नेकपा एमालेको जनजागरण सभामा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दमक आइपुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापामा सांकेतिक विरोध प्रदर्शन गरेको छ।
रास्वपाको शिवसताक्षी नगर समितिको प्रथम नगर अधिवेशनका अवसरमा सहभागीहरूले आफ्नै कार्यक्रम स्थलमा कालो झन्डा प्रदर्शन गर्दै प्रधानमन्त्री ओली र वर्तमान सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले “तानाशाह चाहिँदैन, दमन गर्न पाइँदैन”, “न्यायालय निष्पक्ष होस्”, “प्रहरी प्रशासनमा राजनीतिक आदेश बन्द गर”, “ओली गुन्डाराज चल्दैन”, “विधिको शासन कायम गर”, “जनता अब जाग्नेछन्, निरङ्कुश भ्रष्ट भाग्नेछन्” लगायतका नारा लगाएका थिए।
रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सचेतक निशा डाँगी, प्रदेश कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश महामन्त्री लालविक्रम थापा, कोशी–काठमाडौँ सम्पर्क समिति सभापति राजन गौतम, झापाका सचिव शम्भु सुस्केरा, सहसचिव भीम कुँवर, कोषाध्यक्ष पुष्प ढकालसहित विभिन्न पालिका र क्षेत्रका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यवाहक सभापति पाठकले प्रधानमन्त्री ओलीको दमक आगमनबारे पूर्वसूचना नपाएको र पहिले नै तय भएको अधिवेशन कार्यक्रमको कारण दमक जान असमर्थ भएकाले आफ्नै कार्यक्रमस्थलबाट सांकेतिक विरोध गरिएको जानकारी दिए।