झापा । यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको हाबी बढ्दै जाँदा सयौं सेवाग्राही ठगिएको खुलासा भएको छ। कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नै किर्ते गरेर एक बिचौलियाले सेवाग्राहीलाई ठगेको पत्ता लागे पनि कार्यालयले यसलाई रोक्न कुनै चासो नदेखाएको सेवाग्राहीहरूको गुनासो छ।
लामो समयदेखि यातायात व्यवस्था कार्यालय झापामा लेखापढी गर्दै आएका कन्काई निवासी विशाल भण्डारीले सेवाग्राहीहरूबाट लाखौं रुपैयाँ ठगी गरेर फरार भएका छन्। पीडितहरूको अनुसार, भण्डारीले कर्मचारीहरूको मिलेमतोमा कार्यालयको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरी सेवाग्राहीको रकम लिएर फरार भएका हुन्।
मोटरसाइकल, स्कुटर, ट्याक्टर लगायतका सवारी साधनहरूको कर तिर्न सेवाग्राहीबाट रकम लिएर पनि भण्डारीले कार्यालयमा दाखिला नगरेको खुलासा भएको छ। सेवाग्राहीहरू कर तिर्न कार्यालय पुगेपछि मात्र उनीहरू ठगिएको पत्ता लागेको हो। उनले दिएको बिलबुकमा यातायात व्यवस्था कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भए पनि कर दाखिला नभएको देखिएको छ।
कार्यालयको छाप र दस्तावेजहरूको दुरुपयोग हुँदा पनि कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले कुनै चासो नदेखाएको सेवाग्राहीहरूको आरोप छ। पीडितहरूले पटक-पटक गुनासो गर्दा पनि प्रमुखले कुनै सुनवाई नगरेको उनीहरूको भनाइ छ।
सेवाग्राहीहरूले आज यातायात व्यवस्था कार्यालयमै पत्रकार सम्मेलन गर्दै कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। कृष्णप्रसाद कडेरिया, रमण अधिकारी, बद्री चौधरी, युवराज अधिकारी, परमानन्द राजवंशी, प्रेमप्रसाद अधिकारी, अमरबहादुर चौहान, विजय पाण्डे, निश्चल ओली, नितिन अग्रवाल, यसनाथ अधिकारी लगायतका पीडितहरूले ज्ञापनपत्र बुझाएका छन्।
भण्डारीले केही सेवाग्राहीलाई फर्जी बिल प्रदान गरेको, केहीका सवारी साधनहरू बिक्री भए पनि नामसारी नगरेको पाइएको छ। उनले बिलबुकमा मिति, सही, र छाप आफैँ राखेर सेवाग्राहीलाई ठग्ने काम गरेका थिए।
सेवाग्राहीहरूले यातायात कार्यालयबाट सेवा भन्दा पनि शास्ती पाइरहेको बताएका छन्। कार्यालय प्रमुख प्रेम सापकोटाले भने यी आरोपहरू अस्वीकार गरेका छन्। कार्यालयका फाइलहरू, ढड्डाहरू बिचौलियाहरूले नै बोकेर हिँड्ने गरेको पाइएको छ।
त्यस्तै, कार्यालयको सिस्टमबाट पुराना करका डाटा हटाइएको तथ्य फेला परेको छ, जसका कारण सेवाग्राहीले तिरेको कर नै देखिँदैन।
सेवाग्राहीहरूले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी समस्याहरू पनि उजागर गरेका छन्। नागरिकता नम्बर, नामको अंग्रेजी अक्षर, बाबुको नाम, जन्म मिति आदि बिग्रिएको भए पनि तुरुन्तै सच्याइदिनुपर्नेमा सातामा एकपटक मात्र सच्याउने गरिन्छ। सेटिङ भएका सेवाग्राहीहरूको भने तुरुन्तै काम गरिदिने गरेको सेवाग्राहीहरूको आरोप छ।
पत्रकारहरूले यसबारे प्रश्न गर्दा कार्यालय प्रमुखले सतही जवाफ दिएर पन्छिन खोजेको सेवाग्राहीहरूको आरोप छ। कार्यालय प्रमुख सापकोटाले समयमै उचित कदम नचाले थप सेवाग्राहीहरू ठगिने खतरा रहेको छ।