स्मरण लेख: बालापनमा खेलिएका केहि खेलहरु
राजन न्यौपाने–भद्रपुर १० चन्द्रगढी, चाराली रोड/ काठमान्डौ निवासी मेरो बालसखा आत्मिय मित्र प्रज्वल कोइरालाले मलाई कल गरेर यसपालीको प्रयास को संस्करणमा पनि केही लेख है राजन, तेरो लेख बडो मजाको पढ्दै आनन्दित हुने हुन्छ भनेर भन्यो  प्रज्वलको यो कुरामा मैले सहमति जनाए अनि  सोचे म यसपाली के लेखम ! धेरै सोचे, स्कुले जिवनका कुनै घटना लेखम कि सर मिसले पढाउनुहुँदाका रोचक कुरा लेखम कि साथिसङ्ग झगडा गरेर रिसाएको घटनाका बारेमा लेखम कि, गाउँ घरको कुनै प्रसङ्ग लेखम, म दोधारमा परे ! यतिकैमा कपि र कलम तयार पारे ! कलमले लेख्न त शुरु गरे तर के बाट सुरु गर्नै सोच्नै सकिन अचानक मेरो दिमागमा उसबेला हामीले खेल्ने गरेका खेलहरु फुर्यो !
यतिबेला मेरो मानसपटलमा त्यो बेला स्कुलमा टिफिनमा साथीभाइसँग, गाई हेर्न जादा साथीहरुसङ्ग, गाउँघरमा रमाएका, खेलेका विभिन्न खेलहरु सररर आउन थाल्यो । तिनै खेलहरु सम्झिएर मैले बालापनमा खेलेका खेलहरुको बारेमा यहाँ उल्लेख गर्न चाहे । यतिवेला मेरो आखा अगाडी पहिलेका ति साथीभाइहरु, त्यो निश्चल प्रेमभाव, त्यो निस्वार्थ सहयोग, त्यो स्वच्छ ह्दय र मन आदी पालैपालो कुद्न थाले । यसरी सम्झदै जाँदा खै किन र कुन वेला मेरा आँखाहरु पानीले भरिसकेको समेत पत्तो पाइनछु । झल्यास्स भए अनि टाउको उठाएर चारैतिर नजर पुर्याए, धन्न कसैले याद गरेका रहेनछन । म सम्झनाको तरेलीमा वगिरहे, वगिरहे‘‘।
यहाँ प्रस्तुत गरिएका खेलहरु मध्ये धेरै जसो  तपाइ हामीले आफ्नो जिवनकालमा  पक्कै पनि अनुभुति गरेका हुनेछौ ! आजको डिजिटल, कम्प्युटर र मोबाइलको गेमको दुनियामा यस्ता साधन बिनै पनि साथी साथी मिलेर आपसमा कसरी खेलहरु खेलिदोरहेछ भन्ने कुरा आजका बालबालिकाले थाहा पाउनेछन ! आशा छ यहाँ प्रस्तुत गरिएका खेल तथा गतिविधीहरु हजुरहरुले पढेर आफू पनि बच्चामा हुदाको सम्झना गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ! यहाँ उल्लेख गरिएका कतिपय खेलका नामहरु ठ्याक्कै नआएको तथा विर्सीएको पनि हुँदा आफैले नाम राख्ने कोसिस पनि गरेको छु ।
बालापनमा खेलिएका केहि खेलहरुको स्मरण
१) भेटाभेटी — यो सामुहिक खेल हो, यसमा एकजना डुम हुने र बाँकी अरु निश्चित घेराभित्र नभेटिने गरी दौडने, डुमले जसलाई पहिले छुन्छ उहि डुम हुने सजिलो तथा अत्याधिक खेलिने खेल हो ।
२) ची — दुई समुह हुन्छ, जस्मा एक समुह गोलो घेराभित्र बसेर केहि दुरी सिधा अगाडी गुडिया राख्छ, अनि ची।।।।।।।।।।। भन्दै स्वास नफेरी बाहिर उभिएका  दोस्रो  समुहका सदस्यलाई छुने कोसिस गर्ने खेल
३) कम्फाइट — यो खेललाई भाले जुदाइ पनि भनिन्छ । यो खेलमा दुई जना वा सो भन्दा बढी साथीहरु आफ्नो एक खुट्टा पछाडी उचालेर दुइहात पछाडी लगि खुट्टाको बुढी औला समाई एक खुट्टाको सहाराले उफ्रदै अर्को प्रतिस्पर्धीलाई हातको पाखुराले हानेर लडाउनु पर्ने रोमान्चक खेल हो ! यो खेल प्राय केटाहरुले खेल्ने गर्दछन !
