झापा, चैत ७ – सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच र चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा झापाको हल्दिवारी – १ का २३ वर्षीय नवराज ओली ‘नितेश’ पक्राउ परेका छन्।
नेपाल बाहिर बसेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूमाथि तथ्यहीन आरोप लगाउँदै आएका ओली हाल नेपाल फर्किएर काठमाडौंमा लुकीछिपी बसेका थिए। प्रहरीले सोह्रखुट्टेबाट उनलाई पक्राउ गरी झापा ल्याएको हो।
झापा प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा ओलीलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। ओलीले गोल्धाप प्रहरीलाई फोन गरी धम्की दिएको र अश्लील शब्द प्रयोग गरेको उजुरी परेपछि उनलाई चैत ३ गते पक्राउ गरिएको थियो।
झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्काका अनुसार ओलीविरुद्ध साइबर अपराधसम्बन्धी उजुरीहरू पनि दर्ता भइरहेका छन्। साथै, उनले झापाका जनप्रतिनिधि, प्रहरी प्रशासन, राजनीतिक दलका नेताहरू, पत्रकारहरूलाई गालीगलौच तथा चरित्र हत्या गर्दै आएको आरोप छ।
पक्राउ परेपछि अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।