐन संशोधनका लागि पहल गरिदिन आग्रहसमेत गरे ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष माधव विद्रोहीले जनप्रतिनिधिहरुले दिएको सुझाव मननयोग्य भएको भन्दै त्यसतर्फ महासंघले पहल गर्ने बताए । उनले सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको बिचमा जनप्रतिनिधिले फरक छुट्याउनुपर्ने बताउँदै मुलधारको सञ्चारमाध्यममा तल्लोस्तरका समाचार प्रकाशन गर्न नहुने धारणा राखे ।