४) गाढागाढी – सामुहिक खेल,सबैको तीखो लौरो भाटो हुने अनि गिलो चौर अथवा भुमा एक आपस मा हानेर रगाडेर अर्काको भाटो लडाउनुपर्ने,अनि लडेको भाटो लाई अलि पर फालेर आफ्नो भाटो लुकाउनुपर्ने खेल
५) छेकाछेकी – सामुहिक खेल , भुईमा तेर्सो र ठाडो धर्का बनाएर दुई टिम एक आपस मा लाइन कट्न खोज्ने ,छोएमा मर्ने,जस्ले नछोइ लाइन कट्दै पार उन्छ उस्ले जित्ने खेल !
६) दाल भात तरकारी अचार – रुख को फेदमा एक जना डुम बसेर एक लठ्ठी ठड्याएर राखिन्छ,बाकी साथीहरू रुखको हागामा बसेर डुमलाई छक्याउदै फेदमा आएर लठ्ठी नाकले सुघ्नुपर्ने,डुमले छोएमा अर्को ब्यक्ती डुम हुने खेल !
७) गट्टी – यो खेल बसेर खेल्न सकिने खेल हो ! पाचवटा स साना उत्रै साइजका गट्टी भुइमा छरेर एक टुप्पा दुई टुप्पा भन्दै स्टेप बाइ स्टेप खेलिने रमाइलो खेल , बिशेष छात्राहरुको रुचीको खेल !
८) चुंगी – रबरहरु बाधेर झुप्पो बनाई खेलिने खेल ! खुट्टामा चप्पल उल्टो पारेर अथवा नपारी एक खुट्टाले चुङ्गीलाई उफारी कति सम्म धेरै ल्याउन सकिन्छ ,त्यसकै आधारमा जितिने खेल !
९) बाघचाल – एउटा अलि ठूलो ढुङ्गालाई एउटा र बाकी स साना मसिना ढुङ्गा या मकैको दानालाई बाख्रा मानी कोठा बनाएर दिमाग लगाएर खेलिने खेल । खेल्न पारा मिलेन भने बाघले बाख्रा खाइदिन् सक्छ त्यस्तै बाख्राले पनि बाघलाई थुनिदिनसक्छ !
१०) चोर पुलिस – कागजको टुक्राहरुमा चोर, पुलिस, मन्त्री, राजा आदि लेखेर डल्लो पारी बाडेर आपसमा बडो रमाइलो सङ्ग खेलिने खेल !
११) नाघानाघी – दुइजना आपसमा फर्किएर हात र खुट्टा  तेर्स्याएर बस्नुपर्ने,तेस्रो ब्यक्ती कुद्दै आएर नछोइकन नाघ्नुपर्ने, विशेषजत छात्राहरुले खेल्ने खेल !
१२) कित्ती कित्ती – भुइमा ठाडो र तेर्सो धर्का तानी कोठा कोठा बनाएर दुई टिम बनाई सानो ढुङ्गालाई एक खुट्टाले मात्र ठेल्दै कित्ती कित्ती भन्दै सबै कोठा कटाउनु पर्ने,धर्काको बिचमा ढुङ्गा बसेमा आउट हुने खेल !
१३) गोहिली – खुजुरा पैसा वा फेन्टाको बिर्कोहरु भेला पारी भुइमा चार कोठा बनाई निश्चित दुरीबाट हानेर मारेर खाने खेल
१४) गुच्चामारी – भुइमा सानो गुच्चाअट्ने गोलो प्वाल बनाई घुडा टेकी दुई हातको मद्दतले एक भित्ता नापी दाहिने हातको औलाले आफ्नो गुच्चाले अरुको गुच्चालाई लगाई आफ्नो गुच्चा त्यो प्वालमा छिराउने खेल उसबेलाको चर्चित खेल !
