झापा, चैत २९ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टर नजिकै पूर्व–पश्चिम राजमार्गमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार दिउँसो १२:५५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट काकडभिट्टा जाँदै गरेको प्र.३–००१ ख २८२५ नम्बरको ‘न्यू सृष्टी गोल्ड’ रात्रिकालिन बस चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो।
बसमा सवार भारतको कर्नाटक राज्य, बैंगलोर ईजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय ईबराहिम केथाड्थलाई शंका लागि जाँच गर्दा उनीहरुको २ वटा सुटकेश झोलाभित्र चिप्सको ३६ प्याकेटमा लुकाइ राखिएको ५ केजी ५३४ ग्राम गाँजा र दुई वटा ‘CHUPA CHUPS MELON’ डब्बामा राखिएको लिसायाँ जस्तो देखिने जेली (JELLY) ८ थान फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।