झापा । राजतन्त्र पुनस्थापनको नाममा पत्रकारको हत्या गर्ने तथा सञ्चार गृहमा भएको आक्रमणको बिरोध गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले झापाको विर्तामोडमा बिरोध प्रदर्शन गरेको छ ।
विर्तामोडमा भेला भएका झापाका पत्रकारहरूले स्वतन्त्र प्रेसको अवधारणा बिपरित आन्दोलनका नाममा पत्रकार मार्ने तथा सञ्चार गृहमा क्षति पुर्याउनेमाथि कडा कारवाहीको माग राखेर झापाको विर्तामोडमा बिरोध प्रदर्शन गरिएको हो ।
बिरोध प्रदर्शनका क्रममा झापाली पत्रकारहरूले प्रेस स्वतन्त्रको सम्मान गर, पत्रकार हत्या र सञ्चार गृह आक्रमण गर्नेलाई कडा कारवाही गर, प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारवाही गर, पत्रकारमाथिको आक्रमण बन्द गरलगायतका नारासहितका प्ले कार्ड बोकेर नारा जुलुस गर्दै वजार परिक्रमा गरेका थिए ।
झापाका पत्रकारहरू विर्तामोडस्थित हनुमान सेन्ट्रल अगाडि भेला भएर शुरु गरेको प्रदर्शन पश्चिम बस स्टेन हुँदै पूर्व इलाका प्रहरी कार्यालय जाने बाटोबाट मुक्तिचोकमा आएर कोषसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले चैत १७ गते पत्रकार हत्याको बिरोध स्वरुप कालोपट्टी बाँधेर काम गर्ने र चैत १८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।
हत्या गरिएका पत्रकार सुरेश रजकले न्याय नपाउन्जेल र सञ्चारगृह आक्रमण गर्नेलाई कारवाही नभएसम्म महासंघले चरणवद्ध आन्दोलन गर्ने अध्यक्ष गिरीको भनाइ छ ।
कोणसभामा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई, मोहनकाजी न्यौपाने, गणेश पोखरेल, तारामणि सापकोटालगायले आ–आफ्नो धारणा राख्दै लोकतन्त्रको विकल्प अराजकता नरहेको भन्दै पत्रकार मार्ने र सञ्चार संस्थामाथि आक्रमण गर्नेहरू नागरिकका प्रतिनिधि बन्न नसक्ने बताएका थिए ।