१५) एति एति पानी – गोलोघेरा बनाई आपसमा हात बलियो सङ समाई  बिचमा हुने डुमले दुइहातले आफ्नो खुट्टा देखि नाप्दै एति एति पानी घेघे रानी एति एति पानी घेघे रानी घाम राजा घाम पानी भन्दै चिच्याउदै त्यो हातको घेरा तोडी भाग्नुपर्ने खेल !
१६) आसपासरलुकामारी – एक जना डुम हुने, डुमले अर्को तिर फर्केर आँखा बन्द गरेर सबैले सुन्नेगरी ५० सम्म गन्नुपर्ने,बाकी साथिहरु नजिकै कुना कुना लुक्नुपर्ने,डुमले जस्लाइ देख्छ उस्लाई फलानो आसपास भन्नू पर्ने रमाइलो खेल !
१७) रुमाल लुकाई – गोलोघेरा भएर बस्ने,एक जनाले रुमाल डल्लो पारेर वरिपरी घुम्दै कोहि एक जनाको पछाडी सुटुक्क रुमाल राख्दिने रमाइलो बच्चाको खेल
१८) डन्डिबियो – बासको डन्डी र सानो बासकै भाटोको टुक्राको बियो बनाई दुई पक्ष बिच खेलिने खेल ! डन्डीले बियोलाई पास दिने बेलामा अबे रुभनेर सोधिन्छ र उता पकड्न बस्ने दोस्रो पक्षले अवे भनेपछि मात्र हानिन्छ ! यो खेलमा प्रयोग गरिने शब्दहरु – एक ठ्याक , दुई ठ्याक, तीन ठ्याक, स्टेट,नट स्टेट,हरदमको स्टेट,अबे आदि !
१९) खाप – सलाईको बाहिर को विभिन्न रंग र बुट्टा भएका टुक्राहरुलाई भेला पारी तास जस्तै गरि खेलिने खेल,बुट्टा अनुसारको यस्को नम्बर धेर र थोर हुने गर्छ ! जस्तै श्री सलाई,तिर सलाई आदीको बाहिरी भाग !
२०) रबरबैन्ड – रबरहरु लाई आपसमा जोडेर लामो डोरी बनाएर दुई जनाले दुई तिर समाएर बिचमा एक जनाले उफ्रेर नाघ्ने खेल ! विशेषगरी छात्राहरुले खेल्ने खेल ।
२१) भाडाकुटी – कपडाको पुतली बनाएर,गाजल लाइदिएर,प्लास्टिकका स साना भाडाकुडामा खाना बनाएर मुख नजिक लगेर खाए जस्तो गरि खेलिने खेल ,बिशेषत छात्राहरुले खेल्ने खेल ! कपडाको गुडिया बनाउने जमिनमा चुलो बनाइ दाउरा हालेर खाना बनाए जस्तो गर्ने क्रियाकलाप पनि यसै खेलमा पर्दछन ।
२२) काटाकुटी – मकैको दाना अथवा स साना ढुङ्गा हरु भुइमा छरेर कान्छीऔलाले दुई ढुङ्गा या मकैको बिचमा धर्को तानेर वा काटेर चोरीऔलाले हानेर ठोक्काउने खेल !
२३) झीरगाडी – टिनको बाल्टिको भुईपट्टीको पेटी जस्तो गोलो भाग अथवा फलामको  गोलो रिङलाई झीर लगाएर गुडाएर कुदाउने खेल !
२४) टायर र लठ्ठी – साइकलको थोत्रे पुरानो टायर चक्कालाई लौरोले हान्दै कुदाउने खेल !
२५) खम्बा साटासाट – भवनको वरपर भएका खम्बा पिलर वा कुनामा एक एक जना उभिएर बिचमा एक जना डुम बनी आपसमा डुम लाई झुक्याउदै खम्बा साटा्साट गरी खेलिने खेल !
२६) किताबको खेल – दुइजना सल्लाह गरेर किताबको दुइभाग मध्ये एक एक पटिको भाग आपसमा लिएर पाना पल्टाउदै जतापटी सजिब प्राणी९ मान्छे, पशुपन्छी०को फोटो जति वटा आउँछ गनेर उति पटक अर्को साथिलाई पिट्ने खेल !
२७) किताबमा लेख्ने खेल – पुस्तकको विभिन्न पेजहरुमा अब म के लेख्दैछु ल यति पेज मा हेर्नुहोला भन्दै झुक्याउदै रमाइला कुराहरु विभिन्न पेजहरुमा लेख्ने खेल !
२८) गहुको बाला – स्कुल जादा बाटो छेउमा फलेका गहु या जौको बाला चुडेर तलपट्टी खुट्टाबाट पेन्ट भित्र हाल्ने र स्कुल पुग्दा उक्त बाला माथी कम्मर मा सरिसकेको हुने, यसैलाई रमाइलो मानेर खेलिने खेल !
२९) चुइगम बनाउने खेल – गहुको , जौको दाना निकालेर मुखमा हालेर एकछिन चपाएर चुइगम बनाए भनेर आपसमा देखाउने खेल !
३०) कदमको दाना फ्याल्ने खेल – तीखो भाटोमा तिते कदमको दाना गाडेर भाटाको सहारामा धेरै टाढा सम्म हुइक्याउने खेल !
३१) पानीमा भ्यागुता कुदाउने खेल – बाटो छेउछाउका खोला पोखरीहरुमा  चेप्टो ढुङ्गा तेर्सो पारेर हानेर भ्यागुतो जस्तो उफार्दै पर पुर्याउने खेल !
३२) पिपलको पातलाई मयुरको प्वाख बनाउने खेल – पिपलको पत्तालाई किताबभित्र चेपेर केही दिन राख्दा मयुरको प्वाख बन्छ भन्ने बिश्वासका साथ उक्त पत्तालाई पुस्तकभित्र च्यापेर राखिने खेल !
३३) अक्षर सुन्दर बनाउने खेल – क ख जस्ता अक्षरलाई कपिको पानामा ठूलो पारेर लेखेर रङ्ग लगाएर बुट्टा हानेर कस्को क राम्रो भनेर आफू भन्दा ठुला अभिभावकलाई देखाउने खेल !
३४) सलाईको डब्बाको खेल – दुइटा सलाईको खोलमा लामो धागो बाधेर दुइजना दुइपट्टी पर पर बसेर हेलो हेलो भन्दै टेलिफोनमा कुरा गरेजस्तो कुरा गर्ने खेल !
३५) किङ्ग – मोजाको डल्लो बनाएर एकले अर्कोलाई हान्नु पर्ने खेल ! खुट्टाभन्दा माथी शरिरमा लागेमा उही डुम बन्ने रमाइलो खेल !
३६) लिच्चिको दानाको खेल – खाइसकेको लिच्चीको भित्रको दानालाई आधा पारेर एउटा सिन्का हाली भुईमा फिरिरी घुमाउने खेल
३७) घुर्नी – फेन्टाको बिर्कोलाई बिचमा प्वाल पारेर धागो पसाई दुई हातको औलामा अड्काएर तन्काउदै फिरिरिरी पारेर खेलिने खेल !
३८) रबर र बल – सानो रबरको बलमा रबर अड्काई औंलामा रबरको अर्को भाग बाधेर हातलाई माथी तल पार्दै रबरको डल्लो लाई  खेलाउने खेल ! यो खेल प्राय दसैंको छेउछाउमा खेलिन्थ्यो !
३९) डोरी तानातान – दुई समूह मिलेर लामो डोरीलाई दुइतिर बल प्रयोग गरेर बाट तान्ने,निश्चित सिमाना कटाउन जुन समुह सफल हुन्छ त्यही समूह बिजेता हुने खेल ।
४०) फोका उडाउने – तिते कदमको भेट्नो सहितको पात हातमा लिएर पातको फेदको भेट्नो पिटिक्क भाचेर मुखले फुक्दा त्यहाबाट स साना पानीका फोकाहरु फुरुरुरु उडाउने खेल !
४१) आपको कोयाको खेल – आपको भित्रको कोयालाई निकालेर दुई फ्याक बनाएर बिचमा पात हालेर प्या।।।।। गरेर बजाउने खेल
४२) केराको पातको खेल – केराको पातको सानो भागलाई गोलो लामो बनाई बेरेर अन्तिममा टुप्पोलाई अलिकती चेप्टो बनाई मुखमा हालेर फुक्दा पि……… गरेर आवाज निकाल्ने खेल !
४३) पन्जा लडाई – दुई ब्यक्ती आपसमा आमनेसामने बसेर दुई हात आपस मा समाएर कुहिना टेकी पूरा बल प्रयोग गरि लडाउने खेल !
४४) केराको दाम्चाको खेल – केराको पत्तालाई काटेर दाम्चालाई दुई तिर बाट आधा काटी फेदमा समाएर पट पट पट …….गरेर बजाउने खेल !
४५) चुरा र रबरको खेल – चुरालाई रवरले बेरेर रवरको बिचमा एउटा ढ्याके पैसा राखिन्छ,ढ्याकेलाई पनि मज्जाले रबरमा बेरिन्छ र त्यो पुरैलाई एउटा कागजको पानाले छोपेर डल्लो पारिन्छ,कोहि दोस्रो साथिले त्यसलाई अन्जानमा खोल्दा  बेरिएको पैसा खुल्छ र भटटट आवाज आउँछ ! जसले गर्दा साथी तर्सेर वातावरण रमाइलो हुन्छ !
४६) फिरफिरे – आपको, कटहरको पत्तालाई चारकुने बनाई माझमा सिन्का खादी हावाको बिपरित दिसातर्फ दौडदा त्यो पत्ता फिरिरी घुम्ने गर्छ ! यसैलाई फिरफिरे भनिन्छ !
४७) पिचकिरी – बासको सानो ढुङ्ग्री बनाइ अर्को सानो भाटो ढुङ्ग्री भित्र पसाएर भित्र पानी हाली अरुलाई पानीले भिजाइदिने खेल ! हिजोआज यो बजारमा प्लास्टिकको पाइन्छ !
४८) कागजको प्लेन – कक्षा कोठा भित्र कपिको पाना च्यातेर प्लेन जस्तो बनाई कोठाभित्रै उडाएर अर्को साथीलाई लगाउने खेल
४९) कागजको बम – कपिको पाना च्याती डल्लो पारेर एक छेउमा समाती हावामा माथी बाट तल ल्याउदा फ्याट्ट आवाज आउँछ,जसलाई बम पड्काएको भनिन्थ्यो !
५०) कपालमा दाना अड्काउने – बाटोको छेमा पैनीहरुमा लटरम्म फलेका मसिना काडेदार ससाना गेडाहरुको झुप्पो टिपि साथिहरुको कपालमा दलिदिने रमाइलो खेल
५१) निधारमा टीका लाउने – चोरी औलाले १५० पटक निधारको बिचमा दल्दा नमेटिने टीका बस्छ रे भन्दै सबैले टीका बनाउने लहर चलेको थियो
५२) टिक टिक – दुई समूह दुई तिर बसिन्छ,एउटा समुहको एक साथिको आँखा छोपिन्छ,अर्को समुहको एक साथी आएर त्यो आँखा छोपिएको साथिको निधारमा औलाले टिकटिक हान्छ,अनि गएर आफ्नै समुहमा बस्छ ! अब त्यो आँखा छोपिएको साथिले आँखा खोलेर आफुलाई कस्ले हानेको ब्यक्ति पहिचान गर्नुपर्ने रमाइलो खेल !
५३) गोबर लौरो – गाई हेर्न जादा एक जना डुम हुने बाकि साथीले हातमा लौरो बोकी कुद्ने, लौरोले भुइमा भएका गोबरलाई छोएमा बच्ने नत्र डुमले छोएमा मर्ने खेल !
