भारत । मोबाइल फोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ। अधिकांश व्यक्तिहरू मोबाइल फोन बोकेर हिँड्छन्, तर यसले कहिलेकाहीँ गम्भीर दुर्घटना निम्त्याउन सक्छ। यस्तै एउटा घटना भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको छ।

राजगढ जिल्लाको सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे। मंगलबार तरकारी किनेर गाउँ फर्किंदै गर्दा उनको खल्तीमा रहेको मोबाइल अचानक विस्फोट भयो। मोटरसाइकलमा सवार अरविन्द विस्फोटपछि अनियन्त्रित भएर लडे।

स्थानीयहरूले उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी सारंगपुरस्थित अस्पताल पुर्‍याए। प्राथमिक उपचारपछि उनलाई शाजापुर रेफर गरिएको छ। चिकित्सकहरूका अनुसार उनको अण्डकोष फुट्नुका साथै टाउकोमा पनि चोट लागेको छ।

अरविन्दका दाजुका अनुसार उनले हालै मात्र पुरानो मोबाइल खरिद गरेका थिए। उनले रातभर मोबाइल चार्ज गरेर बिहान तरकारी किन्न जाँदा खल्तीमा राखेका थिए। तरकारी किनेर फर्किने क्रममा मोबाइल अचानक विस्फोट भएपछि दुर्घटना भएको हो।

चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन। थप उपचारका लागि उनलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ।

विशेषज्ञहरूका अनुसार पुरानो मोबाइलको ब्याट्री कमजोर हुँदा यसको विस्फोट हुने सम्भावना रहन्छ। कतिपय प्रयोगकर्ताले सस्तो र नक्कली ब्याट्री प्रयोग गर्दा यस्तो दुर्घटना निम्तिन सक्छ। सुरक्षित मोबाइल प्रयोग गर्न र गुणस्तरीय ब्याट्री मात्र प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार