यही साँगुरो घेराभित्र
सुन्दर सपनाहरू सजाउन खोज्दा खोज्दै जीवनमा धेरै पल्ट हिक्का छोडेर रोएको छु। बैरीहरुले आँसुहरू नदेखोस् भनेर
नयनमै लुकाएर बाँचेको छु।
आधा पेट खाएर
सन्तानको गाँस कटाएर पनि
हरेक पटक कर तिरेको छु।
म चाहान्छु म मात्र होइन
मेरो देश बाँच्नुपर्छ।
यहाँ बिरामी आमालाई
जाउलो खुवाउन दशैं कुर्नुपर्छ
जाडोमा काम्दै गरेका बुबाको
झुत्राे भाेटाे फेर्न ऋण काड्नुपर्छ।
छोराछोरीको फाटेको नाना टाल्न
हरेक पल मैले आँसु र पसिना बेच्नुपर्छ
हरेक बिहान झिसमिसेमा आँखा मिच्दै काममा जानु मेरो दैनिकी हो।
आधा रातमा घर फर्कंदा
छोराछोरी मेरै बाटो हेरेर
केही ल्याउँछन् र खाउँला
भन्दै टोलाइरहन्छन्
म हरेक दिन अठार घण्टा काम गर्छु।
मेरो पसिना र श्रम बेचेर
केही रकम कमाउँछु
आधा पेट खाएर सन्तानको गाँस कटाएर
हरेक पटक केही हिस्सा कर तिर्छु
किनकी मलाई राम्रो थाहा छ
म मात्र होइन मेरो देश बाँच्नुपर्छ।
तर दु:ख लाग्छ
यहाँ मैले फेर्ने स्वासका हरेक कणकणमा
कर लुकेको हुन्छ।
सास फेर्दा पनि कर, सास रोकिँदा पनि कर
बाँच्दा पनि कर अनि मर्दा पनि कर
मलाई थाहा छैन, मैले तिरेको कर
के र कस्का लागि ?
त्यसैले सोधिरहेछु महाशय
अब जवाफ चाहियो
किन तिर्ने कर?
मैले तिरेको कर कहाँ जान्छ
त्यो त थाहा छैन
तर अनुमान लगाउन पनि
त्यति गाह्रो छैन।
छिमेकी नेताजीको दिनचर्या हेरेर
किन किन कर तिर्न मन लाग्दैन
उ काम गर्दैन दिउँसो भरि हिँड्छ।
रातभरि उसका आसे-पासे
र करेँसीहरूलाई बोलाउँछ अनि पार्टी गर्छ
उ महंगा र विलासी गाडी कुदाउँछ।
विदेशी विस्की र बियर सँगै निदाउँछ।
मलाई थाहा छैन त्यो पैसा कहाँबाट आउँछ? आखिर उसको त्यही ऐसा आराम
अनि मनोरञ्जनको लागि त
किन तिर्नु र कर ?
म सोच्थेँ मैले तिरेको कर
देश विकासमा खर्च हुन्छ।
बाटोघाटो पुलपुलेसा बन्छ।
त्याे त केवल आदर्शका कुरा मात्र रहेछ
उसको साडी, गाडी र बङ्लाकै लागि
अनि ऐस, आराम र मनोरञ्जनकै लागि त,
किन तिर्ने कर ?
अब जवाफ चाहियो महादेय,
किन र कस्का लागि तिर्ने कर ?
– याम दंगाल सराेवर
झापा नेपाल
(२०८२/०१/०१ )