५४) हराएको पत्ता लाउने – केही सामान हराएमा हत्केलामा अलिकती थुक राखेर आँखाको परेला समेत तानी त्यहाँ मिसाएर अर्को हात धारे बनाएर त्यो थुकमा प्याट्ट हानिन्छ,थुक जतापट्टी उछिटिन्छ हराएको सामान त्यतै छ भनेर खोजी गर्ने खेल !
५५) अक्षरको खेल – दुई वा दुई भन्दा धेरै साथि मिलेर एक जनाले कुनै शब्द भन्ने,अन्तिमको अक्षरबाट अर्को साथिले अर्को शब्द भन्नुपर्ने,यसरी क्रमस लगातार भन्दैजाने खेल
५६) पेस्तोल – बजारबाट टिनको पेस्तोल किन्ने,रातो मसिना गोलिका झुप्पा लाई त्यो पेस्तोलमा हालेर पट्याङ्ग पट्याङ्ग धुवा निकाल्दै पड्काउने खेल !
५७) वरीपरी एक्का – एक साथीले अर्को साथीलाइ वरीपरी एक्का फलानो चिज देखा भन्दै कोठा भित्रका कुनाकानीमा रहेका घडी रेडीयो फोटाहरु आदी देखाउनुपर्ने खेल
५८) कागजको पुच्छर बनाउने – कक्षाकोठामा एक साथीले अर्को साथीलाइ थाहा नपाइ कागजलाइ लामो पारेर बाटेर पछाडी पट्टी पुच्छर बनाएर झुन्ड्याइदिने खेल
६०) ढुकुमुकु कस्को हात – एक साथीले अर्को साथीलाइ पछाडी ढाडमा दुवै मुड्कीले विस्तारै ढुकुमुकु ढुकुमुकु याँ माथि याँ मुनी कस्को हात भनेर सोध्ने अनि पिटाइ खाने साथीले राजाको, रानीको, बुबाको, आमाको, फलानाको भन्दै उत्तर दिनुपर्ने रमाइलो बच्चा सँग खेलिने खेल
६१) भुटुस – मसिनो बाँसको ढुङ्ग्रोमा बकैना र काउलोको दाना हाली सिङ्काले ठेलेर पड्काउने । बन्दुक जस्तै पड्किन्थ्यो ।
६२) चि मुसी चि – साथीहरु वरिपरि गोलो बनाएर बस्ने, सबैले आ आफ्नो हात भुइमा खप्ट्याएर माथी माथी राखेर एकले अर्कोको हत्केलाको पछाडी बिस्तारै नङ्ग ले चिमोटे जस्तै गरेर समात्ने र सबै हातलाई एकै चोटि माथी तल उठाउदै चि मुसी चि,मुसीले खायो धान,पकड बिरालीका कान भन्दै सबैले छेउको साथीको कान समात्ने ! यसपछि कान समाई समाई हल्लिदै ए मामा चिम्टाको झगडा छुटाइदेउ न भन्ने खेल !
६३) चुराबाट माया नाप्ने खेल – कपडामा चुरालाई बेरेर कोहि आफन्त साथिको नाम लिएर चुरालाई पिटिक्क भाच्ने,दुइटुक्रा हुदा बिचमा स साना मसिना अर्को टुक्रा पनि निस्कन्छ,त्यो टुक्राको आकार र साइजको आधारमा कस्ले धेरै माया गर्दोरहेछ पत्ता लगाउने खेल
६४) माटोको खोपिल्टा र ढुङ्गाको खेल – भुइमा स साना खोबिल्टाहरु १५र१६ वटा बनाउने ,अनि ढुङ्गाका टुक्राहरु राखेर ढुङ्गा साटासाट गर्दै दुई साथीहरु विच आपसमा खेलिने खेल !
६५) जो ढिलो बोल्छ त्यै राजा – घर मा या स्कुलमा साथीहरू बिच को ढिलो बोल्ने प्रतिस्पर्धा चल्थ्यो,एक जनाले शुरु भनेपछी सब चुपचाप ! कोही शुरुमा खितिती हासेमा वा बोलेमा उस्लाई सबैले कालिकुत्ताको पोइ भनेर जिस्क्याउथे !
