“अन्तिम इच्छा “: प्रिय रवि दाइ प्रति समर्पित कविता

“आमा ! मेरो अन्तिम इच्छा
सोधिरहेछन् पापीहरुले
तिमी नै भनिदेउ मेरो अन्तिम इच्छा
मेरो बोल्ने कुनै शब्द छैन।
मलाई जिउँदै मारिरहेछ आमा !
कमसेकम एकचोटी त बोलिदेउ न”

ए ! कायर जल्लादहरू!
मेरा प्रत्येक अङ्गहरु निशानी बनाएर
“तिमी सोध्दै छौ, मेरो अन्तिम इच्छा”
मलाई सुनाउनु छैन मेरो राम काहानी
भाव र विचारलाई बन्दी बनाई
फगत बाँच्नुभन्दा, हाँसेर स्वीकार्छु बुलेटहरू
बाँच्नुको कुनै अर्थ नरहेपछि
भाव विचारले स्थान नपाएपछि ।

मेरा इच्छा र चाहनाहरू सुनाएर
मलाई समर्पित यी बुलेटहरू
अनि शिकारी हातहरूलाई रित्तै फर्काइ
कर्तव्यविमुख हाकिमको गाली खुवाउन्न
बाँच्नुको अर्थ हुदैन भने
बाँचेर खोइ के गर्ने ?

म कसरी सिकाऊँ खुनको खेती गर्नेहरुलाई !
पसिनाको खेती गर्नुपर्छ भनेर
कसरी भनौं ? मेरा इच्छा र चाहनाहरू
तिम्रो लाचार समयको बर्वाद गरेर

ए ! कायर मान्छेहरु
मृत्युअघिको यो अमूल्य समय
एकैक्षण फर्सद हुन्थ्यो भने
बृद्ध, अशक्त बुवाका आँसु पुछेर
आमासंग अन्तिम विदाइको पाउ छोएर
भाइ र बहिनीहरुलाई ती थोत्रे भोटाहरूमा
नयाँ तुना लगाएर भए पनि बान्दै गर
छोरा, छोरी र सखीलाई
स्वर्गको पटाङ्गिनीमा अवश्य भेट होला भन्दै विछोडको पीडालाई भुलेर हाजिर हुने थिए !

तर त्यो तिम्रो आबेशको वेगलाई छेकेँ भने
तिम्रा धेरै शिकार उम्केको ठान्छौ भने
ठीकै छ,
ए ! कायर मान्छेहरू
हो ! मेरो जाबो शिकारले
तिम्रो सिङ्गो परिवार अघाउँछ भने
अब छिट्टै म्यागजिन खोलेर ।
मेरा इच्छा र चाहानाहरू बन्दी बनाऊ !!!

✍याम दंगाल सरोवर
हल्दिबारी, झापा , नेपाल
२०८१/१२/२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
10
+1
11
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार