गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको अलपत्र परेको निर्माण कार्य अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
झापा, चैत १४ – झापाको सदरमुकाम चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह छ वर्षदेखि अलपत्र परेको छ। निर्माण अवधि थप नहुँदा रोकिएको सभागृहको कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भद्रपुर नगर प्रमुख नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले भवन निर्माणका अवरोध हटाएर निर्माण अवधि थप्न पहल गर्ने आश्वासन दिएका हुन्। उक्त टोलीमा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, भद्रपुरका २, ४, र ७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू सहभागी थिए।
नगर प्रमुख गणेश पोखरेलका अनुसार प्रतिनिधिमण्डलले निर्माण कार्यलाई पुनः सुचारु गर्न माग गर्दै विभिन्न विकल्पसहित सुझावसमेत प्रस्तुत गरेको थियो। साविक जिल्ला विकास समितिबाट दुई वर्षमा सम्पन्न गर्ने सम्झौताअनुसार निर्माण अघि बढाइए पनि ठेकेदारको पटक-पटक माग अनुरूप निर्माण अवधि नथपिँदा कानुनी समस्या उत्पन्न भएर काम रोकिएको थियो।
सोही क्रममा प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनलाई पनि भवन निर्माण कार्य अघि बढाउन भूमिका निर्वाह गर्न आग्रह गर्दै स्मरणपत्र बुझाएको छ।
गिरिजाप्रसाद कोइरालाका नाममा निर्माण सुरू गरिएको यो सभागृह संघीय गणतन्त्र नेपालको स्थापनामा महत्वपूर्ण योगदान दिएका नेताहरूको संयुक्त प्रयासबाट २०७२ असार २८ गते शिलान्यास गरिएको थियो। चार प्रमुख दल कांग्रेस, एमाले, माओवादी, र तत्कालीन फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको उपस्थितिमा शिलान्यास भएको सभागृह स्थानीय बासिन्दाले तोकिएको समयमै निर्माण हुने विश्वास राखेका थिए।
तर, संविधान जारी भएपछिका विभिन्न निर्वाचनहरूमा सभागृहको अधुरो निर्माणलाई राजनीतिक प्रचारको विषय बनाइए पनि, कुनै पनि सरकारले यसलाई पूर्णता दिन ठोस पहल नगरेको स्थानीय बासिन्दाहरू बताउँछन्। संघीयताको कार्यान्वयनपछि ओली , प्रचण्ड र देउवा गरी सात पटक प्रधानमन्त्री परिवर्तन भइसके पनि सभागृह निर्माणमा आवश्यक प्रगति हुन सकेको छैन।
अब भने प्रधानमन्त्री ओलीले भवन निर्माण कार्य अघि बढाउन प्रतिबद्धता जनाएपछि स्थानीय बासिन्दाहरूले आशा व्यक्त गरेका छन् कि सभागृहले आफ्नो अधुरो स्वरूपबाट मुक्ति पाउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1