६६) धागो वा डोरी तान्ने – सानो धागो को टुक्रा अथवा डोरीको टुक्रालाई मुठी पारेर टुप्पो मात्र माथी पट्टी निकाल्ने,अनि साथी साथी भेलाभएर बिस्तारै त्यो धागोलाई माथी तान्ने,जस्को पालोमा पुरै धागो माथी फुत्त आउँछ उस्ले हारेको मानिने खेल !
६७) साइकललाई भटभटे बनाउने – साइकलमा बाँसको बोक्रा चेपेर कुदाउँदा मोटरसाइकल जस्तै आवाज आउँथ्यो । भटभटे जस्तै बनाएर साइकल कुँदाउने ।
६८) जुनकिरी दल्ने – साझपख उड्दैगरेका जुनकीरीलाई समाएर हातमा दल्दा हात बल्थ्यो,अनि हातमा बिजुली फिट गरेको भनेर खुशीले उफ्रन्थेम !
६९) सलाईको बारुद्को खेल – सलाईको छेउको बारुद लाई हातमा दलेर अध्यारोमा हात हेर्दा झिलिक झिलिक बल्थ्यो,जसले गर्दा हातमा करेन्ट आयो भनेर खुशी भैन्थ्यो !
यसका अलावा रेडियो क्यासेटमा कपडाको खोल हाल्ने, नयाँ बर्षमा हिरो हिरोईनको फोटाको पोस्टकार्डमा पछाडी सायरी लेखेर साथीसँग साटासाट गर्ने, घरका भित्तामा पत्रपत्रिका, हिरो हिरोइनका फोटा टास्ने, साथी साथी बिच अटो बुक भर्ने, साथीहरू घर आउदा सुरुमा  एलबम देखाउने, क्यासेटको रिल साइकलमा झुन्ड्याउने, पुराना बिजुलीको बलहरु भेटेर ल्याएर घरमा झुन्ड्याउने, काठको बाकस बोकेर कपाल काट्ने हजाम घर घर आउदा आफु डरले घर भित्र लुक्नु, सनिवार विहानको सो कन्सेसनमा टिकट काटेर फिल्म हेर्न जानु, माटाको गाग्रोभित्र रेडोयो, स्पिकर हालेर बजाएर ढ्वाङ ढ्वाङ आवाज निकाल्ने, पाटाको डोरी बालेर धुवा निकाल्दै झुन्ड्याएर समय पत्ता लगाउने, माछा मार्दा बल्छीमा गडेउला उनीसकेपछी थु थु काली बाह्र हातको ब्वाली भनेर थुकेर बल्छी पानीमा हाल्ने, बल्छिको भाटो कसैले नाघेमा अवासी लागाको भनेर उसलाई सातपटक भाटो ढोग्न लगाउने, बाटोमा टिनको बाकस भित्र पैसा तिरेर रिल घुमाई अँध्यारो प्वाल बाट हिरो हिरोईनका फोटा, बिभिन्न स्थानहरु, शहर बजारको दृश्य पैसा तिरेर सिनेमा भन्दै हेर्नु, १० पैसाको रातो बरफ चुस्दै कस्को जिब्रो रातो भन्दै देखाउनु, कलममा मसि सकियो भने साथिको कलमबाट दुई थोपा तप्लक्क चुहाएर पैचो माग्नु, स्कुलमा लुकेर गएर ढुंगाले घण्टीमा बजाउनु अनि गार्डले खेदाउदा टाप कस्नु, बरफ खाइसकेका सिन्का एक भारी भेला पार्नु, बयरका भित्रका दाना भेला पारेर ढुङ्गाले फुटाएर भित्रको गुदी खानु, स्कुलको बेन्चमा पछाडि बस्ने साथिले अगाडिको साथिलाई ढाडमा डटपेनले कोरिदिनु जस्ता रमाइला बालापनका क्रियाकलापहरु आँखा अगाडि नाचिरहेको छ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार